२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाढीपहिरोको क्षतिमा नौ अर्ब बिमा भुक्तानी दाबी

अविरल वर्षापछि आएको बाढीले पुर्‍याएको क्षतिपूर्ति गर्न बिमा कम्पनीहरूले करिब नौ अर्ब रूपैयाँको भुक्तानी दाबी गरेका छन्। जोखिम न्यूनीकरण गर्न बिमितहरूले विभिन्न कम्पनीमा बिमा गरेका थिए । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पुर्‍याएको क्षतिपूर्ति गर्न बिमा कम्पनीहरूले आठ अर्ब ९८ करोड ३० लाख रूपैयाँ बिमा दाबी गरेका छन्।

बिमा कम्पनीहरूले सम्पत्ति सुरक्षाका लागि सम्पत्ति बिमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा, सवारी साधन बिमा, कृषि बाली तथा पशुपक्षी बिमा गराएका हुन्छन्।

बाढीले क्षति पुर्‍याएपछि सोही बापत सम्पत्तिको दाबी भुक्तानी माग गरेपछि बिमा कम्पनीहरूले दाबी भुक्तानी गरेका छन्। बिमा प्राधिकरणका अनुसार दाबी मध्ये ६ वटा बिमा कम्पनीले ९७ वटा दाबीमा १७ करोड २८ लाख २८ हजार रूपैयाँ भुक्तानी गरेका छन्।

कोसी प्रदेशमा दुई सय १५ वटा, मधेश प्रदेशमा ९३, बागमती प्रदेशमा दुई हजार आठ सय ६९, गण्डकीमा २५, लुम्बिनीमा ३८, कर्णालीमा दुई र सुदुरपश्चिम प्रदेशमा दुई वटासहित तीन हजार दुई सय ४४ वटाको मागदाबी परेको प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको देखिएको छ। क्षतिका आधारमा बिमितहरूको दाबीपछि बिमा कम्पनीहरूले मूल्यांकन गरेर भुक्तानी गर्नुपर्ने रकम यकिन गर्छन्।

नेपाल बिमा प्राधिकरणले बाढी, पहिरो लगायतका विपद्का समयमा बिमितले गरेका दाबी सरलीकरण गरी छिटो भुक्तानी गर्न निर्देशन दिएको भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन। बिमा कम्पनीहरूले भुक्तानीमा आलटाल र ढिला गर्ने गरेको आरोप लाग्दै आएको छ।

असोज दोस्रो साताको बाढीले क्षति पुगेपछि सबैभन्दा बढी बिमाको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। सबैभन्दा कम दाबी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रहेको छ।

प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर बिमा कम्पनीले एक अर्ब ९५ करोड २९ लाख ४१ हजार रूपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। सिद्धार्थ चार सय ६१ वटा माग दाबी परेका थिए। दी ओरियन्टल इन्स्योरेन्समा एक सय ७० वटा माग दाबीको एक अर्ब ४५ करोड ६८ लाख रूपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा दुई सय २२ वटा मागदाबीको एक अर्ब आठ करोड ८६ लाख २० हजार ६ सय ८० हजार रूपैयाँ माग दाबी परेको छ।

त्यसैगरी, नेको इन्स्योरेन्सको दुई सय ६३ वटाको ९६ करोड ८५ लाख नौ हजार रूपैयाँको दाबी परेकोमा चार वटा दाबीको ६६ हजार रूपैयाँ भुक्तानी भएको छ। शिखर इन्स्योरेन्समा ९३ करोड ३६ लाख आठ हजार रूपैयाँ दाबी परेको थियो। ती मध्ये ८९ वटाको १७ करोड २४ लाख ७१ हजार रूपैयाँको भुक्तानी भएको कम्पनीले जनाएको छ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६६ करोड १३ लाख ९७ हजार रूपैयाँ, नेसनल इन्स्योरेन्समा ५६ करोड ४६ लाख आठ हजार रूपैयाँ, नेपाल इन्स्योरेन्समा ३४ करोड ७४ लाख २९ हजार ६४६ रूपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ३१ करोड ५३ लाख २८ हजार रूपैयाँको मागदाबी परेको छ।

युनाइटेड अजोडमा १० करोड ९८ लाख ३० हजार रूपैयाँ, राष्ट्रिय बिमा कम्पनीमा १० करोड ६७ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख ४५ हजार रूपैयाँ माग दाबी भएको छ।

एनएलजी इन्स्योरेन्समा एक सय ३६ वटाको १९ करोड आठ लाख ६४ हजार रूपैयाँ, सानिमा जिआइसीमा एक सय ८९ वटाबाट १७ करोड ७६ लाख सात हजार रूपैयाँको माग दाबी परेको छ। सानिमाले एक वटा माग दाबीको दुई लाख १६ हजार रूपैयाँ भुक्तानी भएको जनाएको छ। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ वटा माग दाबीबाट तीन लाख ५० हजार रूपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

बाढी र पहिरोबाट १७ अर्ब रूपैयाँभन्दा बढी क्षति भएको सरकारले जनाएको छ। यसका अतिरिक्त व्यक्तिगत घरजग्गा, सवारी साधन लगायतका निजी सम्पत्तिमा पनि क्षति भएको थियो। सडक पूर्वाधारमा करिब साढे दुई अर्ब, खानेपानीमा तीन खर्ब ५५ करोड, ऊर्जातर्फ करिब अर्ब, सिँचाइतर्फ दुई अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

बाढी पहिलोरले सबैभन्दा बढी कृषि तथा पशुपन्छीमा करिब ६ अर्ब रूपैयाँ क्षति भएको थियो। धान, तरकारी, अलैंची, उखु, माछापोखरी, पशुपन्छी, कोल्डस्टोर, पशुगोठलगायतमा पाँच अर्ब ८३ करोड रूपैयाँको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

धानबालीमा मात्र तीन अर्ब ५० करोड रूपैयाँको क्षति भएको थियो। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलालीको धानबालीमा धेरै क्षति भएको थियो।

प्रकाशित: २ कार्तिक २०८१ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App