उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी बढाएर अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन्।
आज यहाँ भएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले औद्योगिक क्षेत्र सुधारेर उद्योगी र व्यवसायीलाई सहज रूपमा व्यवसाय चलाउने वातावरण बनाउनु मन्त्रालयको पहिलो प्राथमिकता भएको बताए।
भण्डारीले आर्थिक र सामाजिक विकासका लागि उद्योग र व्यवसाय सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएको र यो क्षेत्रको विकासबिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताए। सरकारले समग्र औद्योगिक क्षेत्रको प्रवर्द्धन र नीतिगत सुधारमार्फत ‘समृद्ध नेपालः सुखी नेपाली’ को लक्ष्य पूरा गर्न पहल गरिरहेको उनको भनाइ थियो।
उनले भने, ‘निजी क्षेत्रका उद्योग र व्यवसायको विकासका लागि महत्त्वपूर्ण कार्यक्रम सङ्घीय सरकारको वार्षिक योजनामा राखिएका छन् र लागू भइरहेका छन्। वर्तमान सरकार उद्योग र व्यवसायको विकासका लागि सक्रिय छ। आर्थिक क्षेत्रलाई सङ्कटबाट मुक्त गर्ने, उत्पादन र उत्पादकत्व बढाएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यात बढाउने र आयात व्यवस्थापन गरेर अर्थतन्त्र बलियो बनाउने बाटोमा प्रतिबद्ध छ।’
सरकारले स्वदेशी उत्पादन र उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान चलाउने योजना बनाएको र त्यसका लागि ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ जारी गरेर कार्यान्वयन सुरु गरेको उनले बताए। स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने वस्तुको उत्पादनलाई प्रोत्साहन गरेर स्वदेशी सामानको प्रयोग अनिवार्य गर्ने योजनामा काम भइरहेको भण्डारीले जानकारी गराए।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न छुट, सहुलियत र अन्य कार्यक्रम चलाइएको बताउँदै उनले औद्योगिक लगानीको अवस्था सुधारेर लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानी बढाउन र विदेशी लगानी भित्र्याउन, उत्पादन र उत्पादकत्व बढाएर रोजगारी सिर्जना गर्न, आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा कम गर्न नीतिगत र कानुनी सुधार तथा व्यवसायमैत्री प्रक्रिया सरल बनाइएको दाबी उनको छ।
यस वर्ष सङ्घीय सरकारले लगानी र औद्योगिक वातावरण सुधारेर लगानी बढाउने उद्देश्यले अध्यादेश जारी गरेको बताउँदै भण्डारीले कानुनी र नीतिगत व्यवस्थाले औद्योगिक वातावरण सहज भएको र यसले निजी क्षेत्रको मनोबल बढेको दाबी गरे। रासस
प्रकाशित: ८ चैत्र २०८१ १९:४४ शुक्रबार





