नेपालको प्रतिष्ठित व्यापारिक घराना ज्योति समूह विभाजन भएको छ। ज्योति समूहलाई पद्मज्योति समूहमा रूपान्तरण गरी विकास र सिर्जनशीलताको नयाँ यात्रा सुरु भएको घोषणा गरेका छन्।
मणिहर्ष ज्योतिले सुरु गरेको ज्योति समूहभित्र सम्पत्तिको विवाद उत्कर्षमा पुगेपछि फुटेको हो। दाजु पद्म ज्योति र भाइ रूप ज्योतिबीच विवाद भएपछि अलग भएका हुन्। ज्योति समूहको अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष डा. रूप ज्योति रहेकोमा अहिले पद्म ज्योतिले नयाँ समूह गठन गरेका छन्।
पद्मज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याउने जनाएको छ।
ज्योति समूहबाट पद्म ज्योति समूहमा भएको परिवर्तनले प्रगति, अनुकूलन र नयाँ अवसरहरूको खोजी गर्न समर्पित हुने जनाएको छ। सौरभज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति, र आरती ज्योतिको मार्गदर्शनमा नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित भएको पद्म ज्योतिले बताए। पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत हुन्।
पद्म ज्योतिले नयाँ समूह र लोगो सार्वजनिक गरेका छन्। उनले आइतबार पद्म ज्योति समूह घोषणा गरेका हुन्। पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति रहेका छन् भने संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सृजना ज्योति र आरती ज्योति रहेका छन्।
नयाँ समूह घोषणा कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको विरासतलाई आत्मसात गर्दै नयाँ अध्याय सुरु गरे बताए।
यो समूहले हिमाल स्टिल, हिमाल सिमेन्ट, हिमाल अक्सिजन तथा हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, होन्डा मोटरसाइकल लगायतका व्यवसाय सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा पद्म ज्योति समूहका निर्देशक सौरभ ज्योतिले इतिहास भएको समूह विभाजन हुँदा दुःख लागेको बताए।
प्रकाशित: १ पुस २०८१ ०९:२० सोमबार