११ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

च्याउखेतीले फेरिएको जीवन : गाउँमै बर्सेनि १२ लाख कमाउँछिन् सावित्री

जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउखेतीबाट राम्रो आम्दानी गर्न सफल भएकी छन्। गाउँमै कृषिबाट केही गर्न सकिन्छ भन्ने सोचेर ११ वर्षदेखि यो पेसामा लागेकी उनले च्याउ र तरकारीखेतीबाट हरेक वर्ष १२ लाखभन्दा बढी कमाइ गर्छिन्।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउ उत्पादन गरेर छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा बिक्री गर्छिन्। उनको भनाइ छ, ‘यो वर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भयो।’ उनले थपिन्, ‘च्याउखेतीको कमाइबाट सन्तुष्ट छु, बिक्रीमा कुनै समस्या छैन।’ 

गोब्रे च्याउ प्रतिकिलो ५०० रुपैयाँ र कन्ये च्याउ २०० रुपैयाँमा बिक्री हुन्छ। यस वर्ष गोब्रेबाट पाँच लाख र कन्येबाट दुई लाख कमाइ भएको उनले बताइन्। कच्चा पदार्थसहित सामग्री आफैँ तयार गर्छिन्। सात रोपनी जमिनमा उत्पादन हुने तरकारीबाट पनि उनले पाँच लाख कमाउँछिन्। च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरजस्ता तरकारी उत्पादन गर्छिन्।

तीन जिल्लाको सदरमुकाम र कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक नजिकै भएकाले बजारको समस्या छैन। यो वर्ष उनले उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउ उत्पादन गर्न थालेकी छन्। उनको बुझाइ छ, ‘वातानुकूलित टनेलले जाडो र गर्मी दुवैमा च्याउ फल्छ, अब निरन्तर आम्दानी हुन्छ।’

सामाजिक र राजनीतिक क्षेत्रमा पनि सक्रिय सावित्रीले च्याउखेतीलाई विस्तार गर्दै लगेकी छन्। यो व्यवसायमा श्रमिक कम लाग्छ र उत्पादन राम्रो हुन्छ। वैदेशिक रोजगारीबाट फर्केका श्रीमान् भीमबहादुर केसीले उत्पादन र बिक्रीमा सघाउँछन्। दम्पतीले समय–समयमा ज्यालादारी मजदुर पनि राख्छन्।

उनको तर्क छ, ‘खेतीका लागि धेरै ठाउँ र समय चाहिँदैन, बिक्री पनि सजिलो छ। त्यसैले श्रीमान्ले विदेश नगई यहीँ सघाउन थाले।’ मेहनत गरे विदेशमा कमाउने पैसा गाउँमै कमाउन सकिन्छ भन्ने उनको अनुभव छ। 

च्याउखेतीको कमाइले छोरीलाई विदेशमा उच्च शिक्षा पढाउन र छोरालाई निजी स्कूलमा पढाउन सफल भएकी छन्। बाँकी पैसा बैंकमा बचत गर्छिन्। उनले भनिन्, ‘मेहनत गरे विदेश जानै पर्दैन भन्ने मेरो अनुभवले देखायो।’

गाउँपालिकामा व्यावसायिक खेतीप्रति आकर्षण बढेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य बताउँछन्। उनको भनाइ छ, ‘हामीले प्रोत्साहन गरिरहेका छौँ, अब च्याउखेतीमा अनुदान पनि बढाउँछौँ।’ च्याउमा प्रोटिन तत्व प्रशस्त हुन्छ र यो सजिलै पच्छ। पानीको मात्रा ९० प्रतिशत हुने भएकाले यो निकै उपयोगी छ। च्याउले क्यान्सर, मुटुरोगजस्ता समस्या कम गर्न पनि मद्दत गर्छ। रासस

प्रकाशित: २६ चैत्र २०८१ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App