अन्नपूर्ण केवलकारले सराङकोट उक्लिने आन्तरिक यात्रुलाई ५० प्रतिशत छुट दिएको छ। सराङकोटमा पञ्चमुखी गणेशको मुर्ति निर्माण गरिएकोले सराङकोटधाम घुम्न जाने आन्तरिक यात्रुलाई लक्षित गरि छुट दिएको केवलकारले बताएको छ।
अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौड्यालका आधा यो छुटमा चैत २८ गतेसम्म आन्तरिक यात्रु सराङकोट उक्लिन सक्नेछन्। एकतर्फी रुपमा प्रतिव्यक्ति ७ सय रुपैयाँ लाग्ने भएपनि यो अवधिमा आधा छुट गरेर ३ सय ५० रुपैयाँमा सराङकोट आउजाउ गर्न सकिने उनले बताए।
‘सराङकोटमा पञ्चमुखी गणेशको मुर्ति स्थापना गरिएको छ। यो नेपालको पहिलो पञ्चमुखी गणेशको मुर्ति पनि हो। त्यसैले सराङकोट उक्लिनेलाई ध्यान दिएर आधा शुल्क छुट दिएका हौ,’ उनले भने। उनका अनुसार बिहान १० देखि बेलुकी ६ बजेसम्म यात्रु यो शुल्कमा ओहोरदोहोर गर्न सक्नेछन। तर विदेशी पर्यटकले भने पुरै शुल्क तिर्नुपर्ने उनले बताए।
महाप्रबन्धक पौड्यालका अनुसार सोमबारका दिनका लागि भने अतिरिक्त छुट दिइएको छ। गणेश मुर्ति निर्माण गरिएको स्थलमा सोमबार बेलुकी आरती हुने र आरती हेर्न जाने धार्मिक पर्यटकलाई लक्षित गरि छुट दिइएको छ। उनका अनुसार हरेक सोमबार दिउँसो ४ देखि बेलुकी ६ बजेसम्म २ सय ५० रुपैयाँमा जो कोही आन्तरिक पाहुना केवलकारबाट आउजाउ गर्न सक्नेछन्।
‘सोमबार बेलुकी हुने आरतीका लागि धार्मिक पर्यटक सराङकोटधाम जान रुचाउँछन। उनीहरुलाई आरती सकिएपछि पोखरा ओराल्ने गरि केवलकारको व्यवस्था गरिएको छ,’ उनले भने।
यसबाहेक केवलकारले नै निशुल्क सटल बस पनि संचालन गरेको छ। केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्न सहज हुनेगरि निशुल्क बस सेवा दिइएको उनले बताए। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निशुल्क सटल बस सुरु गरेको कम्पनिले बताएको छ।
‘अन्नपूर्ण केवलकारको निशुल्क बस चढ्न भनेर सेवा दिएका छौ। आफ्नो सवारी नहुने र सार्वजनिक सवारी चढ्न अप्ठेरो पर्ने अवस्थामा यो बस सेवाले सहज हुनेछ,’ उनले भने, ‘स्थानीय यात्रुलाई यसले बढी सजिलो बनाउँछ। यसले केवलकार चढ्न आउने यात्रुको संख्या बढाउने अपेक्षा छ।’
पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर संचालन गरिरहेको छ। यो केवलकारको दुरी केवल नौ मिनेटमा पुरा हुन्छ। सेदीमा निर्माण गरिएको स्टेशन समुन्द्री सतह भन्दा ८२४ मिटरको उचाईमा छ भने सराङकोटको स्टेशन १ हजार ५ सय २३ मिटरको उचाईमा छ। १७ वटा गोण्डलामार्फत अहिले पर्यटकलाई सराङकोट उकाल्ने र ओराल्ने गरिएको छ। प्रत्येक गोण्डलामा ८ जना यात्रु अटाउँछन।
प्रकाशित: १३ चैत्र २०८१ १३:०९ बुधबार