नेपालमा उत्पादन हुने स्याउको झन्डै आधा हिस्सा ओगटेको जुम्लामा पछिल्लो एक वर्षमा स्याउ उत्पादक कृषकको संख्या तीन हजार आठ सयजना थपिएका छन्। ऋति फाउन्डेसनले गरेको अनुसन्धान अनुसार अघिल्लो वर्ष स्याउ उत्पादक कृषकको संख्या १५ हजार पाँच सय थियो। यो वर्ष कृषकको संख्या बढेर १८ हजार तीन सय १५ पुगेको छ।
जुम्ली स्याउको बजार विस्तार हुँदै गएकाले स्याउ उत्पादक कृषकको संख्या पनि बढेको देखिन्छ। यो वर्ष जुम्लामा चार हजार दुई सय ५० हेक्टर जमिनमा लगाइएको स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको तथ्यांकमा उल्लेख छ।
‘राष्ट्रियस्तरमा जुम्लाको स्याउको फरक पहिचान छ, बजार मूल्य बढ्नुका साथै स्याउ खेतीतर्फ किसानको आकर्षण पनि बढ्दै गएको छ,’ अनुसन्धान अधिकृत सुस्मी सापकोटाले भनिन्, ‘जुम्लामा स्याउ किसानको संख्या १४,५०० बाट बढेर १८ हजार तीन सय १५ पुगेको छ भने २०८१ सालमा जुम्लामा चार हजार दुई सय ५० हेक्टर जमिनमा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ।’
जुम्लामा पछिल्ला केही वर्षयता किसानले फुजी, गालालगायतका स्याउ उत्पादन सुरु भएको छ। यसैवर्ष जुम्लाबाट ६१ करोड ४० लाख बराबरको स्याउ निर्यात भएको थियो। देशभरको कुल उत्पादनको ४१.२ प्रतिशत स्याउ जुम्लामा उत्पादन हुन्छ।
कर्णालीमा जुम्लासँगै कालिकोट, मुगु, हुम्ला र डोल्पामा पनि स्याउ उत्पादन हुन्छ। हुम्ला सडक सञ्जालसँग नजोडिएकाले त्यहाँको स्याउ बजारसम्म पुगेको छैन। यसै वर्ष हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएकाले आगामी सिजनमा कर्णालीबाट थप स्याउ निर्यात हुनेछ।
‘देशभरिमा कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत स्याउ उत्पादन कर्णालीमा हुने गरेको तथ्यांकले देखाउँछ,’ सापकोटाले भनिन्, ‘कर्णाली प्रदेशका जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पा लगायत जिल्लामा स्याउ उत्पादन हुनेगर्छ, जुम्लामा धेरै किसान स्याउ खेतीमा संलग्न छन्।’
जुम्लामा पहिलो पटक २०२४ सालमा भारतको कस्मिरबाट स्याउका बेर्ना ल्याएर खेती सुरु गरिएको इतिहास छ। कर्णाली राजमार्ग नियमित नहुँदासम्म जुम्ली स्याउको बजार शून्यप्रायः थियो । २०६४ सालमा कर्णाली राजमार्गमा गाडी गुड्न थाल्यो। गाडीसँगै जुम्ली स्याउ नेपालभर फैलिन सुरु भयो।
‘कर्णाली राजमार्गले जुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडेसँगै त्यहाँको स्याउको बजारीकरण हुन थालेको हो,’ स्याउ व्यवसायी प्रवल शाहीले भने, ‘वर्षको दुई–तीन महिना जुम्ली स्याउले नेपालभरको बजार एकलौटी गर्छ।’
बढ्दो उत्पादन र बिक्री
जुम्लामा स्याउको क्षेत्र र कृषकको संख्या जसरी बढ्दैछ, बजार पनि सोही अनुसार विस्तार भइरहेको छ। भारतसँग सीमा जोडिएका कञ्चनपुरको महेन्द्रनगरदेखि पूर्वको काँकडभिट्टासम्म अहिले जुम्ली स्याउ विस्तार भएको छ।
‘आर्थिक वर्ष २०७८/७९ मा जुम्लामा स्याउ बिक्री १२ हजार मेट्रिक टन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २० हजार ५११.४३ मेट्रिकटन स्याउ बिक्री भयो,’ जुम्ली स्याउको अनुसन्धान गरेकी सापकोटाले भनिन्, ‘तथ्यांक केलाउँदा जुम्ली स्याउको वार्षिक औसत बिक्री नौ हजार ७९१.६७ मेट्रिक टन रहेको छ।’
यो अवधिमा बिक्री नभएको स्याउको मात्रा पनि चार हजार मेट्रिक टनबाट बढेर नौ हजार एक सय ३६ मेट्रिकटन पुगेको छ।
सडकले सास्ती
जुम्लामा २०६४ सालमा सडक पुगेको हो। सुर्खेतदेखि जुम्लासम्मको सडकको दूरी दुई सय ३२ किलोमिटर मात्रै हो तर यो सडकमा यात्रा गर्न दुई दिनसम्म लाग्छ। बर्खाको बेलामा पनि समयको टुंगो हुँदैन। एक मेट्रिक टन स्याउ टिप्न, प्याकेजिङ गर्न र गाडीमा लोड गर्न झन्डै डेढ दिन लाग्छ। गाडीमा लोड गरिएको स्याउ सुर्खेत र नेपालगञ्जसम्म आइपुग्न ३६ घण्टाको समय लाग्छ। ‘यतिका समय लगाएर स्याउ बिक्रीस्थलसम्म पुग्दाप्रति क्विन्टल स्याउमा १० केजीसम्म नोक्सान हुन्छ।
‘यसरी हुने क्षतिको कारणले पनि स्याउको मूल्य बढ्न जान्छ,’ उनले भनिन्, ‘स्याउको मूल्य शृंखलामा हुने नोक्सानलाई घटाउन र बिक्री नहुने स्याउको मात्रामा कमी ल्याउन अत्यावश्यक देखिन्छ।’
जुम्ली स्याउले सिजनमा दुईदेखि तीन महिना आफ्नो बजार विस्तार गरे पनि लामो समयसम्म टिक्न भने अझै सकेको छैन। यसको प्रमुख कारण खराब सडकका कारण हुने स्याउमा क्षति हो भने ग्रेडिङ र वर्गीकरण अर्को कारण हो।
‘निम्न गुणस्तरका वा रोग लागेका स्याउ छुट्याउँदा रोगको फैलावट न्यून हुन्छ, जसले स्याउको क्षति कम गरी तिनको ‘सेल्फ लाइफ’ उल्लेखनीय रूपमा बढाउँछ,’ अनुसन्धानकर्ता सापकोटाले भनिन्, ‘जुम्लाको हकमा भने अझै पनि स्याउको ग्रेडिङ र वर्गीकरण गर्ने अभ्यास सुरु भएको छैन।’
स्याउ उत्पादक कृषक मिरा सिंहले सडक पहुँच नहुँदा र भएको सडक पनि राम्रो नहुँदा जुम्ली स्याउले सोचे अनुसारको मूल्य पाउन नसकेको बताइन्। ‘स्याउ टिपेर सिधै गाडीमा राख्नका लागि बगैंचासम्म सडक पहुँच छैन्, डोकोमा बोकेर गाडी आउने ठाउँसम्म ल्याउँदा नै स्याउका दानामा केरकार भइसक्छ,’ उनले भनिन्, ‘गाडीमा लोड गरेर बजारसम्म पु¥याउँदा सडक राम्रो छैन्, हल्लिएर, घस्रिएरै धेरै स्याउ हेर्दा राम्रो देखिँदैन्, त्यही भएर बजारमा उचित मूल्य पनि पाइँदैन्।’
ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले ढुवानीको समयमा खराब सडक अवस्थाका कारण स्याउको बजारीकरण व्यवस्थापनमा चुनौती उत्पन्न भइरहेको बताए। ‘जसले गर्दा स्याउ बिग्रने र क्षति हुने जोखिम बढाउँछ,’ उनले भने, ‘स्याउ बजारमा पुग्नु अघिनै ढुवानीकै क्रममा चोट लाग्ने र कुहिने सम्भावना हुन्छ, त्यसैले स्याउको क्षति कम गर्न स्याउलाई बजारसम्म पुर्याउँदै गर्दा सुधारिएको प्याकेजिङ र ढुवानी विधिमा लगानी गर्न आवश्यक छ।’
अनुसन्धानले स्याउको सेल्फ लाइफ बढाउन र क्षति कम गराउन उत्तम अभ्यासहरू गर्न सके कम गुणस्तरका स्याउको बजारीकरणका लागि प्रशोधन उद्योग, निजी क्षेत्रको नेतृत्वमा फसलपछिको विस्तारित सेवा र राम्रो गुणस्तरीय स्याउका लागि प्रतिष्पर्धी मूल्यसहितको बजार विस्तार गर्न सके जुम्लाको स्याउको क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्थापित हुने निस्कर्ष निकालेको छ।
‘यस्तो गरिँदा स्थानीय किसानको जीविकोपार्जनमा सुधार ल्याउन र कर्णाली प्रदेशको आर्थिक वृद्धिमा ठूलो योगदान पुर्याउने सम्भावना रहन्छ,’ निष्कर्षमा भनिएको छ, ‘त्यसैले जुम्लाको स्याउको गुणस्तर बढाउन र यसको सेल्फ लाइफ विस्तार गर्न उचित प्याकेजिङ, सुधारिएको ढुवानी विधि र राम्रो व्यवस्थापन प्रक्रिया आवश्यक छ।’
प्रकाशित: १५ चैत्र २०८१ ०६:०२ शुक्रबार