नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ।
थाइल्यान्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो। दुवै देशमा लगानी प्रवर्द्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजीकरण गर्ने बताइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहेका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताए। उनले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीले इच्छा देखाएको बताए।
वार्तामा उद्योगी नेपालीहरूलाई अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले बताए।
थाइ व्यवसायीहरूले नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानी प्रभावित हुने कुरा राखेको अध्यक्ष ढकालले बताए। सरकारले वैदेशिक लगानी सहजीकरणका लागि नीति समेत फेरबदल गरेको कारण लगानी प्रभावित नहुने आफूहरूले धारणा राखेको उनको भनाइ छ।
बिम्स्टेक चेम्बर गठन गर्ने प्रक्रियामा पनि सदस्य राष्ट्रहरूसँग छलफल गरेर सक्रिय बनाउने कुरामा पनि आफूहरू अघि बढेको उनले बताए।
प्रकाशित: २२ चैत्र २०८१ १२:५३ शुक्रबार





