३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारको ध्यान राजनीतिकसँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

फाइल तस्बिर

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ७१औँ साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताए ।  

उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी–व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गरे । मुलुकका दुई ठूला पार्टी नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको समीकरण र सहयात्राले निरन्तरता पाउनेसमेत उनको भनाइ थियो । “वर्तमान समीकरण र सहयात्रा बाँकी कार्यकाल वा पूरा अवधिसम्म जान्छ, राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान केन्द्रित रहेको छ”, उपप्रधानमन्त्री पौडेलले भने । 

सरकार जनताका समस्या समाधान गरेर अघि बढ्ने बताउँदै आशातीत भएर लगानी गर्न उद्योगीलाई मन्त्री पौडेलको आग्रह थियो । उनले सरकारले व्यावसायिक समस्या समाधान गर्न नीतिगत स्थिरता कायम हुनेगरी काम गरिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएको प्रतिकूलतालाई अनुकूल बनाउन प्रयत्नशील रहेको बताउँदै विकास र समृद्धिका लागि राष्ट्रिय र स्थानीय अभिभारा पूरा राष्ट्रिय रूपमा निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रयत्नरत रहेको स्पष्ट पारे।  

“निजी क्षेत्रसँग संवाद र आशा बढेको छ । निराशा र प्रतिकूलताको ओरालो यात्रा रोकिएको छ”, उनले भने, “निराश हुने हैन आशावादी र समस्या समाधान हुन्छन् भनेर अघि बढ्ने हो । सरकारले सोहीअनुसारका काम गरिरहेको छ ।”  

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउनेगरी काम गरिरहेको जानकारी दिए । उनले राजनीतिक अस्थिरताकै कारण बुटवलको मोतिपुर औद्योगिक क्षेत्रले सही रूपमा आकार ग्रहण गर्न नसकेको उल्लेख गरे । “औद्योगिक क्षेत्रको काम रोकिएको नभएर केही विलम्ब मात्र भएको हो । अब समस्या नभएका जग्गाका प्लट बनाएर निजी क्षेत्रलाई वितरण गर्ने गरी काम अघि बढाउने सरकारले आवश्यक काम गरिरहेको छ । 

निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने विश्वास लिएका छौँ”, अर्थमन्त्री पौडेलको भनाइ थियो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले पनि रुपन्देहीको विकासमा टेवा पुर्‍याउने उनले बताए ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न नसकेको बताए। उनले वर्तमान सरकार गठनपछि निजी क्षेत्रका समस्या सुन्ने र आवश्यक छलफल गरेर समस्या समाधनका लागि पहल गर्नु सकारात्मक भए पनि लगानी गर्दा कानुनी अप्ठ्यारा र झन्झट फुकाउन सरकारलाई आग्रह गरे ।

प्रकाशित: ३१ भाद्र २०८१ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App