१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml
अर्थ

श्रम स्वीकृति लिनेको लर्कोः ६ महिनामा झन्डै चार लाखले छाडे देश

श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरैः धनुषा, गन्तव्य मुलुकः युएई

देशले रोजगारी सिर्जना गर्न नसकेका कारण वर्षेनि लाखौं युवा बिदेसिन बाध्य छन् । नेपाली युवाका निम्ति वैदेशिक रोजगारी रहर होइन वाध्यत भइसकेको छ ।  

चालु आर्थिक वर्ष २०८१/८२ को (साउन देखि पुस) पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले  रोजगारीका लागि विभिन्न देश जान श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या सबै भन्दा धेरै मंसिरमा र कम असोजमा रहेको छ । नेपालको प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ । वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए भने यो संख्या घटेर पुसमा ६७ हजार पुगेको छ ।  

२०८१ साउनदेखि पुस मसान्तसम्ममा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । पुसमा बाहिरिने मध्ये ६० हजार १५३ जना पुरुष रहेका छन् भने ७ हजार १०५ जना महिला बाहिरिएका छन् ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ५२ हजार ७३७ जना बढीले श्रम स्वीकृति लिएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए ।  

चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) जान श्रम स्वीकृति लिएका छन् । चालु आवको साउन देखि पुससम्ममा मात्रै युएईका लागि १ लाख २२ हजार ८२९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले जनाएको छ ।

युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको गणना तथ्यांकमा छैन । दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ । अहिलेको सन्दर्भमा महिला र पुरुष दुवैको रोजाइ युएई भएको विभागका अधिकारीहरूले बताएका छन् ।  

यस्तै, युएईपछि सबैभन्दा धेरै साउदी अरेबियाको लागि श्रम स्वीकृति लिएका छन् । साउदी अरेबियाको लागि ६ महिनामा ७८ हजार ४६८ र कतारको लागि ७० हजार ३०२ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको छ ।

श्रम बजारमा आप्रवासी श्रमिक संख्या बढी भएको भन्दै मलेसियाले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको थियो । त्यसैले मलेसिया जाने नेपालीको संख्यामा कमी आएको हो । ६ महिनामा मलेसियाका लागि १४ हजार ५७२ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जान सबैभन्दा धेरै कात्तिक र मंसिरमा श्रम स्वीकृति लिएका छन् । नयाँभन्दा पनि बिदामा आएर पुनः वैदेशिक रोजगारीमा जाने धेरै भएकाले विगतको तुलनामा संख्या बढेको उनले बताए । विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ । एक पटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोजेको सुवेदीले बताए ।  

सुवेदीका अनुसार युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्न पुगेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको सुवेदी बताए ।  

‘नेपालीको विशेष चाड मनाएर फर्किने नेपाली धेरै भएकाले श्रमिकको संख्या कात्तिक र मंसिरमा उच्च भएको हो,’ उनले नागरिकसँग भने, ‘वैदेशिक रोजगारीको ३० वर्षको इतिहासमा अघिल्लो र गत आवमा सबैभन्दा बढी युवा रोजगारी खोज्दै विदेश गएका थिए । तर, गत वर्ष ६ महिनाको संख्या तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने संकेत देखिएको छ ।’

पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपाली जाने गरेको विभागको तथ्यांक छ । साथै नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको सुवेदीले बताए ।  

कुन जिल्लाबाट कति बाहिरिए ?

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या जिल्लागत रूपमा हेर्दा सबै भन्दा धेरै धनुषा र सबै भन्दा कम मनाङ रहेको विभागको तथ्यांकले प्रस्ट्याएको छ । यस अवधिमा सबैभन्दा धेरै धनुषाबाट २० हजार ७०३ जना बाहिरिएका छन् भने सबै भन्दा कम मनाङबाट १२१ जना युवा मात्रै रहेको विभागले जनाएको छ ।  

त्यस्तै धनुषापछि क्रमशः घट्दो क्रममा झापा १८ हजार ४२४, मोरङ १६ हजार ४४२, सिराहा १६ हजार ०९२ र महोत्तरीबाट १४ हजार ४७७ जनाले विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका छन् ।  

केही वर्षदेखि धनुषा एक नम्बरमै छ । त्यस जिल्लाबाटै युवाहरू विभिन्न मुलुकमा रोजगारको खोजी गर्दै बिदेसिएका छन् । वैदेसिक रोजगारीमा जानेको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेका छैनन् ।

विभागका सूचना अधिकारी सुवेदीका अनुसार आर्थिक अवस्था सुधार्न घरपरिवार छाडेर बिदेसिन बाध्य अधिकांश युवा प्रायः मधेसबाट हुने गरेको छ । साथै जनसंख्याको आधारमा पनि तराईमा बढी जनसंख्या भएकाले बिदेसिनेहरू तराईबाट धेरै भएको उनले बताए ।

‘नेपालको जनसंख्या हेर्ने हो भने सबैभन्दा धेरै तराईमा छन्,’ सुवेदीले भने, ‘त्यहींमाथि बेरोजगारी पनि उस्तै छ । पारिवारिक समस्या समाधान गर्न, बालबालिकालाई पठनपाठन गराउन, परिवारमा आर्थिक पाटो कमजोर भएपछि निम्तिने झैझगडा साम्य पार्न र ऋणको बोझबाट उन्मुक्ति पाउन बिदेसिन बाध्य छन् ।’

वैदेशिक रोजगारीबाट ठगिएको भन्दै विभागमा सबैभन्दा बढी उजुरी मधेसबाट दिने गरेको उनले बताए । ‘मधेसबाट अधिकांश युवा मजदुरी गर्न खाडी मुलुक जाने गरेका छन् । त्यहाँ प्रायः अशिक्षित युवा हुन्छन् । उनीहरूले राम्रो सिपसँगै कामबारे जानकारी पनि त्यस्तो हुँदैन । यस्तोमा कतिपय दलालबाट ठगीको सिकार हुने र पछि ऋणको भारले थिचिनेसमेत गर्छन्,’ सुवेदीले नागरिकसँग भने ।  

पुसमा मात्रै म्यानपावरमार्फत २९ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा महिला दुई हजार ६९८ जना छन् । व्यक्तिगत तवरबाट नयाँ श्रम स्वीकृति १० हजार ८५ जना, जिटुजीमार्फत ६ सय ५४ र २७ हजार २०३ जनाले पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये आव २०७९/८० मा सात लाख ७१ हजार तीन सय २७ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए। आव २०८०/८१ मा भने सात लाख ४१ हजार दुई सय ९७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आव २०७८/७९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६ लाख ३० हजार ९० जना थियो । 

प्रकाशित: १३ माघ २०८१ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App