कैलालीको पूर्वी भेगका ठुला चामल उद्योग खण्डहर भएसँगै साना चामल उद्योग समेत बन्द हुन थालेका छन्। कोरोना कालले निम्त्याएको आर्थिक मन्दीसँगै चामल उद्योगहरूले उत्पादन घटाएका छन्। कतिपय उद्योगहरू बन्द भैसकेका छन।
‘यस्तै अवस्था रह्यो भने सबै चामल उद्योग बन्द हुन्छन्,’ टीकापुरस्थित भोजराज खाद्य उद्योगका सञ्चालक अर्जुन भट्टराईले भने, ‘जेनतेन चलाइरहेका छौं। कुन दिन बन्द गर्नुपर्ने हो थाहा छैन।’
कोरोना कालले आर्थिक मन्दी सृजना गर्यो। त्यही आर्थिक मन्दीले चामल उद्योगका लागि थुप्रै समस्या सृजना गरिदियो। एकातिर बैंकको ब्याजमा वृद्धि भयो भने अर्कोतिर बैंकले ‘सिजनल लोन’ रोकिदियो। बैंककै कारण चामल उद्योगको उत्पादनमा ‘ब्रेक’ लाग्यो। जसले उद्योगीलाई संकटमा पार्ने काम गर्यो।
कतिपय समस्या चामल उद्योगी आफैँले सृजना गरे। जस्तैः उनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरे, प्रतिस्पर्धाले उधारो फस्यो, आम्दानीलाई अन्यत्र लगानी गरे। ‘हाम्रा साथीहरूले फाइदा र घाटाको आँकलन गरेनन्, ’बिना फुड प्रोडक्टका सञ्चालक विजय न्यौपानेले भने, ‘अस्वस्थ प्रतिस्पर्धाले पनि समस्या निम्त्यायो।’
नेपाली चामल उद्योग बन्द हुनुको एक अर्को महत्वपूर्ण कारण छ। जसले कैलालीको पूर्वी भेगका ठूला चामल उद्योग उहिल्यै खण्डहर बनेका थिए। स्वदेशी उत्पादन बजारमा जाने बेला भारतीय सस्तो चामल भित्रिन्छ। जुन चामलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा नै गर्न सक्दैन। उद्योगीहरू सस्तोमा चामल बेच्न वाध्य हुन्छन। ‘हामी प्रतिस्पर्धा नै गर्न सक्दैनौं,’ उद्योगी भट्टराईले भने, ‘हाम्रो चामल उधारोमा बेच्नु पर्छ।’
यसरी सस्तोमा नेपाली बजारमा भित्रिने भारतीय चामल उपभोगका लागि अस्वस्थकर मानिन्छ। स्रोतका अनुसार भारतीय व्यापारीले वर्षौंदेखि गोदाममा थन्काएर राखेको चामल नेपाली व्यापारीहरूलाई सस्तोमा बेच्ने गर्छन्। नेपाली व्यापारीले त्यही चामललाई आफ्नो बोरामा भरेर बजारमा पठाउने गरेको पाइन्छ। ‘यो सबै वर्षौंदेखि भैराखेको कुरा हो,’ उद्योगी भट्टराईले भने, ‘सबैको मिलेमतोमा बदमासी भइरहेको छ, रोक्ने कसले?’
कुनै बेला यहाँको चामल धनगढी, नेपालगञ्ज लगायतका बजारमा समेत बिक्री हुन्थ्यो। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा टीकापुरको चामलको राम्रो बजार थियो। त्यहाँ उद्योगीको उधारो समेत फसेको छ। ‘कुनै बेला हाम्रो चामलले राम्रो बजार पाएको थियो। अहिले कारोबार गर्न डर लाग्छ,’ टीकापुर फुड प्रोडक्टका सञ्चालक मुकेश बमले भने, ‘केही हदसम्म उधारोले डुबायो। उधारो दिएको फिर्ता आउने सम्भावना न्यून छ।’
ठुला चामल उद्योग बन्द भैसकेपछि पनि टीकापुरबाट मासिक ५० हजार क्विन्टल चामल निर्यात हुन्थ्यो। उद्योगीका अनुसार अहिले मुस्किलले हजार/दुई हजार क्विन्टल चामल निर्यात हुन्छ।
ठुला चामल उद्योग सञ्चालनमा हुँदा भने टीकापुरको चामल स्वदेशमा मात्रै हैन विदेशमा समेत निर्यात हुन्थ्यो। टीकापुरमा चामल उद्योग सञ्चालन भए पनि भण्डारण छिमेकी मुलुक भारतको तिकुनीयाँमा हुने गर्थ्यो। त्यहीबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवशायीले भारतमा बिक्री गर्थे।
तत्कालीन समयमा चामल उत्पादनका लागि कैलालीको पूर्वी क्षेत्र निकै चर्चामा थियो। जिल्लाका प्राय: सबै किसानले धान बिक्रीका लागि यस क्षेत्रलाई नै रोज्थे। जिल्लाभरको धान खरिद गर्न पाएपछि चामल उद्योग निकै तीव्र र गतिमा चलेका थिए।
ठुला चामल उद्योग मध्ये अहिले एउटा मात्रै मौरानीया चामल उद्योग सञ्चालनमा छ। आफ्ना बुबाले स्थापना गरेको यो चामल उद्योग छोरा नारायण गोयलले जसोतसो चलाइरहेका छन्।
साविक नारायणपुर गाविसमा रहेका मख्खन बाबु भनेर चिनिने बिरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योग हुन्। एउटा उद्योगमा १ घण्टामा २० क्विन्टल चामल उत्पादन हुने गर्थ्यो।
२०४६ को राजनीतिक परिवर्तनपछि उत्पन्न घटनाक्रमले ठूला चामल उद्योगहरु बन्द हुन थाले। दुर्गा राइस मिल २०४६ कै आसपासमा बन्द भयो। २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए। त्यही आसपासमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो। उद्योग बन्द भएसँगै सबै व्यवशायीहरू विस्थापित भए।
प्रकाशित: २५ फाल्गुन २०८१ १२:५७ आइतबार





