७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले पीडितको पक्षमा उभिनुको सट्टा बदनाम गर्‍यो

पुरानालाई 'नो नट अगेन’ भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय एकपछि अर्को नाममा बदनाम भइरहेको छ। अझ सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेपछि त झनै आलोचनामा फसेको छ रास्वपा। सहकारी पीडितको न्यायको पक्षमा उभिएको भन्दै बेलाबेला उनीहरूको पक्षमा नारा पनि लगाउँछ। तर सहकारी पीडितको नाम भजाउँदै तिनै पीडितको बदनाम गरिरहेको आरोप लागेको छ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले सहकारी पीडितको बदनाम गरिरहेको आरोप लगाएको हो। समितिका संयोजक किरण श्रेष्ठले रास्वपा र त्यसका सभापति रवि लामिछानेका समर्थकहरूले सहकारी बचत पीडितको मानमर्दन गर्ने, फुटाउने, नेतृत्वप्रति लाञ्छना लगाउने काम गरिरहेको आरोप लगाए।

पार्टी पङ्क्ति नै लागेर सामाजिक सञ्जालमा हाम्रो बदनाम गर्ने कोसिस भइरहेको छ,उनले भने,'कहिले नक्कली सहकारी बचत पीडित भन्ने, कहिले संयोजक श्रेष्ठले आफ्नो पैसा लेनदेनमार्फत फिर्ता लिइसकेको भन्ने, कहिले आन्दोलनका लागि भन्दै पैसा उठाएर संयोजक श्रेष्ठ भट्टीमा पसेको भन्ने त कहिले सत्तारुढ पार्टी कांग्रेस, एमालेसँग जोडेर प्रचार गरिएको छ।’ उनले संघर्ष समिति र आफूमाथि लगाइएको सबै आरोपहरू झुटा र कपोलकल्पित रहेको दाबी गरे।

आफू मात्र होइन सूर्यदर्शन सहकारीका कसैलेपनि २०८० साल साउनपछि एक रुपैयाँ पनि फिर्ता नपाएको दाबी गर्दै उनले भने,'अरूले जस्तै मैले पनि पैसा फिर्ता पाएको छैन। जति पनि आरोप लगाइएको छ ती सबै भ्रम छर्न कपोलकल्पित बनाइएको हो।’

संयोजक श्रेष्ठले संघर्ष समितिको नाममा पैसा उठाएर एक रुपैयाँ पनि आफूले व्यक्तिगत रुपमा खर्च नगरेको जिकिर गरे। बरु उल्टै मैले आन्दोलनका लागि खर्च गरेको छु,उनले भने,'जति पनि पैसा उठाइएको छ, त्यो बचत फिर्ताका लागि गरिएका प्रयासमा खर्चिएका छौँ। कति रकम कानुनी लडाइँ लड्दा वकिललाई दिनका लागि पनि खर्च भएको छ।’

उनले आफूहरूलाई पार्टीको कार्यकर्ता भएको आरोपकोपनि उनले खण्डन गरे। आफूहरू बचत फिर्ताका लागि मात्रै संघर्ष समिति बनाएर आन्दोलनमा गएको स्पष्ट पार्दै उनले भने,'हामीलाई नेता बन्नु पनि छैन। कुनै पार्टी र त्यसका नेतालाई उचाल्ने र पछार्ने गर्नु पनि छैन। हाम्रो एउटै उद्देश्य भनेको जसरी हुन्छ हाम्रो अपचलन भएको बचत रकम फिर्ता गर्नु हो।’

संयोजक श्रेष्ठले आफूहरूलाई लगाइएको झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने पनि बताए। त्यसका लागि आफूले साइबर अपराधमा उजुरी दिइसकेको उनले जानकारी दिए। साइबर अपराधमा कास्की प्रहरीले एक्सन नलिए साइबर ब्यूरोमासमेत जाने उनले चेतावनी दिए। प्रमाण छ भने देखाओस्,उनले भने,'होइन भने साइबर अपराधमा उनीहरुमाथि कारबाही होस्।’

समितिका सचिव दुर्गाराज न्यौपानेले पनि रास्वपाले सहकारी बचत पीडितलाई सहयोग गर्नुको सट्टा आक्रमण गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरे। कहिले कांग्रेसको झोले भन्ने, कहिले एमालेको झोले भन्ने त कहिले नक्कली पीडित भनेर हामीलाई अनावश्यक टर्चर रास्वपा र तिनका कार्यकर्ताले दिइरहेका छन्,उनले भने,'अध्यक्ष लगायत हामी नेतृत्वमाथि लगाइएको सम्पूर्ण आरोपहरू झुटा हुन्। पीडित पीडितबिच लडाउने, फाटो ल्याउने प्रयास रास्वपाबाट भइरहेको छ। यस्ता भ्रामक समाचारको हामी खण्डन गर्न चाहन्छौँ।’

यसैबिच, सहकारी बचत पीडित संघर्ष तथा तदर्थ समितिले सरकारलेपनि सहकारी बचत पीडितहरूको बचत रकम फिर्ता दिनेबारे चासो नदिएको आरोप लगाएको छ। मान्छे पक्राउ गरेर प्रतिशोध साँध्ने र बार्गेनिङ गर्नेतर्फ लागेको हो कि भन्ने आशंका आफूहरुलाईपनि लागेको भन्दै संयोजक श्रेष्ठले भने,'न सरकार, न पार्टीहरू नै बचतकर्ताको बचत रकम फिर्ता गर्नेतर्फ लागेका छन्।’ उनले सरकारले चाहेमा जिवीलाई भोलि नै समातेर ल्याउन सक्छ तर त्यसतर्फ ध्यान नै नदिएको बताए।

सहकारी बचत पीडित दीपेन्द्र राईले सहकारी बचत पीडितको विषयलाई विषयान्तर गरेर सभापति रवि लामिछाने बचाउने उद्देश्यले रास्वपाले यस्ता लाञ्छनाहरू लगाइरहेको बताए। बचत रकम फिर्तातर्फ सरकारले ध्यान दिनुपर्ने भएपनि त्यसतर्फ कसैलेपनि ध्यान नदिँदा आफूहरूलाई पीडामाथि पीडा थपिएको उनले गुनासो गरे।

प्रकाशित: २३ कार्तिक २०८१ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App