७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

दूध तथा दुग्धजन्य पदार्थ आयात नखुलाउन चितवनका किसानको माग

चितवनका किसानलाई दूध तथा दुग्धजन्य पदार्थ बेच्न धौँ धौँ छ। बिक्री भइहाले पनि समयमा भुक्तानी पाउँदैनन्। यस्तो अवस्थामा दूध तथा दुग्ध जन्य पदार्थ आयातको तयारीमा सरकार चितवनका किसानहरूले विरोध जनाएका छन्।

बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी किसानहरूले सरकारले भारत लगायतका देशबाट दूध तथा दुग्ध जन्य पदार्थको आयात खुलाउने तयारी गरेको भन्दै आयात नखुलाउन सरकारसँग अनुरोध गरेका हुन्।

नेपाल दुग्ध जन्य पदार्थमा आत्मनिर्भर भएको दाबी गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न किसानले माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले विभिन्न बाहानामा नेपालका किसानलाई धरासायी गराउने गरी आयात नखोल्न सरकारलाई अनुरोध गरेका छन्।

‘विभिन्न बाहानबाजीमा बेलाबेलामा मिल्क होलीडेको सामना गरिराख्नुपर्ने बाध्यात्मक अवस्था अझै कायमै छ,’ उनले भने, ‘यदि दुध आयात हुने अवस्था आए सबै किसान विस्थापित हुने निश्चित छ।’

किसानहरूले सरकारलाई दबाब दिएपछि तत्कालीन कृषि मन्त्री चत्रपाणि खनालका पालामा सरकारले दुग्धजन्य पदार्थको आयातमा रोक लगाएको थियो। फेरी आयात खुलाउने हो भने सम्पूर्ण किसानहरू आन्दोलनमा जाने चेतावनी उनको छ।

चितवनका किसानले छ महिनादेखि दुधको भुक्तानी समेत पाएका छैनन्। उनका अनुसार यहाँका किसानले करिब ७० करोड रुपैयाँ पाउन बाँकी छ।

दुग्ध विकास संस्थान (डिडिसी) र केही निजी डेरीहरूले पनि दुधको पैसा नदिएको बताए। डिडिसीले र निजी डेरीले  ३५/३५ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको उनको भनाई छ।

यसअघि पनि यहाँका किसानले ७ महिनासम्मको रकम भुक्तानी पाएका थिएनन्। साउन र असोजमा गरेर ९० करोड रुपैयाँ भुक्तानी पाएका थिए। फेरी सोही अवस्थामा पुग्न लागेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मी नारायण चौलागाई बताउँछन्। ‘हामीले २ हजार ३ सय जनाको दुध संकलन गर्दछौँ तर, कतिपय निजी डेरीले जेठ महिनादेखि रकम भुक्तानी गरेका छैनन्,’– उनले भने।

आयात रोक्नका लागि मंगलबार मात्रै चितवनका किसानले कृषि मन्त्री रामनाथ अधिकारीलाई भेट गरेर जानकारी गराएका छन्। सो क्रममा मन्त्री अधिकारीले दुध र दुग्धजन्य पदार्थको आयात खुलाउने पक्षमा आफू नरहेको बताएका थिए। तर आयातको निर्णय उद्योग मन्त्रालयबाट हुने हुँदा रोक्नका लागि सो मन्त्रालयलाई अनुरोध गर्ने मन्त्री अधिकारीले आश्वासन दिएका थिए। ‘मेरो पक्षबाट किसानलाई समस्या हुने गरी काम गर्ने छैन’, उनले भने ‘अहिलेसम्म दूध तथा दुग्धजन्य पदार्थको आयात खुल्ने कुरा नै भएको छैन।’ 

चितवनमा दैनिक साढे ३ लाख लिटर दुध उत्पादन हुँदै आइरहेको छ। त्यसमध्ये ५५ प्रतिशत दुध काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की लगायतका जिल्ला खपत हुने गरेको छ। दुग्ध उत्पादक सहकारी संस्थाका अनुसार चितवनमा ४० हजार किसान रहेका छन्।

चितवनका किसानहरूले सरदरमा ६५ रुपैयाँ लिटर दुध बेच्दै आएका छन्। तर बजारमा भने उपभोक्ताले १ सय २० रुपैयाँसम्म हाल्नुपर्ने बाध्यता छ। बजार नियमन गर्ने निकाय नहुँदा किसानहरू समस्यामा परेको चौलागाई बताउँछन्। 

प्रकाशित: ७ कार्तिक २०८१ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App