३० वैशाख २०८२ मंगलबार
image/svg+xml
अर्थ

मार्सी धान खरिद प्रक्रिया अगाडि बढाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद प्रक्रिया अगाडि बढाएको छ। प्रथम चरणका खरिदका लागि दुई सय काेटा स्वीकृत भएको छ। चालू आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको प्रस्ताविक वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नेपाल सरकार मन्त्र‍िपरिषद्काे गत असार २० गतेको निर्णयअनुसार मार्सी धान खरिद गर्न लागिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माका अनुसार प्रतिक्वीन्टल १२ हजार रुपैयाँमा मार्सी धानको खरिद प्रक्रिया सुरु गरिएको छ। उनले भने, 'प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा रहेको स्थानीय खरिद समितिले प्रतिकेजी १ सय २० रुपैयाँमा मार्सी धान खरिद गर्न मिल्ने मूल्य तोकेको हो।'

जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग वाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मूल्य समायोजन गरेर धानको मूल्य तोकिएको सूचना अधिकारी लक्ष्मण शर्माले बताए। गत असोज २३ गते नै मार्सी धान खरिद कार्य सञ्चालन गर्न कम्पनीको खरिद विभागले पत्र पठाइसकेको थियो। खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने, नपाइने अन्योलता छ।

'मार्सी धानको खरिद कोटा तोक्नु किसानहरूको हितमा छ,' सूचना अधिकारी शर्माले भने, ‘खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने हो या नपाइने हो भन्ने चिन्ताको विषय बनेको छ।’ खरिद विभागको मापदण्ड अनुसारको धान खरिदका लागि पहिलो चरणमा प्राविधिक टोली खटिएको छ। टोलीको प्रतिवेदनका आधारमा किसानहरू घरदैलोमा पुगेर धान खरिदको काम अघि बढ्नेछ। मार्सी धान घरमै बेच्न पाइने भन्दै किसान खुसी भएका छन्।

प्रतिकेजी मार्सी चामल एक सय ७० रुपैयाँमा बेच्दै आएका किसानहरू धान बेच्न पाउँदा निकै उत्साहित देखिन्छन्। खरिद विभागले मार्सी धान खरिदको लागि १८ प्रतिशत चिस्यान हुनुपर्ने, बाह्य पदार्थ २ प्रतिशतभन्दा बढी मिसिएको हुन नहुने, ५ प्रतिशतभन्दा बढी बिग्रेको दाना भेटिन नहुने र ८ प्रतिशतभन्दा बढी मिश्रण हुन नहुने गरेर मापदण्ड तोकेको छ।

धान जिउँदो किरारहित, एकहन सफा, ढुसी नपरेका, कुनै अवाञ्छित गन्ध नभएको मानव उपयोगको लागि योग्य हुनुपर्ने छ। 'अहिलेसम्म त्यो मार्सी धानमा भेटाएनौं,' उनले भने, ‘अहिले खरिद गर्ने कि नगर्ने अलमलमा छौं। प्राविधिक टोली गाउँमा परिचालन भएको छ।’

रोडा, ढुंगा, माटो, बालुवा तथा जैविक वस्तु मिसावट हुन नहुने मापदण्डमा उल्लेख गरिएको छ। 'जहाँ-जहाँ मार्सी धानको खेती हुन्छ, त्यहीबाट धान खरिद गर्ने तयारी छ। मार्सी धान खरिदको लागि जुम्लाका आठ वटै स्थानीय तहमा परिपत्र भइसकेको छ। यता जुम्लाको सिंजा गाउँपालिकामा खरिद सम्झौता समेत भइसकेको छ,' शर्माले भने, ‘सिंजाले मापदण्ड अनुसारको धान दिन सकेन। हामीले धान उठाउन सकेनौं। न अहिले सम्झौता रद्ध भएको छ नत कार्यन्वयन नै भएको छ।’

एक क्वीन्टल धान खरिद गर्दा ६५ केजी चामल आउनुपर्ने हुन्छ। तर, मार्सी धानको गुणस्तरका आधारमा खरिद गर्ने र मार्सी चामलको प्रोत्साहनमा जोड दिनुपर्ने देखिन्छ। पछिल्लो समयमा मार्सी धानमा मरुवा रोगको प्रकोप बढ्न थालेपछि उत्पादनमा गिरावट आएको छ।

जुम्लामा कूल २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेकोमा १ हजार २ सय हेक्टरमा मात्र मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ। धानमा झारनाशक विषादीको प्रयोग गर्नेदेखि बिउँ पुरानो भएकोले गुणस्तरको मार्सी धान उत्पादन हुन नसकेको कृषि विज्ञहरू बताउँछन्।

'मार्सी धानको बजारीकरण र प्रवर्द्धनको लागि कम्पनीले कोटा तोकेर खरिद गर्न थालेको छ,' शर्माले भने, ‘किसानले पनि त्यही अनुसारको मार्सी धान उपलब्ध गराउन सक्नु पर्‍यो।’ खरिद विभागको मापदण्ड अनुसारको मार्सी धान नभेटिए खरिद गर्न नसकिने कम्पनीको जुम्लाले जनाएको छ।

प्रकाशित: २६ पुस २०८१ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App