८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २९ जना घाइते

उदयपुर बेलका नगरपालिका–८, डुम्रीबोटेमा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा चालकसहित २९ जना घाइते भएका छन्। जसमा १५ जनाको अवस्था गम्भीर छ।

सप्त नदीस्थित आर्यघाटमा मृतकको शव बिसर्जन गरेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शी सीताराम राईका अनुसार बेलका–५ घुम्नेका मृतक लक्ष्मण कटुवाल र भद्रमाया पाण्डेको शव अन्त्येष्टि गरेर फर्कने क्रममा प्रदेश ०१–००२–००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी लोकमार्गअन्तर्गत बेलका–८ को घुम्तीमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार स्थानीय र कोठु प्रहरी चौकीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

गम्भीर घाइते १५ जनालाई धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ। यसैगरी अन्य १४ जनाको बेलका नगर अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले थपलाई पनि धरान पठाउने तयारी भइरहेको एसपी योगीले जानकारी दिए।

गर्मीका कारण वृद्ध वृद्धाको मृत्यु ?

मृतक लक्ष्मण कटुवाल (८०) र भद्रमाया पाण्डेको मृत्यु अत्यधिक गर्मीका कारण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन्। कटुवाललाई खोलामा नुहाउन गएका बेला मृत अवस्थामा बगरमा फेला पारिएको थियो। कटुवालको मृत्युको अन्य कारण नखुलेको हुँदा गर्मीका मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

त्यस्तै, सोमबार साँझ निधन भएकी वृद्धा भद्रमाया पाण्डेको मृत्यु पनि गर्मीकै कारण हुन सक्ने गाउँलेहरूले अनुमान गरेका छन्। पाण्डेको कुनै ठोस बिरामी नदेखिएकोले वृद्धावस्थामा गर्मीले नै प्राण गएको हुनसक्ने स्थानीयको बुझाइ छ।

प्रहरीको अनुसन्धान जारी

प्रहरीले भने दुवै मृतकको मृत्युका कारणबारे ठोस जानकारी नआइसकेको र घटनाको अनुसन्धान भइरहेको बताएको छ।

मलामी बोकेको बस दुर्घटनामा परेको र प्रहरी अहिलेसम्म घाइतेहरूको उपचारमा व्यस्त रहेकाले मृत्युका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म कुनै उजुरी नआएकाले पनि घटनाको पुष्टि हुन समय लाग्ने प्रहरीको भनाइ छ।

मृतक दुवैको शव बिसर्जन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको हो।

प्रकाशित: ८ आश्विन २०८१ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App