१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

विकासका लागि त्याग जरुरी छ: पूर्व गभर्नर नेपाल

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको संवाद कार्यक्रममा आफ्नो भनाई राख्दै पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल।

अर्थविद डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रलाई विकासको गतिमा अगाडि बढाउन दुरदर्शी नेतृत्वको आवश्यकता रहेको बताएका छन्।

वीपी कोईरालाको १११ औं जन्मजयन्तीको सन्दर्भमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सामाजिक उद्यमशिलता विषयक संवाद कार्यक्रममा पूर्व गर्भनर समेत रहेका नेपालले राजनीतिक परिवर्तनका लागि आन्दोलन र बलिदान भए पनि आर्थिक विकासका लागि बलिदान नभएको बताए।

‘हामीले राजनीतिक परिवर्तनका लागि त ठूला आन्दोलन र बलिदानी गर्‍यौं, ’डा. नेपाल भन्छन्,‘तर आर्थिक विकास र समृद्धिका लागि कुनै पनि पुस्ताले त्याग गरेको छैन।’

देश विकास र समृद्ध बन्नका लागि कुनै न कुनै पुस्ताले त्याग र योगदान गर्नुपर्ने उनको भनाई छ। ‘देश त्यतिकै बन्दैन त्यसका लागि एउटा पुस्ताले त्याग गर्नुपर्ने हुन्छ, नेपालमा दुरदर्शी नेतृत्वको अभावमा विकासका लागि त्याग गर्ने अवस्था बनेको छैन’, उनले भने, ‘जनु गतिमा विकास हुनुपथ्र्यो त्यो भएको छैन। तर केही पनि नभएको भने पक्कै होईन।’

अहिलेको पुस्ताले नेतालाई आदर गरे पनि विश्वास गर्ने वाताबरण भने नभएको उनी बताउँछन्। नाकाबन्दीपछि कतारले गरेको विकासको उदाहरण दिँदै उनले नेपाल झन् झन् परनिर्भर हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

‘कतारले नाकाबन्दी व्यहोरेको तीन वर्षमा आफुलाई सबै क्षेत्रमा आत्मनिर्भर बनायो, साउदीले जहाज समेत उसको आकासमाथि उड्न दिएको थिएन,’ उनले भने, ‘त्यो बेलामा अस्ट्रेलियाबाट गाई ल्याएर पालेको कतारले अहिले युरोपमा दूध निर्यात गर्छ। हामी पनि नाकाबन्दीका बेलामा जिन्दावाद मुर्दावाद गर्‍यौं। तर अहिले हामी झन् भन्दा झन् परनिर्भर भएका छौं।’

नागरिकहरुको उत्पादनसँग नजोडिने र नीति निर्माताहरुले पनि उत्पादनलाई प्रोत्साहन नगर्दा समस्या भएको उनको ठम्याई छ।

‘विकास भनेको समर्पण हो, हामी मुलुक बनाउन कमिटेड छैनौं, ’उनी भन्छन्, ‘विकास भनेको अनुशासन पनि हो। हामीले भएको बजेट पनि खर्च गर्न सक्दैनौं। हामी विकासका लागि समर्पित छैनौं।’

युवा पलायनको हौवा फैल्याएर काम नगर्ने परिपाटीको विकास भएको उनी बताउँछन्। ‘युवा पलायन भइरहेको छ तर पनि नेपालमा काम गर्नसक्ने युवाको खाँचो भइसकेको छैन, खाँचो छ त उनीहरुलाई सही क्षेत्रमा परिचालन गर्ने असल नेतृत्वको,’ नेपालले भने।

कांग्रेस नेता देवराज चालिसेले अहिले कुनै पनि युवा सन्तुष्ट नरहेको बताए। वार्षिक १३ अर्ब डलर बढि व्यापार घाटा नेपालले व्यहोरिरहेको भन्दै उनले सम्भावनाको क्षेत्रमा लगानी आउँदा राजनीतिक वाताबरण धुमिल हुने गरेको उल्लेख गरे।

‘हाम्रोमा सम्भावनको प्रोजेक्टमा लगानी आउने विषयमा राजनीतिक ध्रुवीकरण हुन्छ, हामीलाई अरुले प्रयोग गर्छन् र जिन्दावाद र मुर्दावादमा ओर्लिन्छौं,’ उनले भने, ‘हामीसँग भएको प्राकृतिक स्रोत साधन र लगानीयोग्य क्षेत्रले यो देश पाँचै वर्षमा बन्नसक्ने अवस्था छ। तर त्यसको लागि क्षमतावान नेतृत्वको खाँचो छ।’

कुनै बेला कोरियालाई चामल अनुदान दिने नेपालमा अहिले तीन खर्ब ४१ अर्बको कृषि उपज आयात हुनुलाई उनले दुर्भाग्यपूण भने। ‘हामीले हाम्रो उत्पादनमा जोड दिएकै छैनौं, जग्गा जमिनहरु बाँझो छोडेर किनेर खाने भएका छौं, यसले भोलीको संकटलाई देखाउँछ,’ चालिसेले भने।

हरेक विषयमा राजनीतिकरण हुने, राजनीतिक इमानदारीताको कमी तथा अयोग्य प्रमाणित भइसकेका अनुहारहरु पटक-पटक नेतृत्वमा दोहोरिरहने प्रवृत्तिले नेपालमा समस्या उत्पन्न भएको चालिसे बताउँछन्। ‘विकास भनेको आर्थिक अनुसासन हो, नेपालमा नेता कमजोर र प्रशासन असक्षम छ,’ उनी भन्छन्, ‘हामीले नीतिगत रुपमै सुधार गरेर अगाडि बढ्नुपर्नेछ।’  

विदेशी अनुदानहरु एउटा हातले दिने र अर्को हातले फिर्ता लैजाने भएका कारण नेपाली जनता उत्पादन क्षेत्रमा लाग्नुको विकल्प नभएको उनको भनाई छ।

सिद्धान्तको शास्त्रीय झगडाले नेपालीले दुःख पाएको उनको भनाई छ। कार्यक्रममा युवा उद्यमी योगनाथ कँडेलले काम गर्ने संस्कारको विकास नभएको बताए। ‘हामीले १८ वर्ष नपुगेकालाई श्रममा लगाउन हुन्न भन्छौं, विदेशतिर १३ वर्षबाटै काममा लागेका हुन्छन्,’उनले भने, ‘उनीहरु १८ वर्षको हुँदासम्म काम गर्नुपर्छ भन्ने कुरा सिकेका हुन्छन्। हामीलाई बालश्रम हुन्छ भनेर सिकाए।’

नेपालमा एउटाले केही गरे त्यसैको पछि सबै लाग्ने भएका कारण पनि समस्या देखिएको उनी बताउँछन्। ‘हामीले नयाँ उद्यममा लगानी गर्दैनौं, कसैले केही राम्रो गर्‍यो कि उसले जस्तै गछौं, त्यसले गर्दा हामी सबै डुब्छौं,’ कँडेलले भने।

पछिल्लो समय गाउँ गाउँमा सामान बोकेर जाने ट्रकले गाउँबाट नोट मात्रै बोकेर फर्किने गरेको उनको भनाई छ। ‘गाउँ गाउँमा आयातित सामान बोकेर गएको ट्रकले हाम्रो नोट लिएर फर्किन्छ,’ उनी भन्छन्, ‘हाम्रो गाउँमा त्यो खाली ट्रक भरेर पठाउने केही पनि छैन।’

सरकारको नीतिगत समस्याले गर्दा देशमा लगानीको वातावरण सहज बन्न नसकेको उनको भनाई छ। ‘सरकारसँग जोडिएको कुनै पनि क्षेत्रमा काम गर्न खोज्यो भने वर्षौं फाईल बोकेर धाउँदा धाउँदै ठिक्क हुन्छ,’ उनी भन्छन्, ‘काम गर्ने जोस जाँगर फाईल डुलाउँदै सकिन्छ। यसले गर्दा हाम्रोमा लगानी गर्न आउनेहरु पनि हच्किन्छन्।’

उनले नेपालमा सेवाको क्षेत्र र साना उद्यममा राम्रो सम्भावना रहेको बताए।

प्रकाशित: २५ भाद्र २०८१ १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App