१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:७ अपराह्न
अर्थ

पोखराका व्यावसायी भन्छन्ः बुकिङ अनुसार पाहुना आए आगामि सिजनले राहत दिनेछ

<br>

मार्च देखि जुनसम्मको समयलाई पर्यटन व्यवासायीले विदेशी पर्यटक भित्रिने सिजन मान्छन्। व्यावसायीका अनुसार वर्षको पहिलो सिजन मानिने यो समयमा पदयात्राका लागि विदेशी पर्यटक नेपाल आउँछन्। पाहुना आउने सिजन भएकोले व्यावसायीले यसलाई उत्तिकै महत्व पनि दिन्छन्। चारमहिनाको यो अवधिलाई व्यावसायीले लामो सिजन पनि मान्छन्।  

अघिल्लो सिजन (सेप्टेम्बर–नोभेम्बर) मा पाहुनाको आगमन नहुँदा व्यावसायी निरास थिए। तर, वर्षको पहिलो सिजनको मुखैमा रहेका व्यावसायी आगामि सिजनमा अघिल्लो पटकको तुलनामा बढी संख्यामा विदेशी पर्यटक भित्रिनेमा आशावादी छन्। अघिल्लो सिजनको तुलनामा आगामि सिजनमा पाहुना आगमन बढ्ने संकेत पाएको व्यावसायीले बताएका छन्। उनीहरुका अनुसार आगामि सिजनका लागि पर्यटकको बुकिङ आउन थालेको छ भने पाहुनाको सोधपुछ पनि बढेकै छ।  

‘हामी पर्यटकीय सिजनको मुखैमा छौ। अबको १० दिनपछि पाहुना भित्रिने मुख्य सिजन सुरु हुनेछ। सिजनको बुकिङ आउन थालेको पनि छ। पाहुनाको सोधपुछ पनि उत्तिकै छ,’ सेदीमा संचालित दोर्जेज रिसोर्ट एण्ड स्पाका संचालक दोर्जे लामाले भने, ‘पर्यटन क्षेत्र अघिल्लो सिजनमा केही सुस्तायो। विभिन्न घटनाक्रमले पर्यटन क्षेत्रलाई अघिल्लो सिजनमा उत्तिसारो लाभ मिलेन। तर, आगामि सिजनमा भने केही सुधार हुने अपेक्षा छ।’

उनका अनुसार मार्च महिनाका लागि बुकिङ पनि राम्रो आईसकेको छ। ‘मार्चको बुकिङ ४० प्रतिशत पुगेको छ । सिजन सुरु हुन अझै १० दिन बाँकी छ। यो अवधिमा बुकिङ अझ बढी थपिने अपेक्षा छ,’ लामाले भने, ‘अघिल्लो पटक भन्दा राम्रो हुने संकेत छ।’ कोरोना भाइरस संक्रमणपछि ओरालो लागेको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किने अवस्थामा रहेको उनले सुनाए। ‘कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा अरु मुलुकले फड्को मारिसके। तर, हामी अझै पनि कोरोना अघिको अवस्थामा फर्किसकेका छैनौ,’ उनले भने, ‘तर, कोरोना अघिको अवस्थाको निकै नै नजिक पुगिसकेका छौ।’

लामाका अनुसार बाली, क्याम्बोडिया, थाइल्याण्ड लगायतका मुलुकले कोरोनाको असरलाई शुन्यमा झारेर पर्यटक आगमन कोरोना अघिकै अवस्थामा फर्काइसकेका छन्। तर, नेपाल अझै पनि पहिलैकै अवस्थामा फर्केको छैन, तर, सतप्रतिशत रिकभरको निकै नै निकट रहेको छ।

‘राज्यको अपनत्व नहुँदा पर्यटनले लिनुपर्ने उपयुक्त गति लिन नसकेको हो, ‘नीतिगत रुपमा केही सुधार गर्ने हो भने पर्यटक आगमन बढाउन कुनै सकस छैन,’ उनले भने। व्यावसायीका अनुसार नेपालमा विदेशी पर्यटक भित्र्याउनका लागि सबैभन्दा बढी बाधक नेपालसम्मको हवाई भाडा छ। हवाई भाडा महंगो हुँदा पर्यटक चाहेर पनि नेपाल आउन सकेको छैनन।  

‘नेपालसम्मको हवाई भाडा साह्रै नै महंगो भयो। हवाई भाडाको हिसाबले नेपाललाई सस्तो गन्तव्य बनाउनुपर्छ। नेपाल भित्रिएपछि पर्यटकले खर्च गर्ने कुरा आफ्नै ठाउँमा रहन्छ,’ उनले भने, ‘नेपालसम्मको हवाई भाडामा नियन्त्रण गर्ने हो भने पाहुना भित्रिन्छन। त्यसले पर्यटनलाई पनि राहत मिल्छ।’ 

हवाई भाडा सस्तो बनाएपछि भित्रिएका पाहुनासँग पर्याप्त रकम लिनेगरि प्याकेज दिने हो भने त्यसले पर्यटन क्षेत्र माथि उठ्ने उनले बताए। ‘महंगो हवाई भाडाका कारण आउजाउ नै महंगो बन्यो । त्यसले गर्दा पर्यटक केही हच्चेका पनि छन,’ उनले भने।  

अर्का होटल व्यावसायी ओम पाण्डेका अनुसार आगामि सिजनका लागि भारतीय पाहुनाको सोधपुछ निकै नै उत्साहजनक छ। तर, अपेक्षाकृत चिनियाँ पाहुनाको आगमन हुन नसकेको उनले बताए। पोखरा, चितवन, काठमाडौं र भैरहवामा समेत ल्याण्डमार्क होटल संचालन गरिरहेका पाण्डेले भने, ‘सिजनको मुखमा छौ, भारतीय पाहुनाको सोधपुछ निकै नै बढी छ। अरु तेश्रो मुलुकका पाहुनाको सोधपुछ र बुकिङ उत्तिसारो छैन, तर, पाहुना भित्रिनेमा आशावादी छौ,’ उनले भने, ‘भारतीय पाहुनाबाट हामी बढी नै आशावादी छौं।’  

पाण्डेका अनुसार मार्च महिनाको आगमन कम्तिमा ६० प्रतिशत हुने अपेक्षा छ। त्यो आकारमा अकुपेन्सी नपुगेको खण्डमा व्यावसाय धान्नै मुस्किल हुने उनले बताए। ‘भारतीय पर्यटकको बुकिङले उत्साही त छौ। तर, भारतीय पाहुना सानातिना घटनाक्रमबाट पनि प्रभावित हुन्छन। त्यही भएर बुकिङ भए अनुसार पाहुना आउँछन नै भन्न पनि सकिन्न। अबका केहीदिन कुनै घटनाक्रम विकसित नभए आगामि सिजनमा भारतीय पाहुनाको आगमन थपिनेछ,’ उनले भने, ‘हामीले अपेक्षा गरेजस्तो चिनियाँ पाहुनाको आगमन भने उत्तिसारो हुनसकेन।’ चीनमा नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा चिनियाँ पाहुनाको आगमन बढ्ने अपेक्षा गरेको भएपनि त्यो आगमन नबढेको उनले बताए।  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि मार्चदेखि सुरु हुने पर्यटकीय सिजनका लागि सकारात्मक संकेत मिलेको बताउँछन्। ‘अब १० दिनपछि वर्षको लामो र मुख्य पर्यटकीय सिजन सुरु हुँदैछ। अघिल्लो सिजनमा उत्तिसारो प्रभावकारी हुन सकेको थिएन। तर, यो पटकको सिजनसँग हामी बढी आशावादी बनेका छौं,’ शर्माले भने, ‘पाहुनाले देखाएको चाँसो, सिजन सुरुवात हुने बेलामा आएको केही बुकिङले व्यावासायीलाई उत्साही बनाएको छ।’ अघिल्लो सिजनको मुखमा नेपालमा घटेको प्राकृतिक घटना, विमानस्थलको अवरोधले पर्यटक आगमन प्रभावित भएको व्यावसायीले बताउँदै आएका छन्।

उनका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि यो मार्चको आगमन ७० प्रतिशत हाराहारीमा पुग्ने गरेको थियो। तर, यो पटक मार्चमा बढीमा ६० प्रतिशत अकुपेन्सी पुग्न सक्ने आँकलन रहेको शर्माले बताए। ‘अहिले सिजन सुरु हुनु आगावै बुकिङ पनि थपिन थालेको छ। आगामि सिजनसँग व्यावसायीले बढी अपेक्षा गरेका छन, त्यस्तै संकेत पनि मिलेको छ,’ उनले भने, ‘अबको चारमहिनाको सिजनले व्यावसायीलाई केही राहत पक्कै दिनेछ।’  

उनका अनुसार भारतीय र चिनियाँ पाहुनाको आगमन बढ्ने अपेक्षा व्यावसायीको छ। ‘यतिबेलाको पाहुनाको अकुपेन्सी त निकै नै कम छ। २५ प्रतिशत हाराहारीमा यतिबेला होटलको अकुपेन्सी भएपनि अबको केहीदिनपछि त्यो आकार बढ्नेमा आफुहरु आशावादी रहेको शर्माले बताए।  

‘चार महिनाको यो अवधिले व्यावसायमा केही फरक पार्छ। चार महिनाको लामो सिजनले पर्यटन क्षेत्रमा केही चहलपहल थपिनेछ,’ उनले भने, ‘अघिल्लो सिजनमा प्राकृतिक प्रकोपका कारण पर्यटन क्षेत्र सुस्ताउन पुगेकोमा अहिले भने त्यस्तो अवरोध नरहेकोले पाहुना आउनेमा आशावादी छौं।’

प्रकाशित: ८ फाल्गुन २०८१ १७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App