लुम्बिनी प्रदेशमा पछिल्लो ६ महिना झण्डै २ हजार नयाँ उद्योग दर्ता भएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार पछिल्लो ६ महिना (गत साउनदेखि पुस मसान्तसम्म) मा १ हजार ७४२ उद्योग दर्ता भएका हुन् । यसैगरी यो अवधिमा २ हजार १ सय ८० वाणिज्य फर्म दर्ता भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार उद्योगतर्फ ५ हजार ५१ उद्योग नविकरण गरिएका छन् भने वाणिज्यतर्फ ५ हजार ४ सय २७ फर्म नविकरण भएका छन् । उद्योगतर्फ १ हजार २९ उद्योग बन्द भएका छन् भने वाणिज्यतर्फ १ हजार ५७ फर्म खारेज भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबै भन्दा बढी उद्योग दर्ता भएका छन् । यो जिल्लामा ४५२ उद्योग दर्ता भएका छन् भने ६४५ वाणिज्य फर्म खुलेका छन् । रुपन्देहीमा १६८ उद्योग खारेज भएका छन् भने ३२ वाणिज्य फर्म बन्द भएका छन् ।
यसैगरी बाँकेमा ३६८ उद्योग र ४१० वाणिज्य फर्म नयाँ खुलेका छन् । यो जिल्लामा १ सय ८ उद्योग र २ सय ३८ वाणिज्य फर्म खारेज भएका छन् । नवलपरासी पश्चिममा १ सय ८० उद्योग र २ सय २८ वाणिज्य फर्म दर्ता भएका छन् भने ७४ उद्योग र ६२ वाणिज्य फर्म बन्द भएका छन् । कपिलवस्तुमा १ सय ९० उद्योग र २ सय २५ वाणिज्य फर्म खुलेका छन् । यो जिल्लामा ९२ उद्योग र ६२ वाणिज्य फर्म बन्द भएका छन् ।
दाङमा पछिल्लो ६ महिनामा २ सय ३० उद्योग र ३ सय २५ वाणिज्य फर्म दर्ता भएका छन् भने १ सय ४१ उद्योग बन्द भएका छन् । यसैगरि २ सय १ वाणिज्य फर्म खारेज भएका छन् । यस्तै बर्दियामा १ सय ४० उद्योग र १ सय ४५ वाणिज्य फर्म दर्ता भएका छन् भने ९४ उद्योग र ८४ वाणिज्य फर्म खारेज भएका छन् । पाल्पामा ४४ उद्योग र ५१ वाणिज्य फर्म थपिएका छन् भने १ सय १४ उद्योग र १ सय २७ वाणिज्य फर्म खारेज भएका छन् ।
यसैगरी गुल्मीमा २३ उद्योग र ३६ नयाँ वाणिज्य फर्म थपिएका छन् भने १ सय ६० उद्योग र १ सय ८७ वाणिज्य फर्म बन्द भएका छन् । अर्घाखाँचीमा ४१ उद्योग र २१ वाणिज्य फर्म थपिएका छन् भने ६ उद्योग र ५ वाणिज्य फर्म बन्द भएका छन् । प्यूठानमा १२ उद्योग र ३३ वाणिज्य फर्म दर्ता भएका छन् भने ३२ उद्योग र १८ वाणिज्य फर्म बन्द भएका छन् । रोल्पामा ३८ उद्योग र ३३ वाणिज्य फर्म दर्ता भएका छन् भने ३२ उद्योग र ३६ वाणिज्य फर्म खारेज भएका छन् । रुकुम पूर्वमा २४ उद्योग र २८ वाणिज्य फर्म थपिएका छन् भने ८ उद्योग र ५ वाणिज्य फर्म खारेज भएका छन् । यो अवधिमा उद्योगतर्फ २ हजार ७२ र वाणिज्य फर्म तर्फ २ हजार १ सय ७८ शंशोधन भएका छन् । शंशोधन उद्योगहरुको नाम, सेवा विस्तार, स्थान परिवर्तन लगाएतका लागि गर्ने गरिन्छ ।
मन्त्रालयले पछिल्लो ६ महिनामा दर्ता भएको उद्योगको संख्यालाई सकारात्मक रुपमा लिन सकिने बताएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले हालसम्मको उद्योग दर्ता संख्यालाई राम्रो राम्रो मान्न सकिने बताए । ‘अहिले प्रदेशमा देखिएको उद्योग दर्ताको आँकडालाई राम्रो मान्न सकिन्छ,’ मन्त्री न्यौपानेले भने ‘तर यो संख्या बढाउनु पर्छ, यसका लागि मन्त्रालयले प्रोत्साहनका कार्यक्रमहरु ल्याइरहेको छ ।’ उनका अनुसार मन्त्रालयले नयाँ उद्योग दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । नयाँ उद्योगीहरुलाई राहत दिनका लागि छुटको व्यवस्था गरिएको उनको भनाई छ । ‘नयाँ उद्योग दर्तामा लाग्ने शूल्कमा ५० प्रतिसत छुटको व्यवस्था गरेका छौँ, यो व्यवस्था पछि नयाँ उद्योगीहरुलाई उद्योग दर्तामा धेरै राहत भएको छ,’ मन्त्री न्यौपानेले भने ।
यसैगरि हालसम्म नविकरण नभएका उद्योगहरु दर्ता गर्नका लागि आगामी चैत मसान्तसम्मको अवधि दिइएको छ । यो व्यवस्था पछि हाल सम्म नविकरण नगरेर बसेका उद्यमीहरु धमाधम नविकरणका लागि आउने गरेको तथ्यांक जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयहरुले मन्त्रालयमा पेश गरेका छन् ।
प्रकाशित: २८ माघ २०८१ १६:१८ सोमबार