८ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै

फाइल तस्बिर

हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ। बागमती प्रदेश सरकारको रु चार करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो।

प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको सो सुरुङमार्ग आज औपचारिक रूपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ।

हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन्। सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताए।

सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु एक सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० र पाँच वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक र आपाङ्ता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ।

पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरूका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताए।

मधेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो। सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरू सञ्चालन हुँदै आएको थियो।

जिर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णाेद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो। सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो।  

उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिए।

कुल एक सय ९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात दुई सय २५ मिटरको पुगेको जनाएको छ। रासस 

प्रकाशित: ८ पुस २०८१ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App