चिनियाँ पर्यटक लक्षित गर्दै पोखराका पर्यटन व्यावसायीले चीनका विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान संचालन गर्ने तयारी थालेका छन्। पोखरेली पर्यटन व्यावसायीको जम्बो टोली प्रर्वद्धन अभियान लिएर चीन जाने तयारी गरेको हो। यति ठूलो आकारमा व्यावसायी सहभागि भएर चीनमा पर्यटन प्रर्वद्धन गर्न थालेको यो नै पहिलो हुने व्यावसायीले बताएका छन्।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष तारानाथ पहारीले चिनियाँ सहरमा नेपालको प्रर्वद्धन गर्ने र आगामि दिनमा पोखरामा चिनियाँ पाहुनाको आकार बढाउनका लागि ठूलो संख्यामा व्यावसायीहरु प्रर्वद्धनअभियानमा सहभागि हुन थालेको बताए। उनका अनुसार पोखराका कम्तिमा १ सय १५ जना पर्यटन व्यावसायी यो अभियानमा सहभागि हुनेछन्।
यसअघि पनि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लगायतका संस्थाले चीनका केही सहरमा प्रर्वद्धनात्मक अभियान चलाएका थिए। त्यसबाहेक पर्यटन बोर्डमार्फत पनि अभियान संचालन गरिएको थियो । तर यो पटक भने व्यावसायीको ठूलो समूह आफै सहभागि भएर चिनियाँ सहरमा पोखरा प्रर्वद्धन गर्ने योजना बनाएको उनले बताए।
‘एकैपटक एकसय बढी व्यावसायी सहभागि भएर पर्यटन प्रर्वद्धनात्मक गतिविधि संचालन गरिँदैछ,’ उनले भने, ‘नेपालले चिनियाँ पर्यटकबाट ठूलो आश गरेकोले प्रर्वद्धनमा जुट्न थालेको हो।’
परिषद् अध्यक्ष पहारीका अनुसार प्रर्वद्धन अभियानमा जान थालेका व्यावसायीलाई चीनको सिचुआन एयरलाइन्सले पोखरादेखि चीनको छेन्दुसम्म चार्टर उडानमार्फत आउजाउ गराउने तयारी थालेको छ। पहारीका अनुसार चैत ५ गते सिचुआन एयरलाइन्सले पोखरा–छेन्दु चार्टर उडान गर्नेगरि योजना छ।
पहारीका अनुसार चैत ५ गते छेन्दुबाट जहाज यात्रु लिएर पोखरा आउनेछ। पोखराबाट फर्किँदा पर्यटन व्यावसायी लिएर जहाज छेन्दु फर्कनेछ। छेन्दु पुगेका व्यावसायीले एकसातासम्म चीनको छेन्दु, लुझौं, चोङक्विङ लगायतका सहरमा बजारीकरण गर्नेछन। एकसातापछि त्यही जहाज पोखरामा रहेका यात्रु लिन पोखरा आउँदा व्यावसायी पनि त्यही जहाजमा आउनेछन।
‘पोखरा आएका चिनियाँहरु एकसातासम्म पोखरा, चितवन, काठमाडौं सहरमा घुम्नेछन्। अन्तिमा पोखरामा भेटेर उनीहरु स्वदेश फर्किनेछन। हामी पनि विभिन्न सहरमा बजारीकरण गरेर छेन्दुबाट पोखरा आउनेछौं,’ उनले भने, ‘चीनका करोडौं जनसंख्या भएका ती सहरमा प्रर्वद्धनात्मक अभियान लिएर जाँदा आगामि दिनमा पोखरामा चिनियाँ पर्यटक आगमन बढ्ने अपेक्षा छ। व्यावसायीले प्रर्वद्धन गर्ने तयारी थालेका सहरका धेरै पाहुना घुमघामका लागि विभिन्न देश जाने भएकोले उनीहरुलाई पोखरा तान्नु मुख्य उद्देश्य हो।’
पहारीका अनुसार सिचुआन एयरलाइन्सले पोखरालाई चिनियाँ सहरसम्म सिधा हवाई उडानमार्फत जोड्ने योजना पनि बनाएको छ। त्यसका लागि सुरुका तीनमहिना साप्ताहिक रुपमा चार्टर उडानको योजना बनाएको उनले बताए। ‘चार्टर उडानले पाहुना तान्ने अवस्था रहेमा सिचुआनले पनि नियमित उडानको तयारी गरेको हो। पोखरा–छेन्दु नियमित उडानका लागि सुरुवाती तयारी स्वरुप चार्टर उडान गर्न थालेको हो,’ उनले भने।
उनका अनुसार छेन्दु–पोखराका लागि सिचुआनले तीनमहिने उडान अभियान चलाएको छ। ‘हुन त चार्टर उडान हो। तर, यसबाट पोखराले पर्यटन क्षेत्रका लागि पर्याप्त लाभ लिने योजना बनाएको छ,’ अध्यक्ष पहारीले भने। चीन पुगेका व्यावसायीले त्यहाँका पर्यटकीय क्षेत्र घुमफिर गर्नेछन भने चिनियाँ व्यावसायीसँग पनि व्यावसायिक भेटघाट (बीटुबी) गर्नेछन। ‘छेन्दु–पोखरा हवाई रुट स्थापित गर्न सकियो भने पोखरालाई चिनियाँ पाहुना अभाव हुने छैन। अहिले अपेक्षा गरे अनुरुप चिनियाँ पाहुना आएका छैनन,’ उनले भने, ‘तर, नियमित उडानले पाहुनाको आउजाउमा सहज हुनेछ।’
परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ चीन सरकारले नेपालमा चिनियाँ पर्यटक भित्र्याउनका लागि सन् २०२५ मा चीनमा नेपाल भ्रमण वर्ष मनाईरहँदा यो प्रर्वद्धन पोखराको पहिचान फराकिलो हुने र त्यसले पर्यटक आउजाउमा सहज हुने बताए। ‘चिनियाँ पर्यटकका लागि पोखरा लोकप्रिय गन्तव्य हो। त्यसैले चिनियाँ पाहुनालाई आकर्षण गर्नका लागि प्रर्वद्धन अभियान जरुरी छ,’ उनले भने।
व्यासायीले यो अभियानमार्फत चिनियाँ पर्यटकका लागि भिन्दै प्याकेज पनि दिनेछन। त्यसले आगामि दिनमा पाहुना तान्न सहज हुने उनले बताए। पर्यटन बोर्डका अनुसार यो फेब्रुअरीमा नेपालमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। सन् २०२३ मा करिब ६१ हजार चिनियाँ नेपाल भित्रिएका थिए। नेपालमा सन् २०२४ मा १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना भित्रिएका थिए।
व्यावसायीको प्रर्वद्धनसँगै हिमालय एयरलाइन्सले आगामि चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी गरेको बताएको छ। कम्पनिले सातामा एकपटक उडान गर्नेछ। कम्पनिका अनुसार चैत १८ गते बिहान काठमाडौंबाट जहाज चीनको ल्हासाका लागि उड्नेछ। ल्हासास्थित गोंगर विमानस्थलमा अवतरण भएको जहाज त्यही दिन ल्हासाबाट पोखराका लागि उडान भर्नेछ।
पोखरा आएको रात्रीकालिन विसानपछि जहाज भोलिपल्ट पोखराबाट ल्हासा उड्नेछ। त्यहीदिन ल्हासाबाट काठमाडौंका लागि उडान भर्ने हिमालयले बताएको छ हिमालय एयरलाइन्सले पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीचको यो उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण कोशेढुंगा भएको पनि एयरलाइन्सको भनाई छ।
प्रकाशित: २७ फाल्गुन २०८१ १७:४९ मंगलबार