१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

रुसमा रोल्स रोयसको लोकप्रियता बढ्दै

रुसी सञ्चार माध्यमहरूका अनुसार रुसमा बेलायती कार ‘रोल्स रोयस’को बिक्री तीव्र गतिमा बढिरहेको छ । उम्दा लक्जरी कार निर्माताहरू भने त्यहाँ यो कार बिक्री नहोस् भन्ने चाहिरहेका छन् तर रोक्न सकिरहेका छैनन्।

भ्लादिमिर पुटिनले तीन वर्षअघि युक्रेनमा आक्रमण गरे यता पश्चिमा मुलुकहरूले आफ्ना उत्पादन बिक्री गर्न रोक्ने प्रयास गरिरहेका छन्। कतिपय कम्पनीले रुसमा आफ्नो ब्रान्ड बेचेर बाहिरिए पनि। जब कुरा रोल्स रोयसको आउँछ त्यसबेला यसलाई रोक्ने उपाय निर्माताहरूले फेला पार्न सकिरहेका छैनन्।

रुसमा एउटा ‘नयाँ’ रोल्स रोयस कारको मूल्य सात करोड ५० लाख पर्छ। करिब ७ लाख पाउन्ड ! गएको सेप्टेम्बरमा रुसी समाचार संस्था आरटीका अनुसार सन् २०२४ को नौ महिनामा रोल्स रोयस कारको बिक्री ३९ प्रतिशतले बढेको बताइएको थियो।

सो समाचार देख्ने बित्तिकै बेलायती मिडियाहरूले रोल्स रोयसलाई सोधे, ती कार कसरी रुस पुगे ? जवाफमा रोल्स रोयस मोटर कार्सका प्रमुख कार्यकारी क्रिस ब्राउनरिजले भने, ‘हाम्रा डिलरबाट त त्यहाँ पक्कै पनि गएनन् किनभने हामीले रुसी डिलरलाई ती कार बेचेका छैनौं।’ ती कारहरू तेस्रो पार्टीमार्फत रुस पुगेको अनुमान गरिएको छ।

रोल्स रोयस कारलाई सन् २००३ देखि जर्मन कार निर्माता बिएमडब्लुले आफ्नो स्वामित्वमा लिएको छ। उसले सन् २०२४ मा पाँच हजार सात सय १२ वटा कार बेचेको छ। त्यसो त  सन् २०२३ मा सबैभन्दा बढी कार बेचेर कीर्तिमान नै रचेको भए पनि यो नराम्रो बिक्री थिएन। अति धनीहरूको रोजाइमा पर्ने रोल्स रोयसलाई व्यक्तिको रुचिअनुसार निर्माण गर्ने गरिन्छ तर रुसीहरूलाई पछिल्ला तीन वर्षमा कम्पनीले सिधै बेचेको रेकर्ड भने देखिँदैन।

टाइम्स दैनिक अखबारका अनुसार यी कार तेस्रो मुलुकबाट रुसमा निर्यात गर्ने गरिन्छ। ‘हामीले जुनसुकै देश पठाए पनि त्यो देशको कुन व्यक्तिले कार चलाइरहेको छ, तिनका सबै जानकारी हामीसँग हुन्छन् तर अहिलेसम्म रुसका कुनै ग्राहकको हातमा परेको मेरो जानकारीमा छैन,’ कार्यकारी ब्राउनरिजले भने, ‘तर हाम्रो जानकारीबेगर जसले हाम्रा गाडी कसैलाई बेच्छ भने त्यो गम्भीर मुद्दा हो। हामीले तिनलाई अवश्य पनि सूचीमा राख्छौं।’

रुसका छिमेकी मुलुक आर्मेनिया, अजरबैजान र कजाकस्तानजस्ता देशका धनीमानीले किनेका गाडी त्यहाँबाट रुस छिर्न सक्ने सम्भावना भने उनी स्वीकार गर्छन्।

जब कुनै कार डिलरको हातबाट फुत्केर कुनै तेस्रो वा चौथो व्यक्तिको हातमा पर्छ, त्यसपछि भने त्यो कारका बारेमा कम्पनीले जानकारी राख्दैन। आफ्ना डिलरहरूले कुनै गलत काम गरेको अहिलेसम्म रिपोर्ट नआएका कारण कसले ती कार रुस पु¥यायो भन्ने खोजी नगरेको उनले बताए। कारबाही गर्नुपर्ने अवस्था आए आफूहरूले ती डिलरलाई नछाड्नेसमेत  जानकारी दिए।

प्रकाशित: २९ पुस २०८१ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App