११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

फोक्सिन्टारमा पुल बनाउन बजेट सुनिश्चित, ठेक्का लाग्ने सुरसार छैन

गएको वर्षाले भत्केको फोक्सिन्टारस्थित सुन नदीको पक्की पुल। तस्बिरः महेश्वर/नागरिक

गएको वर्षाले पक्की पुल बगाएपछि उदयपुर र खोटाङ जोड्ने तीन महिना यातायात सम्बन्ध विच्छेद हुन पुगेको फोक्सिन्टारस्थित सुन नदीमा नयाँ पक्की पुल बन्ने आसा पलाएको छ। अर्थ मन्त्रालयले भर्खरै सार्वजनिक गरेको जानकारी अनुसार भत्केको ठाउँमा नयाँ पुल बनाउन मन्त्रालयले बजेट सुनिश्चित भएको जानकारी पाएसँगै स्थानीय खुसी भएका हुन्।

गाईघाट दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ३ फोक्सिन्टारस्थित सुन नदीको पक्की पुल गत असोज १२ गते रातिको बाढीले बगाएको थियो। १ सय २० मिटर लामो पक्की पुल बाढीले बगाएसँगै दुई जिल्लावासीबीच टुटेको यातायात सम्पर्क गत पुस अन्तिम साता बेलिब्रीज निर्माण गरेर सुचारु भएको छ।

तर, वर्षायाम सुरु हुन लागेका कारण बेलिब्रीज भत्काउने बेला भएकाले पुनः यातायात सम्पर्क टुट्ने अवस्थामै बजेट सुनिश्चित भएको खबरले स्वाभाविक रूपमा उदयपुर र खोटाङवासी हर्षित भएका छन्। ठेक्का लागेको १२ वर्षमा निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने तयारी भइरहेका बेला बाढीले पुल बगाएपछि निर्माण कम्पनीमाथि निर्माण कम्पनीप्रति कामको गुणस्तरबारे प्रश्न उठिरहेको छ। पुल निर्माणमा गुणस्तरीय सामानको प्रयोग नभएकैले सामान्य बाढीले नै भत्काएको प्राविधिक लेखाजोखामा पनि ठहर भएको छ।

गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) पशुपति ज्ञवालीले बजेट सुनिश्चित भएको पुष्टि गरे। उनका अनुसार पुल भत्केको स्थलगत अनुगमन निरीक्षणपछि नयाँ निर्माण गर्नेगरी प्राविधिक इस्टीमेट गरी पठाइएको फाइल सदर गर्दै अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरेको बताए। तर, बजेट सुनिश्चित भए पनि ठेक्का लगाउने या निर्माण कार्य थालिहाल्ने अवस्था भने नभएको उनले बताए।

पहिला भत्केको पुल बनाउने ठेकेदारलाई कारबाही गर्ने कि नयाँ पुल बनाउने प्रक्रिया थाल्ने भन्ने यकिन भइनसकेको उनले बताए। यसबारे मन्त्रालयले टुङ्गो लगाएपछि मात्र नयाँ पुल बनाउने प्रक्रिया अघि बढ्ने डिई ज्ञवालीले बताए। ‘बजेट सुनिश्चित भएको पत्र प्राप्त भएको छ, तर काम सुरु गर्ने कुनै टुङ्गो छैन,’ ज्ञवालीले भने, ‘हस्तान्तरण नगरेको पुल भत्केकाले त्यसका ठेकेदारलाई के गर्ने भन्ने नै यकिन भएसकेको छैन। त्यो कुरा मन्त्रालयले टुङ्ग्याएपछि मात्र नयाँ पुलको ठेक्का प्रक्रिया अघि बढ्ने भन्नेछ।’

बजेट सुनिश्चित भए पनि फोक्सिन्टारमा तत्काल पुल बनिहाल्ने सम्भावना नभएको भन्दै स्थानीयले भने तत्काललाई काम चलाउन वैकल्पिक सडक निकाल्नुपर्ने माग गरिहेका छन्। उदयपुरभन्दा खोटाङवासीलाई बढी आवश्यक पर्ने फोक्सिन्टार नाकामा पुल नहुँदा दक्षिण–पूर्वी खोटाङवासी प्राकृतिक नाकाबन्दीमा पर्ने भएकाले वैकल्पिक सडक निकाल्न माग बढेको हो। नयाँ पुल बन्न वर्षौँ लाग्ने भएकाले जिल्लावासीलाई प्राकृतिक नाकाबन्दीबाट बचाउन वैकल्पिक सडक खन्नुपर्ने स्थानीयको सुझाव छ।

नेकपा (माओवादी केन्द्र)का खोटेहाङ गाउँ पाटी अध्यक्ष इनद्रबहादुर राई फोक्सिन्टारमा दशक बढी समयमा बनेको पुल भत्केको भन्दै नयाँ पुल बनाउन अर्को दशक कुनुपर्ने सम्भावना भएकाले छिटोछरितो वैकल्पिक सडक निकाल्न सुझाउँछन्। त्यसका लागि सबैभन्दा छिटो र सजिलो विकल्प धाप्लाङघाटमा निर्माणाधीन पुललाई चाँडो सक्नु एकमात्र विकल्प भएको उनको बुझाइ छ। फोक्सिन्टारदेखि धाब्लाङसम्मको दूरी बढीमा १०–१२ किलोमिटर भएकाले त्यहाँसम्म नयाँ ट्र्याक खोल्न सके यही वर्षामा पनि धाब्लाङस्थित झोलुङ्गे पुल भएर पनि आउजाउ गर्न सकिने उनको सुझाव छ।

धाब्लाङमा निर्माणाधीन पुल पनि ७ वर्षअघि सुरु भएको हो। ०७४ भदौमा शिल्यान्यास भएको पुल वेल फाउण्डेशनको डिजाईन परिवर्तन गरेर एक वर्षयता पाईल फाउण्डेशन प्रविधिमा निर्माण सुरु भएको छ। पक्की पुल बनाउन अझै १ डेढ वर्ष लाग्ने भए पनि त्यहाँ झोलुङ्गे पुल भएको र वारि त्रियुगा नगरपालिका १४ साउनेसम्म र पारि बाराहापोखरी गाउँपालिका ३ चेकेथुमसम्म जोड्ने ग्राबेल सडक सञ्चालन भएकाले आउजाउ गर्न सहज हुने खोटाङवासी बताउँछन्।

बाराहापोखरीका युवा व्यवसायी मुकेश राईका अनुसार फोक्सिन्टारदेखि धाब्लाङसम्मको दूरीलाई कच्ची सडकले जोड्न सके यही आउँदो वर्षादेखि नै फोक्सिन्टारमा पुल नबनेसम्म वैकल्पिक बाटो काम चलाउ आउजाउ गर्न सकिन्छ। बढीमा वैशाखभित्र बेलिब्रीज हटेपछि फोक्सिन्टार नाका भएर यातायात सम्बन्ध पूर्ण रूपमा बन्द हुने भएकाले फोक्सिन्टार–धाब्लाङ जोड्ने कच्ची ट्र्याकसम्म खोल्न राज्यको ध्यान जानुपर्ने राईको माग छ। 

‘फोक्सिन्टारको बेलिब्रीज भएको ठाउँदेखि धाप्लाङघाट जोड्ने नयाँ ट्र्याक खोले यही वर्षादेखि पुल नबनेसम्म कामचलाउ सडक सबैभन्दा उत्तम हुन्छ,’ राईले भने, ‘त्यसका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मले साझेदारीमा बजेट लगाउन हामी आग्रह गर्दछौँ।’ सो दूरीमा नयाँ सडक निर्माण गर्दै हाल सञ्चालित दिक्तेल–पञ्चमी–खोटाङबजार–चिसापानी–बंशीलाघाट सडक कालोपत्रे गर्नसके खोटाङसँगै ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको केही भागसमेत लाभान्वित हुनुका साथै पूर्वी भेग जान छोटो बाटो तय हुने स्थानीय बताउँछन्।

प्रकाशित: ३० चैत्र २०८१ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App