१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णाली डेभलपमेन्ट बैंक: ४० हजारभन्दा बढी बचतकर्ताको साढे पाँच अर्ब रकम जोखिममा

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय अगाडि सुरक्षा दिइरहेका सुरक्षाकर्मी । तस्विरः गणेश/नागरिक

गाउँमा रोजगारी नपाएपछि घर परिवार चलाउनलाई राप्तीसोनारी–४, गौरी गाउँका सुरेश चौधरी साउदीमा मजदुरी काम गर्छन्। मासिक रुपमा पारिश्रमिक पाएपछि उनले गाउँ नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको बैजापुर शाखामा पैसा पटाउँथे। उनकी श्रीमती निर्मला थारुले श्रीमान्ले पठाएको पैसा बुझ्थिन् र घरपरिवार चलाउँथिन्। पछिल्लो पटक सुरेशले ८६ हजार सात सय रुपैयाँ पठाए तर, पटक पटक निर्मलाले बैंक धाउँदा पनि पैसा पाउन सकेकी छैनन्।

सुरुमा निर्मला बैंकमा पैसा लिन जाँदा कर्मचारीले सिस्टम नचलेको भन्दै रित्तो हात घर पठाए। दोस्रो दिन फोन नम्बर लिनु फोन गरेर मात्रै आउनु भनेर पठाए। अर्को दिन फोन गर्दा शाखामा सिस्टम नचलेको र नेपालगन्जमा रहेको केन्द्रीय कार्यालयमा गएर पैसा लिनु भने । बिहीबार सोहीअनुसार निर्मला नेपालगन्ज पुगिन्। तर, बैंकको गेटमा ताला लागेको थियो । गेटभित्र सुरक्षाकर्मी र बैंकका सुरक्षा गार्ड थिए। कार्यालयमा कर्मचारी थिए। कार्यालय बाहिर भने उनी जस्तै कयौँ व्यक्ति रकम निकाल्न गेटमा झुम्म परेका थिए।

बैंकका सुरक्षा गार्डले कसैलाई पनि भित्र जानै दिएनन्। गेटको छेउमा टाँसिएको सूचना पढ्नु र कारोबारका लागि आइतबार आउनु होला भन्दै फर्काएका थिए। उक्त बैंक समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिई गठित व्यवस्थापन समूहले कार्य प्रारम्भ गरेकाले निक्षेप भुक्तानीको कार्य स्थगित रहेको सूचना बैंकले टाँस गरेको छ। कहिलेसम्म कारोबार स्थगित हुन्छ र आफ्नो बचत रकम फिर्ता हुन्छ भन्ने बचतकर्ता अन्योलमा छन्।

‘गाउँमा रोजगारी नपाएपछि विदेशमा गएर श्रीमान्ले पसिना बगाइराख्नू भएको छ,’ निर्मलाले भनिन्, ‘विदेशी भूमिमा बगाएको पसिनाको मूल्यसमेत यहाँकाले ठगेर खाने थाले ।’ गरिबीले गर्दा विदेशिएका सुरेशको जस्तै नियति नेपालगन्ज–१५ जमुनाहका अब्दुल सलाम कबडियाले पनि भोग्नु प¥यो । घर खर्च चलाउन पठाएको पैसा उनका बुला अब्दुल हमिद कबडियाले प्राप्त गर्न सकेनन् । उनी छोराले पठाएको पैसाबाट छोरीको विवाह खर्चका लागि पैसा निकाल्न बिहीबार बैंक पुग्दा निर्मलाको जस्तै नियति भोग्नु प¥यो । ‘समस्या परेर त मान्छे भएको पैसा निकाल्न बैंक पुग्छ,’ उनी भन्छन्, ‘भरोसा र विश्वासले जम्मा गरेर पठाएको पैसा र दुःख गरेर यही जम्मा गरेको पैसा बैंकले जोखिम पार्न मिल्छ?’

पटक पटक बैंकमा पैसा निकासीका लागि गए पनि नपाएको राप्तीसोनारी–४, गौरी गाउँकी मिना विकले बताइन्। उनका छोरा रोजगारीका लागि भारतको बेंगलोर छन्। घरमा लागेको ऋण तिर्नलाई उनी त्यहाँ पुगेका थिए । ऋण तिर्नलाई पठाएको ३३ हजार ६ सय रुपैयाँ निकाल्न मिनालाई सकस भएको छ । बैंक नै समस्याग्रस्त भएपछि उनको पैसा पनि जोखिममा परेको छ ।

उनीहरूसँगै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा सयौँ बचतकर्ताको ठूलो बचत रकम जोखिममा परेको छ । 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा करिब ४० देखि ५० हजार बचतकर्ताहरू छन् । जसको करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत रहेको व्यवस्थापन समूहका संयोजक राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाले बताए । उनका अनुसार यस बैंकको झन्डै साढे तीन अर्ब बराबर कर्जा छ । उक्त समूहले बिहीबारदेखिनै कामकाज सुरु गरेको छ । बिहीबार यस बैंकका शाखा कार्यालय र केन्द्रीय कार्यालयको स्थलगत अनुगमन भएको छ । अन्य बैंक र स्थानीय बैंकसँग समेत छलफल हुने उनी बताउँछन् । ‘हामीलाई दिएको जिम्मेवारीअनुसार बिहीबारदेखिनै स्थलगत अध्ययन सुरु गरेका छौँ,’ उनले भने, ‘विश्वास गरौँ हामी भरोसा दिलाउँछौँ ।’

उक्त बैंकको खराब कर्जा नियन्त्रणबाहिर गएको र शंकास्पद कारोबार गरेको भन्दै नेपाल राष्ट्र बैंक सञ्चालक समितिले बुधबार समस्याग्रस्त घोषणा गरेको थियो । आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेपको दायित्व पूरा गर्न नसकेको, न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । जसबाट बचतकर्ताको रकम जोखिममा परेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त यस बैंकका बाँके, बर्दिया र दाङ जिल्लामा शाखा कार्यालयहरू छन् । यसको केन्द्रीय कार्यालय नेपालगन्जमा छ ।

यस विषयमा बैंकको तर्फबाट धारणा लिन नागरिककर्मी केन्द्रीय कार्यालयमा पुग्दा सञ्चालक, व्यवस्थापक र कर्मचारीले भेट्न मानेका थिएनन् । पटक पटक आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर समय माग गर्दा समेत उनीहरुले अहिले राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा हेरेकाले आफूहरूले प्रतिक्रिया दिन नमिल्ने भन्दै प्रतिक्रिया दिनबाट पन्छिएका छन् ।

प्रकाशित: ११ पुस २०८१ १८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App