गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ।
बुधबार आज बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
‘ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरलाई रु एक करोड दिने निर्णय भएको छ’, उनले भने, ‘विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ। समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।’
ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन्। रासस
प्रकाशित: ८ कार्तिक २०८१ ०७:०१ बिहीबार