८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्न सरकार सकारात्मक छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका बेला प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाए । “तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ”, उनले भने ।

महावाणिज्यदूतावास स्थापना भए राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने बताउँदै नेपाली समुदायले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह गरेका  थिए ।

क्यालिफोर्नियामा करिब एक लाख नेपाली रहेको अनुमान छ । हाल नेपालको महावाणिज्यदूतावास न्युयोर्क वा वासिङ्टन डिसीमा छ । यी दुवै क्षेत्र टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सन फ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरिएको थियो ।प्रतिनिधिहरुले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई पनि भेटेर सोही माग राखेका थिए ।

प्रकाशित: ८ आश्विन २०८१ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App