कामका लागि विदेश भौँतारिनु नपर्ने बरु नेपालमै उद्यमशीलताका अवसरहरू रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले वातावरणमैत्री निर्माण सामग्रीमा उद्यमशीलता विषयमा गरेको छलफल कार्यक्रमका वक्ताहरूले रोजगारीका लागि भन्दै विदेश नै भाैँतारिनु नपर्ने बताएका हुन्।
कार्यक्रममा युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्यमशीलताको यात्राको बारेमा जानकारी गराउँदै डटेर लागे देशमै केही गर्न सकिने अनुभव सुनाए। आफ्नो अनुसन्धान, उत्पादकका प्राविधिक पक्षहरू र नवीन प्रविधिहरू अपनाउँदा आउने चुनौतीहरूको बारेमा पार गरेको अनुभवबारे जानकारी दिँदै उनले केही छैन भनेर निराश भई बस्न नहुने सुनाए। कार्यक्रममा प्रस्तुतिपछि दोस्रो चरणमा भएको रोचक अन्तरक्रियामा समेत उनले विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्दै सफल हुनका लागि मेहनत पनि उत्तिकै आवश्यक भएको खाँचो औंल्याए।
कार्यक्रममा नेपालमा इको प्यानलको उपयोगिता र सम्भावनाहरूको लगायत हरित निर्माण सामग्रीहरूको प्राविधिक पक्ष समेत प्रस्तुतीकरणमा राखिएको थियो। सत्रका मुख्य बुँदाहरूमा हरित निर्माण सामग्रीको सम्भावना र फाइदाहरू, परम्परागत अभ्यासमा नवीन प्रविधि समावेश गर्दा आउने चुनौतीहरू र समाधानहरू रहेका थिए ।
कार्यक्रमले उद्यमशील भूमिकामा करियर बनाउने चाहना राख्ने धेरै विद्यार्थीहरूलाई प्रेरित गरेको जनाइयो। दिगो विकासको गतिशील क्षेत्रमा अघि बढ्न मार्गचित्र प्रदान गरेको अयाोजकको भनाइ थियो।
कार्यक्रमलाई सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली, आयोजक कलेजका प्रिन्सिपल बिरोध रिजाललगायतले सिभिल इन्जिनियरहरूलाई आधुनिक सूचना प्रविधिको उपयोगले कसरी सक्षम बनाउन सक्छ भन्ने विषयमा महत्वपूर्ण सुझाव दिए।
प्रकाशित: ६ पुस २०८१ ०७:३० शनिबार