पर्यटनको राजधानी पोखराको पर्यटनको प्रमुख गन्तव्य मध्यको एक सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयास थालिएको छ । प्राकृतिक छटाहरुको दृश्यावलोकनमार्फत नै पोखरा आउने पर्यटकको पहिलो रोजाईमा पर्दै आएको सराङकोटलाई थप गुल्जार बनाउने उद्धेश्यले त्यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न लागिएको हो ।
सूर्योदय र सूर्यास्त अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित सराङकोट प्राकृतिक छटा, माछापुच्छ्रे हिमालदेखि अन्नपूर्ण हिमश्रृंखला, फेवाताल र पोखरा बजार दृश्यावलोकनका लागि पनि उत्कृष्ट गन्तव्य हो । जसका लागि दैनिक सयौं पर्यटकहरु विहान झिसमिसेदेखि बेलुका गोधुली साँझमात्र होईन राति बास बस्नेहरु पनि प्रसस्तै हुन्छन् । अझ पर्यटनको उच्च सिजनमा सूर्योदय हेर्नका लागि विहान ४ बजेदेखि नै सराङकोटमा घुईंचो लाग्ने गर्छ । पोखरा आउने पर्यटक सराङकोट नपुगेका बिरलै होलान् । अझ प्याराग्लाईडिङको टेकअफ रहेको सराङकोट साहसिक पर्यटनका लागिपनि प्रमुख गन्तव्य हो । उसो त अन्नपूर्ण केबलकार थपिएपछि आवतजावतमा सहजता प्रदान गर्नुका साथै आकर्षणपनि थपिएको छ ।

यहि प्राकृतिक छटा, हिमश्रृंखला र तालको दृश्यावलोकनमार्फत ब्राण्ड बनेको सराङकोटलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने प्रयास स्वरुप अहिले धमाधम भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । जहाँ हालसम्म कैलाशेश्वर शिव मन्दिर, विशाल पञ्चमुखी गणेश मुर्ति, १०८ शिव लिङ्ग, १०८ नै धारा, भ्यू टावर, भैरव र भुमे कालिका मन्दिर निर्माण गरिएका छन् । केहि निर्माणको क्रममा रहेको र आकाशे पुललगायतका पूर्वाधार भने निर्माण गर्न बाँकी रहेको अध्यक्ष जिसीले बताए । यसका लागि ३५ करोड लाग्ने उनको अनुमान छ । निर्माण भइसकेका मन्दिर र मूर्तिको यहि फागुन १४ गते महायज्ञको शुभारम्भको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।
अन्नपूर्ण केबुलकारले बनाईदिएको विशाल पञ्चमुखी गणेश मूर्ति ५१ फुटको रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । यो मूर्ति नेपालकै सबैभन्दा ठूलो हो,उनले भने, 'भारतमा पनि एकमात्र ठाउँमा छ भन्ने सुनिएको छ । यसमा पूजा गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।’
उसो त १०८ शिवलिंग र १०८ धारा निर्माण गरिएको छ । योसँगै अब मुक्तिनाथ गएर १०८ धारामा नुहाउने र १०८ शिव लिंगमा पूजा गर्ने बाध्यता हट्ने विश्वास समितिको छ ।
पर्यटकीय दृष्टिकोणले मात्र होईन, धार्मिक दृष्टिकोणलेपनि सराङकोट पहिलेदेखि नै परिचित रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । उनका अनुसार कुलमण्डन शाहको पालादेखि नै भुमेकालिका मन्दिर थियो । 'त्यसताका नै भुमेकालिकामा पूजा गरिन्थ्यो, कुनैपनि कामको सुरुवात होस् वा पाकेको बाली त्यहाँ नचढाई नखाने चलन थियो,उनले भने, 'अहिले त्यहि मन्दिरलाई जिर्णोद्धार गरेर आकर्षक बनाइएको छ ।
सराङकोटमा पहिलेदेखि नै शिवको विशाल मूर्ति बनाउने तयारी गरिएको थियो । तर आर्थिक अभावका कारण ढिलासुस्ती हुँदा पोखरा–२२ पुम्दीकोटले पहिले बनायो । जसका कारण त्यो योजना थाँती राखेर सराङकोट धार्मिक क्षेत्र विकास समिति र पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिरलगायतका मन्दिरतर्फ मोडियो । समितिका अध्यक्ष जिसी भन्छन्, 'तत्कालीन अध्यक्ष लोकबहादुर थापाले सपनामा भगवान प्रकट भई शिवको मूर्ती राख्नु भन्नु भएको छ । त्यो काम गरौं भन्नुभयो, हामीले पनि हुन्छ भनेर महायज्ञ गरियो तर सोंचेजती अर्थ संकलन नभएपछि त्यो काम त्यत्तिमै थाती रह्यो ।’

तर अहिले त्यो सपना पूरा गर्न आफूहरु लागेको उनले बताए । तर अहिलेपनि पैसा भएर काम गर्न नलागेको उनको भनाई छ । हामीसँग पैसा भएर यत्रो काम आँटेका होईनौं,उनले भने,'सबैको सहयोग र साथ पाईन्छ भन्ने आशले हो ।’ उनले आवश्यक रकम जुटाउन यहि फागुन १४ गतेदेखि २७ गतेसम्म महायज्ञ गरिन लागेको बताए । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने अध्यक्ष जिसीले जानकारी दिए । महायज्ञमा आउने, जानेलाई अन्नपूर्ण केबुलकारमा निःशुल्क यात्रा गराईने उनले बताए । 'त्यसका लागि सम्झौता भइसकेको छ,’ उनले भने ।
पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट अब धामको रुपमा विकास हुने बताए । 'सराङकोट विवाह, ब्रतबन्धलगायत गर्ने गन्तव्यको रुपमा विकास हुन्छ’–उनले भने ।
प्रकाशित: १२ फाल्गुन २०८१ २०:१६ सोमबार





