२० चैत्र २०८१ बुधबार
image/svg+xml ०:९ पूर्वाह्न
अर्थ

पोखराको नजर चिनियाँ पर्यटन बजारमा

चिनियाँ पाहुनाको हिस्सा १० प्रतिशत मात्र

कोभिड संक्रमणपछि ओरालो लागेको चिनियाँ पाहुनाको आगमन अझै उकासिन सकेको छैन। कोभिड अघि नेपालमा वर्षभरि भित्रिएका विदेशी पाहुनाको करिब १४ प्रतिशत हिस्सा चिनियाँ पाहुनाले ओगटेका थिए। तर, कोभिडपछि त्यो आगमन मुस्किलले अहिले १० प्रतिशत हाराहारीमा उक्लेको छ।  

चिनियाँ बजारबाट पर्यटन क्षेत्रले ठुलो अपेक्षा राख्दै आएको छ। त्यही अनुसार पोखराको पर्यटन क्षेत्रमा लगानी पनि भएको छ। पर्यटन क्षेत्रमा लगानी थपिनु, चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहर छेन्दुसम्म व्यावसायिक चार्टर उडान हुनु, पोखरामा चिनियाँ गतिविधि हुनुले पोखराले यो वर्ष चिनियाँ पर्यटकको आगमन बढ्ने संकेत पाएको छ।  

त्यत्ति मात्र नभई पोखराले पनि चिनियाँ पाहुनालाई भित्र्याउनका लागि उत्तिकै जोडबल गरेको छ। त्यसका लागि हालैमात्र पोखराका १२७ जना पर्यटन व्यावसायीले चीनका छेन्दु र छोङसिङ सहरमा प्रर्वद्धन अभियान पनि संचालन गरेका छन।  

‘यो वर्ष पोखराको नजर पुरै चिनियाँ पर्यटन बजारतर्फ ध्यानकेन्द्रीत भएको छ। पोखराले यो वर्ष अपेक्षा गरे भन्दा बढी चिनियाँ पाहुना भित्र्याउन सक्ने सम्भावना छ,’ प्रर्वद्धन अभियान सकेर मंगलबार मात्र स्वदेश फर्केका पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने भन्छन, ‘चिनियाँ पर्यटन बजार ठूलो छ। चीनका पर्यटक नेपाल आउन चाहेका पनि छन्। तर, अहिलेसम्म बजारीकरणमा उत्ति ध्यान दिन सकेका थिएनौ। अब भने एकतहमा प्रर्वद्धन भएको छ।’  

लामिछानेका अनुसार चिनियाँको आगमन बढाउन प्रर्वद्धन अभियानलाई तिब्र बनाउनुको विकल्प छैन। ‘हामी अझै कोभिड अघिको आकारमा चिनियाँ पाहुना भित्र्याउन सकेका छैनौ। अझै ४ प्रतिशत आगमन बढाउन सकेको खण्डमा मात्र कोभिडअघिको आकारमा उक्लिन सकिन्छ,’ उनले भने, ‘तर, योपटक आगमन तीनगुणा बढाउने लक्ष्य भने छ।’ नेपालमा यो फेब्र्रुअरीमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। गत जनवरीमा नेपाल भित्रिएका चिनियाँको संख्या ८ हजार १ सय ९१ थियो।

चीनमा नेपाल भ्रमण वर्ष २०२५ मनाइनु, नेपाल र चीनको मैत्रीसम्बन्धको ७० औं वर्षगाठका कारण नेपालमा चिनियाँ गतिविधि हुनु, चिनियाँकै ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुनु र पोखराबाट भएका सुरुवाती अन्तर्राष्ट्रिय उडान पनि चिनियाँ सहरमा भएकोले पोखराको नजर चिनियाँ बजारमा रहेको उनले बताए। अहिले पोखरा–छेन्दु भईरहेको चार्टर उडान भईरहेको छ। अबका केहीदिनपछि पोखरा–ल्हासा पनि सिधा हवाई उडान हुने तयारी छ।  

‘पोखराले यो वर्ष बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने अवसर पाएको छ। चिनियाँ बजारमा प्रर्वद्धन पनि यहीवर्ष भएकोले अब चिनियाँ पाहुना बढ्ने आधार देखेका छौं,’ उनले भने, ‘यसअघि पर्यटन बोर्डले चीनकै बेइजिङ, संघाई लगायतका ठुला सहरमा बारम्बार प्रर्वद्धनात्मक अभियान चलाएको भएपनि छेन्दु र छोङसिङमा भने पहिलो पटक प्रर्वद्धन गरिएको हो। यसले चिनियाँ पाहुना नेपाल भित्र्याउने माहोल बनेको छ।’  

लामिछानेका अनुसार प्रर्वद्धनका क्रममा पोखरा क्षेत्रको दृष्य हेर्न पाउँदा चिनियाँ पर्यटन व्यवासायी पनि खुसी भएका छन। त्यसबाहेक पोखरासँग सिधै हवाई सम्पर्क स्थापित हुँदै गर्दा आउजाउमा सहज हुने भन्दै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको पनि चिनियाँले बताएको लामिछानेले जानकारी दिए। ‘अहिलेसम्म छेन्दुमा प्रर्वद्धन नभएको रहेछ। अझै व्यापारको प्रचारप्रसार गर्नुपर्ने देखियो। चीनको ठुलो सहरमध्येको छेन्दु रहेको र छेन्दुको विमानस्थल अन्तर्राष्ट्रिय उडानको ट्रान्जिट पर्ने भएकोले पनि पाहुना भित्र्याउन सहज छ,’ उनले भने।  

उनका अनुसार एकासाता अघि पोखरा ओर्लेका १२७ जना चिनियाँ पाहुना मंगलबार स्वदेश फर्केका छन्। अब अप्रिल १ का दिन चिनियाँ पाहुनाको अर्काे टोली लिएर फेरि सिचुवान एयरलाइन्सको जहाज पोखरा आउने तयारीमा रहेको छ। त्यही उडानमा पोखराका व्यावसायीको अर्काे टोली पुन छेन्दु जाने तयारीमा रहेको उनले बताए। ‘एकसाता घुमेर एउटा टोली बुधबार स्वदेश फर्केको छ। अर्काे टोली अप्रिल १ तारिखमा आउँदैछ। यताबाट पनि व्यावसायी जाँदैछन्। दोहोरो आउजाउ हुँदै गर्दा पर्यटनमा आशावादी हुन सकिन्छ,’ लामिछानेले भने।  

उनका अनुसार अहिलेको प्रर्वद्धनका कारण चिनियाँ पाहुनाले अगष्टसम्मका लागि चाँसो देखाईसकेका छन। अगष्टसम्मको लागि चिनियाँ पाहुनाले सोधपुछ गरिरहेको पनि उनले बताए। अहिले चलिरहेको प्रर्वद्धन बाहेक पर्यटन बोर्डले व्यावसायीसँग मिलेर अबको केही महिनापछि चीनको संघाई र ग्वान्झाओमा पनि प्रर्वद्धन गर्ने तयारी रहेको उनले बताए। ‘अहिले पोखराको पूर्णरुपमा नजर चिनियाँ बजारमा परेको छ। संघाई र ग्वान्झाओमा पनि प्रर्वद्धनात्मक अभियान चलाउने योजना बनिरहेको छ,’ उनले भने।

पोखराको प्रर्वद्धन गरेको फर्केको टोलीका सदस्य समेत रहेका होटल संघका केन्द्र्रीय सदस्य भरत पराजुलीले पनि पोखराको नजर चिनियाँ बजारमा बढ्दै जाँदा चिनियाँ पर्यटनबाट आशावादी हुन सकिने बताउँछन्। 

‘अहिले पोखराले चिनियाँ पर्यटन बजारमा ध्यान केन्द्रीत गरेको छ। चिनियाँ पाहुनाको आगमन बढ्ने सम्भावना रहेको छ। चिनियाँ पाहुनाको आगमन बढ्ने हो भने पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्नेछ,’ पराजुलीले भने, ‘चिनियाँ पर्यटन क्षेत्रले गर्दा पोखरालाई कोभिड अगाडि पनि सहज भएको थियो।’

पोखरा क्षेत्रको आकाशमा हुने साहसिक पर्यटकीय गतिविधिमा रमाउनका लागि चिनियाँ पाहुना इच्छुक हुने भएकोले पनि पर्यटन क्षेत्रले चिनियाँ पाहुनाबाट यसअघि फाइदा लिइरहेको उनले बताए। ‘यो पटक चीनले पोखरामा गरेका गतिविधि र पोखराका पर्यटन व्यावसायीले चिनियाँ सहरमा गरेको प्रर्वद्धनले आगामि दिनमा चिनियाँ पाहुनाको आकार बढ्ने संकेत मिलेको छ। व्यावसायीको नजर पनि चिनियाँ पाहुनातिर ढल्केको छ,’ पराजुलीले भने, ‘अबको केही समयभित्र कम्तिमा १२ सय चिनियाँ पाहुना पोखरा आउने तयारी स्वरुप छेन्दु–पोखरा चार्टर उडान भईरहेको छ। केहीदिनपछि पोखरा–ल्हासा पनि उडान थपिँदा चिनियाँ पाहुना अवश्य बढ्नेछन।’  

साताको एकपटक भएपनि पोखरामा एउटा उडान गरेर चिनियाँ पाहुनाको आउजाउ नियमित बनेको खण्डमा त्यसले पर्यटन क्षेत्रलाई सहज हुने उनले बताए। ‘पोखराले पनि ब्यापक पहल गरेको छ। ठूलो जनसंख्या भएकोले चिनियाँ पाहुना आउनसक्ने आधार हामीले देखेका छौ,’ उनले भने, ‘चीन आफैले पनि नेपालमा पाहुनालाई घुम्न जान प्रोत्साहन गर्दै चीनमै नेपाल भ्रमण वर्ष मनाईरहेको छ।’  

प्रकाशित: १२ चैत्र २०८१ १८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App