९ चैत्र २०८१ शनिबार
image/svg+xml २२:१ अपराह्न
अर्थ

पोखरालाई पर्यटकीय राजधानी घोषणाको एकवर्षः के पायो पोखराले ?

लहैलहैको घोषणा, हात लाग्यो शुन्यः व्यावसायी

पर्यटकीय सहर पोखरा। फाइल तस्बिरः नागरिक

अघिल्लो चैत ४ गते सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्यो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गर्दै गर्दा पोखराको मात्र नभइ समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्र निकै नै हौसिएको थियो। 

फेवाताल किनारको बाराहीघाटमा आयोजित भव्य कार्यक्रममा तत्कालिन प्रधानमन्त्री दाहालले ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ भन्दा व्यावसायीले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गराउने सपना पुरा भएको जनाएका थिए।  

व्यावसायी त्यो बेला खुसी हुनुको अर्काे कारण के थियो भने पर्यटन राजधानी घोषणा गरेपछि पोखराले बजेटमा महत्व पाउनेछ र लगानीका अवसर थपिनेछन्। त्यत्तिमात्र नभई पाँचवर्षभित्र पर्यटन क्षेत्रमा मात्र कम्तिमा एकखर्ब रुपैयाँ लगानी थपिने पनि व्यावसायीले बताएका थिए।  

पर्यटनको राजधानी बनेसँगै पोखरा क्षेत्रको विकास निर्माणको ढोका खुल्ने, अपुरा पुर्वाधारले पूर्णता पाउने र पर्याप्त लगानी भित्रिने व्यावसायीको अपेक्षा थियो। पोखराको पर्यटन क्षेत्र २४ सै घण्टा खुल्ने, पोखरा क्षेत्रमा पूर्वाधार निर्माणका लागि सरकारले बजेटमा प्राथमिकता दिने, पोखरा आएका पर्यटकको बसाई अवधि र खर्च गर्ने क्षमता बढ्ने भन्दै व्यावसायी निकै हौसिएका थिए।  

तर, पर्यटन राजधानीको पहिचान पाएको एकवर्ष बितिसक्दा पोखराले अपेक्षा गरे अनुसारका कुनै योजना र महत्व नपाएको पर्यटन क्षेत्रको गुनासो छ। पर्यटनको राजधानी कुनै सकारात्मक संकेत समेत नदेखिएको व्यावसायीले बताएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको एकवर्ष बित्यो, तर, पर्यटन क्षेत्रले देख्नेगरि केही उपलब्धि देख्न पाएनौ।’  

विकास निर्माणका केही आयोजना बनाउनका लागि दातृ निकायले दिएको कामको आधारमा भएको उपलब्धिलाई पर्यटकीय राजधानीको अर्थसँग जोड्न नमिल्ने उनी बताउँछन्।

‘पर्यटकीय राजधानी भएपछि पर्यटक भित्र्याउने पहल हुनपर्ने हो। जसले बच्चा जन्मायो, उसैले बच्च पाल्ने दायित्व हुन्छ, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले जन्माएको बच्चा (पर्यटकीय राजधानी) उनीहरु (प्रदेश सरकार र महानगर)ले नै पाल्नुपर्ने हो,’ अध्यक्ष सुवेदीले भने, ‘तर, बच्चा पालिएन, जन्माएर अलपत्र पारियो। पर्यटकीय राजधानी पोखरा अहिले अभिभावक बिनाको बच्चा जस्तै बनेको छ।’  

पर्यटकीय राजधानी बनेपछि प्रदेश सरकारले बजेट दिएर पर्यटन प्रर्वद्धनका अभियान संचालन हुनुपर्ने भएपनि नभएको उनले बताए। ‘प्रदेश सरकार र पोखरा महानगरले राजधानीका लागि न त बजेट दिए, न कार्यक्रम नै गरे, घोषणा गरेपछि सकियो, त्यही अवस्था बनेको छ,’ अध्यक्ष सुवेदीले भने, ‘सानातिना कार्यक्रम बाहेक केही भएनन, पर्यटन क्षेत्रले पहिल्यैदेखि गरिरहेका प्रर्वद्धनका कार्यक्रम देखाएर हामीले गरेका छौ भन्ने देखाउन जरुरी छैन। अहिले व्यावसायीले गरेका प्रर्वद्धनका कार्यक्रम पोखरा पर्यटकीय राजधानी भएर भएका होईनन्, पर्यटन क्षेत्रले हिजैदेखि गर्दै आएका कार्यक्रम हुन। ती कार्यक्रम भविश्यमा पनि हुनेछन्।’  

पर्यटकीय राजधानीमा आएका पर्यटकले पहिले भन्दा बढेर सेवा सुविधा पाउनुपर्ने, पर्यटकको बसाई अवधि बढ्नुपर्नेमा उल्टो खस्केको उनले बताए। ‘पर्यटकीय राजधानी ओर्लेका एकजना विदेशी पर्यटकले पोखरामा घुम्ने ठाउँको बारेमा सूचना पाउने ठाउँ समेत छैन। विमानस्थलमा कसैले जानकारी दिन्नन,’ उनले भने, ‘कम्तिमा पोखरा आएका पर्यटकलाई दिइने सूचनाबारे जानकारी दिने गरि ट्याक्सी चालकलाई तालिम त दिन सकिन्छ नी। त्यत्तिसमेत गर्न नसकेपछि पर्यटनको राजधानी भएको अर्थ राख्दैन।’  

पोखरा भित्रिएका पर्यटकको खर्च गर्ने क्षमता बढाउन नसकेको पनि उनले बताए। ‘हामीले त लिएको मुल्यलाई उल्टो घटाएका छौ। कुनै न कुनै निहुँमा छुट दिएका छौ। पर्यटन प्रर्वद्धन हुने र पर्याप्त पर्यटक भित्रिने हो भने हामीले पूर्ण रुपमा मुल्य लिन सक्थ्यौ, अहिले आधा मुल्यमा ब्यापार गरेका छौ,’ उनले भने, ‘विकासको गति पनि उकालो लागेन। यतिसम्मकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइडसम्मको बाटोको अवस्था देख्दा दिक्क लाग्छ।’  

उनका बिचारमा अहिले पोखरामा जे जति काम भएका छन, ती पर्यटकीय राजधानीका कारण होईनन। ‘लेकसाइड २४ सै घण्टा खुला हुने भनियो, सेवा त होटलले पहिले नै दिएका हुन। तर, भ्रम मात्र छरियो,’ उनले भने, ‘४३ बँुदे आचारसंहिता पालना गर्नेगरि २४ घण्टा खोल्ने भनेका पुर्वाधार खुलाउन कोही तयार छैन। किनकी ४३ बुँदा पालना गरेर २४ सै घण्टा खोल्न सक्ने अवस्था छैन। कर्मचारीको आर्थिक भार थपेर २४ सै घण्टा ब्यापार खोल्ने अवस्था रहन्न।’  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि राज्यको अस्पष्ट नीतिका कारण समस्या थपिएको बताउँछन्। ‘राज्यको अस्पष्ट नीतिका कारणले पोखराले दुख पाएको छ। त्यसको उपयुक्त प्रमाण भनेको पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको भएपनि त्यसले औपचारिकता पाएन,’ शर्मा भन्छन, ‘देशको प्रधानमन्त्रीले घोषणा गरेको कार्यक्रममा क्याबिनेटको निर्णय समेत नभएको सुनिएको छ, त्यो अस्पष्ट नीतिकै परिणाम हो।’

शर्माका अनुसार अबको भरोसा निजी क्षेत्रसँग मात्र रहेको छ। ‘निजी क्षेत्रले गर्न सके केही गर्ला, नत्र सरकारी निकायले केही गर्ने अवस्था छैन। निजी क्षेत्र आफैमा आर्थिक, सामाजिक असन्तुलन, मजदुरको अस्थिरताले गर्दा दिईरहेको सेवा, गुणस्तर धरापमा पर्दै आएको छ, तैपनि जेनतेन चलेको छ,’ शर्माले भने, ‘निजी क्षेत्र एकबद्ध भएसम्म धानिन सक्छ नत्र सरकारको भरले हुँदैन।’ जिम्मेवारी बहन गर्ने व्यक्तिले कर्तव्य पुरा नगर्दा यो अवस्था आएको उनले बताए। 

 ‘हिजो भने गरेका काममा सत्यता देखिएन। प्रधानमन्त्रीले गरेको घोषणा नै अवैध भनेपछि अरु अपेक्षा गर्ने कुरै भएन। लहलहैमा बगेको अवस्था छ,’ शर्माले भने, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा पनि लहैलहैमा गरिएको पुष्टि भएको छ।’

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि जिम्मेवार पदमा बसेका व्यक्तिले बोलेको कुरा खपतका लागि मात्र भएको बताए। ‘कर्णप्रीय बोलि मात्र भएको छ, जिम्मेवार व्यक्तिको बोली नै खपतका लागि मात्र सीमित बनेको छ। प्रधानमन्त्री नै जिम्मेवार बन्ने सकेनन,’ उनले भने, ‘त्यसैले जनताले सस्तो लोकप्रियता प्रति विश्वास गर्न छाडेका हुन्। प्रधानमन्त्रीले बोलेका कुरा पनि पुरा नहुने भए किन बोल्ने भन्ने प्रश्न उब्जेको छ।’

पोखरा बनाउने योजना कसैसँग नभएकोले यो अवस्था आएको उनले बताए। ‘पोखरालाई पर्यटकीय राजधानी लहडबाजीमा घोषणा गरिएको हो। पर्यटन राजधानीमा हुनुपर्ने पूर्वाधारको कहाँ के भन्ने नै योजना समेत छैन। तीनवटै तहका सरकारसँग योजना छैन। घोषणा गरेपछि सबैले पत्याउँछन भन्ने मात्र रहेको छ,’ उनले भने, ‘पोखरालाइ पर्यटकीय सहरको रुपमा विकासमा जुन किसिमको योजना बनाउनुपर्ने हो, त्यसको थालनी नै भएको छैन। अब खपतका कुरा मात्र नगरौ । पोखरालाई यसले धेरै पछाडि पारेको छ।’

पोखरामा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने त परैको कुरा भएका ठाउँ चिनाउने उपाय र व्यक्ति पनि नभएको उनले बताए। विशेष सम्पदा भनेर चिनाउने प्रडक्ट समेत पोखरासँग नभएको अवस्थामा राजधानी घोषणाले अर्थ नराख्ने मुल्मी बताउँछन। 

‘कुनैपनि प्रडक्ट तयार गर्न सकेका छैनौ। भएका प्रडटलाई पनि सुन्दर बनाउन सकेनौ। सस्तो लोकप्रियताका लागि काम गरेका छौ,’ मुल्मी भन्छन, ‘पोखरालाई हरेक क्षेत्रको राजधानी बनाउने भन्दै राजधानीको गरिमा र महत्वलाई कमजोर बनाएका छौ। संस्थागत रुपमा पनि अबमुल्यन गरेका छौ। हरेक चिजलाई पर्यटनसँँग जोड्दा पर्यटनको अवमुल्यन भएको छ।’

साच्चै पर्यटकीय राजधानी बनेको भए पोखराले अहिले बजेट पर्यटकको कुरा गर्ने अवस्था आउन नहुने उनले बचाए। ‘अब खर्च गर्ने क्षमताका पर्यटकबारे सोच्नुपर्ने हो। हेलिकप्टरमा सयर गर्ने क्षमताका पर्यटकबारे सोच्नुपर्ने हो। तर, सोचमा परिवतन हुन सकेन। पर्यटक बढ्नु मात्र उपलब्धि होईन, पर्यटकले खर्च गर्नु, ज्ञान बटुल्न सकेमा बल्ला लाभ मिल्छ,’ उनले भने। पोखरालाई भित्रि मनदेखि संघीय सरकारले पर्यटनको राजधानी घोषणा नगरेको उनले बताए। 

‘भित्री मनदेखि नै पोखरा पर्यटनको राजधानी बनेको भए भए केही न केही योजना बन्थ्यो होला। कम्तिमा पनि पोखरामा एउटा सभाहल त बन्थ्यो होला,’ उनले भने, ‘तर, सरकारले केही गरेन।’ महानगरपालिका र प्रदेश सरकारको पहलमा प्रधानमन्त्रीले गरेको घोषणाको आौचित्य सावित गर्ने कुनै योजना नबन्नु दुखद रहेको मुल्मीको भनाई छ।  

प्रकाशित: ७ चैत्र २०८१ १८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 100 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App