२० चैत्र २०८१ बुधबार
image/svg+xml २१:२१ अपराह्न
अर्थ

उद्यमले महिलालाई लक्ष्मी बनाउँछ!

तस्बिरमा उद्यमी महिलाहरू क्रमशः लक्ष्मी बस्नेत (खोटाङ), दुर्गा धामी, (दार्चुला), सीमा घले, (रोल्पा), दीपाञ्जली टण्डन, (नेपालगन्ज)

अभावमा जन्मिए पनि उनका मातापिताले उनको नाम लक्ष्मी राखिदिए। लक्ष्मी नाम राख्दैमा अभाव हट्दैनथ्यो। खोटाङकी लक्ष्मी बस्नेतको जीवन पनि अभावमै बित्यो। जब उनले उद्यमको सहारा लिइन्, तब उनको जीवन फेरियो। लक्ष्मी नाम सार्थक बन्यो।  

‘व्यवसायमा हात हालेसँगै जीवनमा परिवर्तन आयो,’ महिला उद्यमी महासंघको आयोजनामा भएको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सहभागी लक्ष्मी बस्नेतले भनिन्, ‘आय–आर्जन बढेसँगै बाआमाको जीवन पनि सहज भएको छ।’  

महिलालाई साँच्चिकै सार्थक बनाउने हो भने आर्थिक रूपमा मजबुत बनाउनुपर्ने उनको बुझाइ छ। ‘अभावमा रहेर मैले सिकेको मुख्य अनुभव भनेको आर्थिक सक्षमता हो,’ महिला उद्यमी संघ खोटाङकी कोषाध्यक्षसमेत रहेकी बस्नेतले थपिन्, ‘त्यसो भयो भने उनीहरू हरेक ठाउँमा अगाडि बढ्छन्।’ 

उनको जस्तै बुझाइ छ दार्चुलाकी दुर्गा धामीको। महाकालीकी दुर्गा आर्थिक रूपमा सक्षम भएमात्र महिला शक्तिशाली बन्ने सुनाउँछिन्। २३ वर्ष शिक्षण पेसामा बिताएकी उनले उद्यम थालेसँगै जीवनमा आमूल परिवर्तन आएको सुनाइन्। ‘उति बेला तीन महिनामा एक पटक तलब आउँथ्यो, सापटी मागेर घर चलाउनुपर्ने अवस्था पनि आयो,’ उनले भनिन्, ‘उद्यमको थालनीसँगै आम्दानी बढेको छ। थैलीमा पैसा भरिएका छन्।’ 

उद्यमले कसैको अगाडि झुक्न नदिएको उनको बुझाइ छ। ‘उद्यम महिलाको मेरुदण्ड हो,’ उनी भन्छिन्, ‘यसैको सहारामा निर्धक्क उभिएर हिँड्न सक्छन्।’ आर्थिक अभावका कारण लामो समयदेखि महिला झुक्दै हिँड्नुपरेको उनको बुझाइ छ।  

माओवादीको उद्गमस्थल रोल्पाका महिला पनि उद्यमतर्फ आकर्षित बन्दै गएका छन्। कुनै समय दाउरा बोकेको काँधमा बन्दुक बोक्न बाध्य भएका उनीहरू अहिले व्यापारको सहारामा अगाडि बढेका छन्। ‘बन्दुकभन्दा व्यापार शक्तिशाली लाग्यो,’ रोल्पा लिवाङकी सीमा घले भन्छिन्, ‘अब समय फेरिएको छ, उद्यमको क्रान्तिले समाज परिवर्तन हुने ठानेका छौं।’  

महिला उद्यमी महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा मुलुकका विभिन्न ठाउँबाट आएका पात्रहरूको आ–आफ्नै कथा छ। आर्थिक अभावका कारण निराश देखिने अनुहार उद्यमसँगै उज्यालिएको छ।  

सुदूरका हुन् वा कर्णालीका, महिला सबैको अनुहारमा रौनकता छाएको छ। ‘हामी यहाँ एक होइनौं, समग्र जिल्लाका महिलाका प्रतिनिधि पनि हौं,’ अछामकी इन्दिरा रेग्मी भन्छिन्, ‘गाउँका महिलाले जम्मा गरेका सामग्री बजारमा ल्याउन हामीले सघाउँदै आएका छौं।’ गाउँबाट सदरमुकाममा जम्मा भएका सामग्री राजधानी हुँदै देश–विदेश पुर्‍याउने भावी योजना रहेको उनले सुनाइन्। ‘उद्यमले आशा देखाउँदो रहेछ,’ उनले भनिन्, ‘त्यही आशामा समाज सही बाटोमा हिँड्ने विश्वास छ।’  

सोमबारसम्म चल्ने यस मेलामा देशभरबाट आएका महिला उद्यमीहरूले उत्पादन गरेका नेपाली वस्तुहरू प्रदर्शनीमा राखिएका छन्। महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सक्षम बनाउने उद्देश्यसहित मेलाको आयोजना गरिएको जानकारी महासंघ अध्यक्ष शोभा ज्ञवालीले दिइन्। ‘सुदूरपश्चिम र कर्णालीका महिलाको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला प्रदान गरेको छ,’ उनले भनिन्, ‘उद्यमको यो सानो झिल्कोले एक दिन समग्र देशलाई उज्यालो बनाउने विश्वास लिएका छौं।’ उद्यममा लागेका महिलाको आत्मबल निकै बढेको उनको बुझाइ छ।  

कतिपय महिलाले उद्यमलाई नयाँ शैली पनि दिन थालेका छन्। अचारको स्टल राखेकी नेपालगन्जकी दिपान्जली टण्डन गुप्ताले दादी–नानीबाट सिकेको सीपलाई व्यापारमा परिणत गरेकी छिन्। ‘यो सीपलाई राम्रो प्याकेजिङसँगै टिकटकलगायत सामाजिक सञ्जालमार्फत बजारमा पुर्‍याएँ,’ उनले भनिन्, ‘व्यवसाय चम्कँदै गएको छ।’ उद्यममा आउने महिलाले आफूले गर्दै आएको परम्परागत कामलाई केही फरक ढंगले प्रस्तुत गरेमा त्यसले बजार पाउने उनको बुझाइ छ। 

‘यसमा पनि महिला उद्यमी महासंघजस्ता संस्थाले व्यवसायका लागि नयाँ ठाउँ दिने गरेको छ,’ उनी भन्छिन्, ‘जहाँ हामीले एकअर्काको सीप सिक्नुका साथै नयाँ “आइडिया” मा छलफल गर्ने अवसर जुटाएका छौं।’ गाउँघरमा उत्पादित सामग्री राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित मेला आयोजना गरिएको उनले बताइन्। ‘यसमा सुरुवाती चरणका धेरै काम पूरा गरेका छौं,’ उनी भन्छिन्, ‘हामीलाई थप अगाडि बढ्ने प्रेरणा दिएको छ।’  

मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामग्री, खाद्य सामग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन र बिक्री–वितरण भएको जानकारी दिइन्। ‘बारीमा कुहिएर जाने सामग्रीले पनि यहाँ बजार पाएको छ,’ उनले भनिन्, ‘हरेक पटक मेलाले नयाँ आशा जगाएर जाने गरेको छ।’  

मेलामा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी ६ प्रकारका स्टलहरू रहेका छन्। जम्मा एक सय ४४ वटा बिक्री स्टल, दुई वटा ‘प्याभिलियन’ रहने र ८२ वटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीलाई उपलब्ध गराइएको ज्ञवालीले बताइन्। करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने अनुमान महासंघले गरेको छ।

प्रकाशित: १८ चैत्र २०८१ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App