१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

२० लाख रुपैयाँको ‘गोपाल-कमला अवार्ड’ खेतीपातीलाई

समाजसेवी गोपाल राजभण्डारी र उनकी पत्नी कमलाको नाममा स्थापना भएको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ कृषि क्षेत्रमा काम गर्ने संस्था ‘खेतीपाती’ लाई दिइएको छ। रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को शुक्रबार ललितपुरमा भएको १७औं राष्ट्रिय सम्मेलनमा २० लाख रुपैयाँको यो पुरस्कार ‘खेतीपाती’ की सञ्चालिका प्रकृति गौतमलाई हस्तान्तरण गरिएको छ।

उद्योग र व्यवसायमा संलग्न भए पनि ‘आफूभन्दा माथि सेवा’ को मान्यता राख्ने राजभण्डारी दम्पतीको सम्झनामा यो पुरस्कार सुरु भएको हो। सन् २०११ मा ५ लाखबाट सुरु भएको यो पुरस्कार यस वर्ष २० लाख बनाइएको गोपाल–कमलाका नाति आमोद राजभण्डारीले बताए। यसअघि यो पुरस्कार १० लाखको थियो।

गोपाल–कमलाका परिवारका सदस्यको उपस्थितिमा गौतमलाई नगद र सम्मानपत्र दिइएको छ। समाज परिवर्तनमा योगदान दिनेलाई प्रोत्साहन गर्न कृषि क्षेत्रका युवा उद्यमी गौतमलाई यो पुरस्कार दिइएको आमोदले बताए। यो पुरस्कारले विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई प्रेरणा मिल्ने उनको विश्वास छ। उनले भावी पुस्ताले पनि यसलाई निरन्तरता दिने बताए।

गोपाल राजभण्डारीले वीरगन्जमा उद्योग स्थापना गरेर भारतमा व्यापार–व्यवसाय गरेका थिए। संयुक्त राज्य अमेरिकाको शिकागोमा सन् १९०५ फेब्रुअरी २३ मा पावल पर्सिनल हेरिसको नेतृत्वमा रोटरी क्लब सुरु भएको थियो। यो सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो। नेपालमा भने करिब ५० वर्षपछि गोपाल राजभण्डारी, जैन गिरी, किरणशमशेर जबरा, देवरथलगायतको पहलमा रोटरी अभियान सुरु भएको थियो। सन् १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाडौं बनेको थियो। त्यसको १८ वर्षपछि रोटरी क्लब अफ विराटनगर स्थापना भएको थियो। सेवा गर्न पद र कुर्सी चाहिँदैन भन्ने गोपालको अग्रसरतामा रोटरी अन्तर्राष्ट्रियअन्तर्गत डिस्ट्रिक्ट ३२९२ नेपाल बनेको रोटरियन जितेन्द्रबहादुर राजभण्डारीले बताए।

सन् २००८ को जुलाईमा डिस्ट्रिक्ट ३२९२ नेपालमा ल्याउन सफल भएको जितेन्द्रले बताए। उनले भने, ‘गोपालको निधन त्यसको तीन महिनाअघि नै भएको थियो, तर यो यहाँ ल्याउन उनको ठूलो योगदान थियो।’ सामाजिक, स्वास्थ्य, शिक्षा र मानवीय सेवामा काम गर्ने रोटरी क्लबलाई अहिलेको अवस्थामा ल्याउन गोपालको महत्वपूर्ण भूमिका रहेको उनले सम्झे। उनले गंगालाल अस्पतालदेखि शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएको बताए।

रोटरी क्लबका सदस्यले रोटरीको मूल आदर्शलाई मन, वचन र कर्मले पछ्याउँदै समाजमा रचनात्मक र मानवीय हितका काम गर्दै आएको जितेन्द्रले बताए। नेपालमा त्यसका प्रेरकमध्ये गोपाल एक प्रमुख भएको उनले सम्झे। बाँसबारीको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई अहिलेको अवस्थामा ल्याउन पनि गोपालको योगदान रहेको उनको भनाइ छ।

२०५७ वैशाख १६ देखि नौ शड्ढयाको इनडोर सेवा सुरु गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई अघि बढाउन गोपाल, डा. दिनेशचन्द्र पोखरेल र अशोक श्रेष्ठ सक्रिय थिए। सामाजिक अभियन्ता समेत रहेका गोपालले अस्टे«लियाली स्वयंसेवकसँग समन्वय गरेर अस्पतालका लागि क्याथ ल्याब, पहिलो क्याथ ल्याब भवन, शल्यक्रिया कक्ष, सिसियु/एमआइसियु र पाँच सिंगल क्याबिन बनाइदिएका थिए। अस्पतालमा गोपाल–कमला शल्यक्रिया तथा सघन उपचार भवन पनि बनेको छ। अभाव र आवश्यकताबीच स्थापना भएको अस्पताललाई अघि बढाउन गोपालको ठूलो योगदान थियो।

‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पाएकी ‘खेतीपाती’ की प्रकृति गौतमले यो पुरस्कारले कृषि क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताइन्। उनले भनिन्, ‘सरकारमा मात्र भर पर्दा थाकेका बेला यस्ता पुरस्कारले देशमै केही गर्न चाहनेलाई ठूलो प्रेरणा दिन्छ। म धन्य छु र अरुलाई पनि यसले प्रेरित गर्नेछ।’

पुरस्कारको रकम यही क्षेत्रमा खर्च गर्ने बताउँदै गौतमले भविष्यमा फलफूल र नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना सुनाइन्। मौसमी फलफूल, तरकारी र मसला संकलन र भण्डारणको काम गर्दै आएको उनले बताइन्। काठमाडौं घर भए पनि धनकुटामा उद्योग चलाएर काम गर्ने ‘खेतीपाती’ ले उत्पादन गरेको मसला अमेरिका, जापानलगायत देशमा बिक्री हुने गरेको उनको भनाइ छ।

 

प्रकाशित: ८ चैत्र २०८१ २०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App