१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

साहारा सहकारी ठगी प्रकरणः पक्राउ पुर्जि जारी भएका २३ जना अझै फरार

साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएका २३ जना अझै फरार छन्।

जिल्ला अदालत चितवनले २०८० असोज ६ गते पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएका १६ र यही मंसिर ७ गते पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएका ७ जना जना फरारको सूचीमा रहेका हुन्।

बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा दुई पटक गरेर २७ जनाविरुद्ध किटानी उजुरी दिएका थिए। उजुरी दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४ जनामात्र पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन्।

नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी रामबहादुर खनाल, कुमार रम्तेल र छवि जोशी प्रहरी नियन्त्रणमा रहेका छन्। अहिले लामिछाने, खनाल र जोशी कास्की प्रहरीको हिरासतमा रहेका भन् भने रम्तेल पुर्वपक्षका लागि कास्की कारागार छन्।

चितवनमा उजुरी परेर पक्राउ परेका ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो। चितवन प्रहरीको फरार सूचीमा गितेन्द्र बाबु राई (जिबि), साहारा सहकारीका व्यवस्थापक सागर केसी, पूर्वअध्यक्ष वीरबहादुर रानाभाट, हालका उपाध्यक्ष हेमन्त अधिकारी, कार्यसमिति सदस्य छत्रमणी भट्टराई, भुपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, साहारा चितवन सहकारी नारायणगढ शाखाका व्यवस्थापक दिनेश रोका, लेखा अधिकृत दिपा न्यौपाने, ऋणी अधिकृत शिवप्रसाद आचार्य, टाँडी शाखाका व्यवस्थापक तिर्थराज लामिछाने, ऋणी शरण विश्वकर्मा, थमन भन्ने दान बहादुर बुढामगर रहेका छन्। उनीहरुविरुद्ध सरकारी वकिल कार्यालय चितवनले असोज ९ गते अदालतमा मुद्दा दायर गरिसकेको छ। मुद्दा दर्ता व्यक्तिहरुको हकमा अदालतले पक्राउ म्याद थप जारी गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता शान्तिराज लुईटेलले जानकारी दिए।

बाँकी १० जना अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक ९डिएसपि० ज्ञान कुमार महत्तोले जानकारी दिए। चितवन अदालतबाट मंसिर ७ गते पक्राउको अनुमति पाएका जिवि ग्रुप कम्पनीका सेयर धनी विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, नेचर नेष्ट प्रालीका शेयरधनी दीपक लामा, स्प्रिङ उड रियल स्टेटका शेयरधनी भगवती बम्जन, नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी कविता तामाङ अझै फरार छन्। अनुसन्धानका लागि उनीहरुको खोजि भइरहेको डिएसपी महत्तोले बताए। ‘अहिले पक्राउको अनुमति पाएकामध्ये तीन जना कास्की हिरासतमा हुनुहुन्छ। उहाँहरुलाई यहाँ ल्याएर अनुसन्धान गर्ने तयारी गरेका छौँ’, महत्तोले भने ‘फरार रहेका व्यक्तिहरुको खोजि भइरहेको छ।’

बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले यसअघि १७ जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको थियो।

चितवनको सहकारीबाट साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले उजुरी हालेका छन्।  

चितवनको साहारा सहकारीमा ६ हजार ३३४ बचतकर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको मागसहित उजुरी दिएका थिए। साहाराको सफ्टवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ तर, १४ करोड ६७ लाख ७७२ रुपैयाँको माग दाबी गर्ने कोही देखिएका छैनन्।

सहकारी पीडितले पटक पटक प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका शीर्ष नेता, नगरप्रमुख तथा वडाअध्यक्षलाई समेत भेटेर रकम फिर्ता गरिदिन माग गरिरहेका छन्। अहिलेसम्म आरोपित व्यक्तिहरु फरार हुँदा आफ्ना रकम डुब्ने हो कि भन्ने चिन्ता यथावत नै रहेको साहारा सहकारी पीडित सघर्ष समितिका संयोजक शालिकराम दुवाडीले जानकारी दिए। ‘अहिलेसम्म मुख्य व्यक्ति पक्राउ परेका छैनन्, अहिले अपचलनको आशंकामा रहेका २७ मध्ये  ४ जना मात्र पक्राउ परेका छन्’, उनले भने, ‘यति ठुलो संख्या एक वर्षदेखि फरार हुँदा राज्यले समात्न सकेको छैन।’

प्रकाशित: ११ मंसिर २०८१ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App