पर्यटकीय क्षेत्र नगरकोटमा आगामी वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष –२०८२ सुरु हुने भएको छ । भ्रमण वर्षको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन्। नगरकोटलाई मुख्य पर्यटकीय विन्दु बनाएर नगरकोट भ्रमण वर्ष मनाउने बताइएको छ।
भ्रमण वर्षको आयोजक चाँगुनारायण नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, काभ्रेकै बनेपा नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका रहेका छन्। नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको बताइएको छ।
भ्रमणको शुभारम्भका दिन ५० भन्दा बढी स्टलहरू रहनेछन् । फुड स्टल तथा स्थानीय कृषि सामग्री, गुरुङ समुदायको संग्राहलय, प्रत्येक पालिकाका छुट्टा छुट्टै झाँकी प्रदर्शनी गरिनेछ । चार वटै पालिकाभित्र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका १०० जना कलाकारले नगरकोट वरपरका सम्पदा भ्रमण गराई उक्त सम्पदाको चित्र क्यानभासमा कोरिने र प्रदर्शनी गरिने छ । साथै कला संग्रहालयको स्थापना गरिनेछ ।
प्रकाशित: २९ चैत्र २०८१ १६:२७ शुक्रबार





