१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

गुल्मीमा हवाई उडान अनियमित, समस्यामा यात्रु

<br>

<br>

विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध बनेको छ। गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको हो। खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन्।

टिकट काटेर पनि पटकपटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले बताउने गरेका छन्। चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोसित छन्।

बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

साताको दुई पटक नियमित उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको उनले जानकारी दिए। 

“मौसम खराबीकै कारण गत असारको दोस्रो सातादेखि जिल्लामा जम्मा पाँच वटा मात्र हवाई उडान भएका छन्। मौसम ठिक होला भन्ने अपेक्षासहित रेसुङ्गा‐काठमाडाैं र काठमाडौं‐रेसुङ्गा आवतजावतका लागि टिकट काटे पनि अन्तिममा स्थगन हुँदाको समस्या हामीले महुसस गरेका छौं तर मौसमको अवस्था हाम्रो नियन्त्रणमा हुँदैन”, स्टेशन प्रमुख थापाले भने।

गुल्मी‐काठमाडाैंका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ। यात्रुको चापका कारण साताको चार पटकसम्म यहाँ उडान हुँदै आएको थियो।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेको छ। जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो।

प्रकाशित: ६ कार्तिक २०८१ २०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App