७ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरामा दोस्रो ड्रागन बोट फेस्टिवल हुने

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह(आयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना गर्न लागिएको छ।

२०८१ पुस १४ र १५ गते (२९-३० डिसेम्बर २०२४) आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ। २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ।

ड्रागन बाेटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ। चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबिच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको छ।

चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ। चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौँ महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिवल आयोजना हुन्छ।

चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ। यस चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिएको हुन्छ। चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा 'डुआन्यु जीउ' भनिने ड्रागन बोट फेस्टिवल चीनको चार वटा ठूला चाडमध्ये एक हो। चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि हो। सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरी देखि नोभेम्बरसम्म ९२ हजार ८४८ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

प्रकाशित: ७ पुस २०८१ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App