७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भएन विद्युत् गृह मर्मत, उत्पादन ठप्प

विगत दुई महिना देखी उत्पादन ठप्प भएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको विद्युत् गृह अझै सञ्चालनमा आउन सकेको छैन। विद्युत् गृहको ट्रान्सफर्मरमा आगो लागेपछि असार ३१ गतेबाट उत्पादन रोकिएको छ।

निर्माण कम्पनी टुण्डीका प्रतिनिधि उदयराज पोखरेलले भारतबाट सामान मगाउनु परेकाले मर्मत कार्यमा ढिलाइ भएको बताए। उनले केही दिन भित्रै मर्मतको काम सकेर विद्युत् पुनः उत्पादन सुरु हुने जानकारी दिए। उनले आवश्यक पर्ने सामान काठमाण्डौं पुगिसकेकोले चाँडै विद्युत् गृह सुचारु हुने बताए।

‘सामान काठमाण्डौं पुगिसकेको छ। भन्सार गरेर ल्याउन मात्रै बाँकी छ’ उनले भने ‘३/४ दिन भित्रै सुचारु हुन्छ।’

राष्ट्रिय गौरवको आयोजनाले सिँचाइका साथै विद्युत् उत्पादन समेत सुरु गरेको छ। आयोजनाले २०८० माघ १६ गतेबाट परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरेको हो।

सोही मितिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सूचना अधिकारी नविन पौडेलले जानकारी दिए।

विद्युत् गृह निर्माणको समयावधि आगामी पुस मसान्तसम्म रहेको छ। निर्माण कम्पनीले त्यसपछिको थप एक वर्ष समेत विद्युत् गृहमा आउने समस्याको जिम्मेवारी लिनुपर्ने सम्झौतामा उल्लेख रहेको सूचना अधिकारी पौडेलले सुनाए।

परीक्षणकै क्रममा रहेको विद्युत् गृहमा आगजनी भएपछि त्यसको गुणस्तरीयतामा शंका गर्न थालिएको छ। निर्माण पक्षले गुणस्तरहीन सामाग्रीको प्रयोगले त्यस्तो समस्या आएको हो कि भन्ने बारेमा समेत अध्ययन भइरहेको छ।

४ दशमलव ७ मेघावाट क्षमता रहेको विद्युत् गृहले ३ दशमलव १ मेघावाट विद्युत् उत्पादन गरिरहेको थियो। तीनवटा युनिटबाट विद्युत् उत्पादन गर्ने भनिए पनि दुईवटाबाट मात्रै विद्युत् उत्पादन भइरहेको हो।

विभिन्न समयमा पाँच पटक म्याद थप गरेर निर्माण भएको विद्युत् गृहमा आयोजनाको १ अर्ब लगानी छ। उसले विद्युत् बेचेर वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोकेको छ।

विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारणमा जोडिए पनि विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधितयार भएको छैन। अध्ययनका नाममा कार्यविधि विगत लामो समयदेखी मन्त्रालयमा थन्काइएको छ।

आयोजनाले पुस महिनामै कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो। कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ। सो समितिको सदस्यहरुमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ। 

सिँचाइसँगै विद्युत् समेत उत्पादन थालेको यस आयोजना देशकै नमुना बहुउद्देश्यीय परियोजना हो। आयोजनाले सिँचाइ, विद्युत्, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित: २३ भाद्र २०८१ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App