६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

धनगढीमा स्मार्ट नगर बस सेवा सुरु

सस्तो र सुलभ यात्रा गर्न पाएपछि स्थानीय खुसी

ग्रामीण बस्तीका सर्वसाधारणलाई सहज यातायात सुविधा उपलब्ध गराउन धनगढी उपमहानगरपालिकाले स्मार्ट नगर बस सेवा सुरु गरेको छ।

कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरियासम्मको रुटमा नगर बस सेवा सञ्चालनमा ल्याइएको हो। नगर बस बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म ३० मिनेटको अन्तरालमा चल्नेछ।

उपमहानगरले २ करोड ४८ लाख रुपैयाँको लागतमा ६ वटा बस खरिद गरी सेवा सुरु गरेको हो। बसपार्कमा आयोजित एक कार्यक्रममा उपप्रमुख नन्दकला रानाले हरियो झण्डा देखाएर नगर बस सेवाको उद्घाटन गरिन्।

नगर बस सञ्चालनसँगै धनगढी बजारबाट २५-३० किलोमिटरसम्मका दुरीका बस्तीका बासिन्दालाई सदरमुकामसम्म ओहोरदोहोर गर्न सहज हुने भएको छ। सस्तो र सुलभ यात्रा सुविधाका कारण स्थानीय बासिन्दा पनि खुसी छन्।

फूलबारीका बासिन्दा जगन्नाथ अधिकारी भन्छन्, “धनगढी जाने सवारी मिल्दैनथ्यो, अटोमा जाँदा भाडा महँगो पर्थ्यो। अब नगर बसले सजिलो बनाएको छ।” उनका अनुसार, फूलबारीबाट अटोमा धनगढी आउन सय रुपैयाँ लाग्ने भए पनि नगर बसमा ५० रुपैयाँ मात्र तिर्नुपर्नेछ।

अर्का स्थानीय इन्द्रबहादुर सुनार पनि खुसी छन्। उनी भन्छन् “अब बिरामी पर्दा वा आकस्मिक काम परेमा ३० मिनेटको फरकमा बस पाइने भएकाले धेरै सहज हुनेछ।”

नगरप्रमुख गोपाल हमालले नगर बस सञ्चालनले निजी सवारीसाधन नभएका नागरिकलाई छिटो र सहज यात्राको सुविधा दिने बताए। उनका अनुसार नगरको विकासका सबै क्षेत्रलाई जोड्ने सोच अनुरूप नगर बस सेवा सुरु गरिएको हो।

“धनगढी लगायत फूलबारी, हसुलिया जस्ता क्षेत्रलाई यातायात, शिक्षा, स्वास्थ्य र कृषिमा समान विकासको उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएका हौं,” उनले भने।

बस सेवाले हसुलिया, फूलबारी, धनगढी हुँदै अत्तरियासम्म ओहोरदोहोर गर्नेछ। ७ किलोमिटरको दूरीसम्म २० रुपैयाँ भाडा लाग्ने र त्यसपछिको दूरीका लागि नेपाल सरकारद्वारा तोकिएको मापदण्ड अनुसार प्रति किलोमिटर २ रुपैयाँ ८४ पैसाका दरले भाडा निर्धारण गरिएको छ।

के एण्ड के कन्स्ट्रक्सन धनगढीले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा सञ्चालनको ठेक्का पाएको छ। २०८१ असोज १ देखि २०९१ भाद्र मसान्तसम्मका लागि सम्झौता भएको हो। 

नगर बसले विशेष गरी फूलबारी क्षेत्रलाई धनगढीसँग जोडेर विकासको मार्ग खुलाएको वडा नं १८ का अध्यक्ष भुवन रिजालले बताए। यसले कृषिजन्य उत्पादन समयमै बजार पुर्‍याउन पनि सहयोग पुर्‍याउने उनको भनाइ छ। विद्यालय खुलेको दिन धनगढीका बाल विकास शिक्षक-शिक्षिकाले नगर बसमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिएको छ।

प्रकाशित: ३० भाद्र २०८१ २०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App