ह्वाइट हाउसमा मंगलबार एउटा असाधारण दृश्य देखियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाहिर आयोजना गरिएको प्रेस कन्फ्रेन्स र लाइभ टेस्ला विज्ञापनमा सहभागिता जनाए। सो अवसरमा टेस्ला कम्पनीका सिइओ र सरकारी कार्यक्षमता विभाग (डोज) प्रमुख एलन मस्क पनि थिए। त्यहाँ चम्किला टेस्ला कारहरूको लस्कर लगाइएको थियो।
यो दृश्यको महत्त्व बढी नै थियो किनभने पछिल्लो समय टेस्ला कम्पनीको सेयर तीव्र गतिमा झरिरहेको थियो। ट्रम्प निर्वाचित भए यता बढेको सेयरका सबैजसो नाफा शून्यमा झरिसकेको छ। मस्कको बढ्दो राजनीतिक प्रोफाइल र संघीय सरकारको नियमन घटाउने कदमहरूले ठूलो क्रिया र प्रतिक्रिया जनाइरहेको छ। कतिसम्म भने युरोपमा त टेस्लाविरोधी आन्दोलन नै सुरु भएको छ र त्यहाँ सोकारको बिक्री स्वात्तै घटेको छ।
राष्ट्रपति ट्रम्पले टेस्ला गाडी चढ्ने र टेस्ला प्रदर्शन गर्ने सो कार्यक्रमपछि यसको सेयर मंगलबार उक्लियो। सो अवसरमा ट्रम्पले टेस्ला डिलरसिपहरू विरुद्ध गरिने जस्तोसुकै प्रदर्शनी, आक्रमण वा विरोधलाई घरेलु आतंकवादको रूपमा बुझिने बताए। रोचक त ट्रम्पले टेस्ला सोरूमका मार्केटिङ गर्ने सहयोगीजस्तै हातमा गाडीको मूल्य सूची लिएर बसेका थिए।
गेट्टी इमेजेजले खिचेको एउटा तस्बिरमा त ट्रम्पले टेस्लाको मूल्य लेखिएको कागजको टुक्रासमेत देखिएको थियो। त्यहाँ लेखिएको थियो, टेस्ला प्रतिमहिना तीन सय डलर वा ३५ हजार डलरमा किन्न सकिन्छ।
यसको अर्थ मस्कको व्यवसाय र अमेरिकी सरकार एकअर्कासँग कसरी गाँसिएका छन् भन्ने उदाहरण हो। मस्क र ट्रम्पको गठबन्धनले मस्कका कम्पनीहरूलाई अगाडि बढाइरहेको छ। टेस्लाको सेयर डगमगाउँदा राष्ट्रपति नै विद्युतीय वाहनको बिक्री प्रोत्साहन गर्ने जिम्मेवारी नै लिनु उदेक देखिन्छ। राष्ट्रपतिको टेस्ला मार्केटिङपछि यसको सेयर मंगलबार ३.८ प्रतिशतले उक्लियो। यसले सोमबारको घाटाबाट केही भए पनि सेयरधनीलाई राहत भएको छ।
मंगलबार ह्वाइट हाउसमा ट्रम्पले टेस्ला किन्ने बताएका थिए। उनले आफ्नी नातिनीले साइबरट्रक किनेको समेत बताएका थिए। ‘मलाई लाग्छ मस्कलाई एकदम सानो समूहले धेरै अन्यायपूर्ण व्यवहार गरिरहेको छ। राष्ट्रभक्तिको बदलामा उनलाई दण्डित गरिएको हेर्न म चाहन्नँ। उनी देशभक्त भएकै कारण उनलाई दण्डित गरिनु हुँदैन।’
पछिल्लो समय अमेरिकाभरि टेस्ला र मस्कविरुद्ध प्रदर्शनहरू बढेका छन्। सोमबार राति ट्रम्पले टुथ सोसलमा लेखेका थिए, मस्क देशभक्त व्यक्ति हुन्। उनको महान् अमेरिकी विश्वास र समर्थनको प्रदर्शनस्वरूप भोलि बिहान नयाँ टेस्ला किन्न जाँदैछु। उनले देशभरि टेस्ला र मस्कविरुद्धको बहिष्कारलाई अवैध क्रियाकलापको आरोप लगाएका थिए।
सन् २०२४ को निर्वाचनपछि टेस्लाको सेयर ह्वात्तै बढेको थियो। सेयर बढेपछि उनको सम्पत्ति पनि बढेको थियो। टेस्लाका लगानीकर्ताले मस्कले कम्पनीलाई फाइदा पुग्ने तरिकामा इलेक्ट्रिक वाहन बजार नियमनमुक्त गर्न सरकारलाई प्रभाव पार्ने आशा गरेका थिए। बरु ट्रम्पको ट्यारिफ धम्कीले स्टक बजारलाई पिङजस्तो बनाइदिएको छ।
सोमबार मात्र टेस्लाले आफ्नो मूल्यको १५ प्रतिशत गुमाउन पुग्यो। यसको स्टक सन् २०२५ लागेयता लगभग ४५ प्रतिशतले घटेको छ। राष्ट्रपतिको चुनाव भएको मितिदेखि बढेको सेयरको नाफा सबै मेटिइसकेको छ।
उता युरोपमा पनि यसको बिक्री घटेको छ। ट्रम्प प्रशासनमा मस्कको भूमिकाका कारण नै यस्तो प्रतिक्रिया आउन थालेको केहीको दाबी छ।
आउँदा दिनमा उनले ‘डोज’लाई समय दिँदा टेस्लाप्रति उपेक्षा बढ्ने र यसले कम्पनीलाई अझै ठूलो घाटा पुर्याउने विश्लेषणहरू भइरहेका छन् तर केही विश्लेषकहरू अझै पनि टेस्लाप्रति आशावादी छन्।
वेडबुशले मंगलबार एक विज्ञप्ति जारी गर्दै अझै पनि टेस्लाको नवीनता र प्रविधि दृष्टिकोणमा आशावादी हुने ठाउँ छ। मस्कको कारण मात्र पाँच प्रतिशत टेस्ला मालिकहरूले टेस्ला फेरि किन्न पुनर्विचार गर्ने अपेक्षा गरेको छ। अन्य केही विश्लेषकहरूले त टेस्ला सेयर झरेको बेलामा किन्ने अवसरको रूपमा समेत देखेका छन्।
मंगलबारको कार्यक्रममा ट्रम्पले भने, ‘म एउटा सुन्दर टेस्ला कार किन्छु र मलाई यसमा छुट चाहिँदैन। मस्कले मलाई छुट दिन्छन् तर मैले छुट लिएँ भने हाम्रा विरोधीहरूले भन्नेछन्, ‘राष्ट्रपति भएको फाइदा लुट्यो।’
प्रकाशित: १ चैत्र २०८१ ०९:५९ शुक्रबार