कटारी नगरपालिकाका दुईवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुने भएको छ। प्रदेश सरकारको लगानीमा कटारी ४ स्थित मरुवा खोला र ५ को तावा खोलामा पक्की पुल बनाउन लागिएको हो।
मरुवा खोला कटारी ४ को जहडी-तित्रीबोट जोड्ने नगरपालिकाकै सबैभन्दा पुरानो सडक खण्डमा पर्ने खोला हो। त्यहाँ पुल निर्माण गर्न प्रदेश सरकारले ११ करोड लाग्ने डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको छ। सो सडक खण्डमा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयलाई आउजाउ गर्न प्रायः ठप्प हुने गरेको छ। चुरे जङ्गल शीर रहेको खोलामा सामान्य वर्षा हुँदा पनि बाढी उर्लने हुँदा घाँसदाउरा र विद्यालय आउजाउ गर्नसम्म स्थानीयलाई कठिनाइ हुँदै आएको छ।
त्यस्तै ५ नं. वडाको तीनतलेदेखि ६ नं. को चुहाडबीचको तावा खोलामा पुल बनाउन १७ करोड चाहिने डिपिआर तय भएको प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। पुल निर्माण र रेखदेख तथा सुपरीवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालय उदयपुरले गर्ने गरी दुवै खोलामा यसै वर्ष काम थाल्न लागेको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख (डिई) ललितकुमार चौधरीका अनुसार मरुवा र तावा दुवै खोलामा पुल बनाउन प्राविधिक र कानुनी प्रक्रिया चलिरहेको छ। प्रदेश सरकारले पहिला नै पुलको डिपिआर तयार गरी लागत इस्टीमेटसमेत बनाइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) सकेर प्रतिवेदन तयार गर्ने क्रम चलिरहेको डिई चौधरीले बताएका छन्। प्रतिवेदन स्वीकृत भएपछि टेण्डरको प्रक्रिया अघि बढाएर निर्माण कार्यको थाली हुने उनको भनाइ छ।
सो क्षेत्रबाट प्रदेशसभामा निर्वाचित तथा पूर्व उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले दुवै पुल बनाउन आवश्यक बजेट व्यवस्था गरेको बताएका छन्। नगरपालिका भएर पनि कटारीको सबैभन्दा पुरानो नाका सडकमै पुल नहुँदा हरेक वर्षायाममा स्थानीयलाई कठिनाइ भएकाले यसै वर्ष पुल निर्माण गर्न मन्त्री भएका बेला बजेट तर्जुमा गर्न लगाएको सांसद खत्रीले बताए।
कटारी ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङका अनुसार जहडी–तित्रिबोट–गबुवा खण्डको सडक कटारी बजारदेखि छिमेकी उदयपुरगढी गाउँपालिका हुँदै पहाडी भेग जोड्ने पुरानो नाका सडक हो। बाक्लो आउजाउ हुने सो सडकमा पर्ने मरुवामा पुल अभावमा स्थानीयहरू कोही बिरामी परे एम्बुलेन्ससम्म तर्न नसक्दा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ। त्यस्तै माथिल्लो भेगबाट कटारी आउजाउ गर्ने विद्यार्थी, व्यापारी र सर्वसाधारण उपभोक्तालाई पनि हरेक वर्षायाममा बाढीको कहर खेप्नुपर्ने बाध्यता पुल बनेपछि हट्ने वडाध्यक्ष तामाङले बताए।
त्यसैगरी तीनतले–चुहाड जोड्ने तावा खोलामा पुल नहुँदा कटारी आउजाउ गर्न घुमाउँरो बाटो हिँड्नुपर्ने समस्या छ। त्यहाँ पुल बनेपछि चुहाडावासीलाई नगरपालिका केन्द्र कटारी बजार पुग्न आधाभन्दा बढी छोटो दूरी र समय खर्चँदा हुने कटारी ६ का वडाध्यक्ष प्रेमबहादुर मगरले बताए।
ती दुवै खोलामा पक्की पुल बनाउन स्थानीयले वर्षौँदेखि माग गर्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको गुनासो अब सुन्नु नपर्ने भएको छ। दुवै खोलामा पक्की पुल निर्माण हुने हल्लाले वडावासी खुसी भएका छन्।
प्रकाशित: ११ पुस २०८१ १२:४३ बिहीबार