पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र चीनको सिचुवान प्रान्तको लुझाउ नगरका प्रमुख यु छिन्हीबीच लुझाउमा औपचारिक भेट भएको छ। लुझाउ नगरको निमन्त्रणामा शुक्रबार गएका आचार्य र उनको टोलीलाई छिन्हीले स्वागत गरे।
प्रतिनिधिमण्डलमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई थिए।
भेटमा आचार्यले नेपाल र चीनबीचको पुरानो सम्बन्धको चर्चा गर्दै चीनलाई असल मित्र राष्ट्र मानेको बताए। पोखरा र लुझाउ भगिनी सहर भएको उल्लेख गर्दै उनले पोखरा–छेन्दुको व्यावसायिक उडानले दुवै सहरको सम्बन्ध बलियो बनाउने बताए। यो उडान नियमित गर्न सहयोगको अपेक्षा उनले गरे। दुई सहरबीच शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदमा सहकार्य बढाउन उनले आग्रह गरे।
पोखरामा परम्परागत चिकित्सा पद्धतिमा विश्वास रहेको बताउँदै उनले लुझाउको परम्परागत चिकित्सासँग सहकार्य गर्न तयार रहेको बताए। चीनले २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र पोखराले पनि भ्रमण वर्ष मनाउने तयारी गरेको उल्लेख गर्दै उनले चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरे। उनले छिन्हीलाई पोखरा भ्रमणको निम्तो दिए।
लुझाउका प्रमुख यु छिन्हीले पोखरासँगको सम्बन्धलाई थप बलियो बनाउने बताए। शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, कृषि र खेलकुदमा सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो। चीनको परम्परागत चिकित्सा प्रभावकारी रहेको उल्लेख गर्दै उनले नेपालको आयुर्वेदसँग सहकार्य गर्न सकिने बताए। जडीबुटीबाट औषधि बनाउने र तथ्याङ्क सङ्कलनमा पनि सहयोग गर्न सकिने उनले भने।
लुझाउ र पोखराको भौगोलिक अवस्था मिल्दोजुल्दो भएको बताउँदै उनले यहाँको ठूलो जनसङ्ख्याले पर्यटनमा फाइदा पुग्न सक्ने बताए। पर्यटन र संस्कृति विभागबीच समन्वय र प्रवर्द्धनात्मक सामग्री पठाउन उनले आग्रह गरे।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु उडानले सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल–चीन सम्बन्धको ७०औँ वर्ष मनाइरहँदा भ्रमण वर्ष २०२५ ले चिनियाँ पर्यटक बढाउने उनको विश्वास छ। चीन नेपालको महत्त्वपूर्ण पर्यटन बजार भएको बताउँदै उनले चिनियाँ पर्यटकका लागि होटल, रेस्टुरेन्ट र गाइड तयार रहेको बताए। पोखरा–छेन्दु उडान नियमित गरी पर्यटक बढाउन उनले आग्रह गरे।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले लुझाउको टोली चाँडै पोखरा आउने विश्वास गरे। लुझाउको सुन्दरता र विकासबाट धेरै सिक्न सकिने बताउँदै उनले उडान नियमित गर्न सहयोगको अपेक्षा गरे।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराईले चिनियाँ पर्यटकका लागि पूर्वाधार तयार रहेको र उनीहरूको स्वागतको पर्खाइमा रहेको बताए। भेटमा लुझाउका तर्फबाट साउथ वेस्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हि ताओ र उपप्रमुख लुओ सुपिङ पनि थिए। वासुदेव पौडेल/रासस
प्रकाशित: ९ चैत्र २०८१ १०:१३ शनिबार





