१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

मनकामना केबुलकारको स्तरोन्नतिः अब डिजिटल डी–कनेक्ट प्रणालीमा

देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रा.लि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।  

अस्ट्रियाको केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति भएको हो ।  

गतअसार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम गरिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ । करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गते मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकामना दर्शन प्रा.लि. पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा नेपाल सरकारबाट पटकपटक सम्मानित भएको छ ।  

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।  

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।  

प्रकाशित: २५ भाद्र २०८१ १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App