३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारः पर्यटकीय सिजन प्रभावित हुने चिन्ता

आन्तरिक र बाह्य सबैखाले उडान प्रभावित हुँदा पाहुना आगमनमा असरः व्यावसायी

सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म को समयलाई व्यावसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन्। विदेशी पर्यटक भित्रिने आशमा पर्यटन व्यावसायीले यो समयसँग निकै नै अपेक्षा पनि गर्छन्। व्यावसायीका अनुसार मौसम अनुकुल हुने हुँदा यो बेला विदेशी पाहुना नेपाल घुम्न रुचाउँछन्।  

नेपालमा हुने साहसिक गतिविधिमा रमाउने अधिक विदेशी पाहुनाको चाहना हुन्छ। पदयात्रादेखि प्याराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट, बेलुन जस्ता गतिविधिमा रम्ने ती पाहुनाको चाहना हुन्छ। सिजनको तीनमहिना नेपालमा साहसिक गतिविधिमा रमाउने पाहुना आउने गरेको व्यावसायी बताउँछन्।  

तर, यो पटक विदेशी पर्यटक भित्रिने मुख्य सिजनभित्रकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द गरेर पूर्वाधार बिस्तार गरिँदैछ। पूर्वाधार बिस्तारका क्रममा विमानस्थल संचालन समय घटाउने सरकारी तयारी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सम्म करिब पाँचमहिना दिनमा १० घण्टा बन्द हुँदैछ। राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरेर त्यो समयमा पूर्वाधार थप गरिँदैछ।  

जसले गर्दा रातीको त्यो समयमा उडान भर्ने वायुसेवा कम्पनीहरुले निर्धारित उडानको समय परिमार्जन गर्नुपर्नेछ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे खुल्छ भने राती २ बजेसम्म चल्दै आएको छ। रातीको समयमा विमानस्थल बन्द हुने भएपछि त्यो बेलाका उडान प्रभावित हुने हुँदा त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पार्ने चिन्ता पर्यटन क्षेत्रको छ। अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि प्रभावित हुने चिन्ता पर्यटन क्षेत्रको रहेको छ।

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘अन्तर्राष्ट्रिय र आन्तरिक उडानको चाप पर्ने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनमा १० घन्टा बन्द हुँदैछ। यसले पर्यटन क्षेत्रमा ठूलो असर पार्नेछ।’ सापकोटाका अनुसार सेप्टेम्बर मध्यदेखि सुरुको पर्यटन सिजन त्यो बेला पीकमा पुगेको हुन्छ। तर, त्यही समय पारेर विमानस्थल बन्द हुँदा नेपालको पर्यटन क्षेत्रमा असर पर्ने पक्का छ।

‘दिनमा १० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदैछ। अहिलेसम्मको अवस्थामा नेपाललाई हवाई माध्यमबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्म जोड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एकमात्र छ। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नै भएको छैन,’ उनले भने, ‘नेपाल भित्रिने मूख्य बिन्दुमै असर पर्दा त्यसले आगमन प्रभावित हुने पक्का छ।’

उनका अनुसार दिनमा १० घण्टा विमानस्थल बन्द हुँदा हवाई कम्पनिले उडान तालिका परिवर्तन गर्नुपर्ने हुन्छ। त्यो तालिका मिलाउन सहज छैन। आन्तरिक हवाई उडानमा पनि यसको असर पर्ने उनले बताए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यसै पनि व्यस्त छ। तर, दिनमा १० घण्टा बन्द हुँदा त्यसको असर पर्ने पक्का छ,’ उनले भने, ‘पर्यटक भित्रिने सिजनको बेला परेर मात्र हो। नत्र पूर्वाधार त आवश्यक नै छ। तर, सिजनका कारण पाहुना आगमन प्रभावित हुने त्रास व्यावसायीमा छ।’  

विदेशी पर्यटकले लामो समयको ग्याप राखेर यात्राको तालिका बनाएका हुन्छन। तर, त्यो तालिका एकाएक फेरबदल हुँदा त्यसले आउजाउमा प्रभावित हुन सक्ने उनले बताए। त्यत्ति मात्र नभई हवाई कम्पनिले पनि बनाएको उडान तालिका फेर्नुपर्ने हुँदा सहज हुँदैन। आन्तरिकमा समेत त्यो समस्या हुन्छ।

‘लुक्ला सहित बिहानको समयमा मात्र उडान हुने विमानस्थलमा बिहान ८ बजेसम्म उडान गर्न नपाउँदा त्यसले पर्यटनमा धक्का पुग्ने निश्चित छ,’ उनले भने, ‘दुर्गम तर पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यमा उडान हुने त्यो समयमा उडान तालिका र समय व्यवस्थापन गर्न पक्कै सहज हुने छैन।’ उडान तालिका परिवर्तन गर्दा कतिपय कम्पनिको उडान नै प्रभावित हुने सम्भावना पनि रहन्छ। तालिका बदलिँदा यात्रु र हवाई कम्पनि सबैलाई प्रभाव पार्छ । उडान नै कटौती हुने जोखिम पनि रहन्छ।’  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि पर्यटकीय सिजन पर्ने भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार र पूर्वाधार थप गर्दैगर्दा पर्यटन क्षेत्रमा असर पार्ने बताउँछन्। ‘पूर्वाधार अत्यावश्यक छ। तर, पर्यटक भित्रिने सिजन पर्ने भएकोले त्यो समयमा उडान प्रभावित हुँदा त्यसको मार पर्यटन क्षेत्रमा पर्ने पक्का छ,’ लामिछानेले भने, ‘नेपालमा पछिल्लो समय भएका हवाई र स्थलमार्गका दुर्घटनापछि विदेशी पर्यटक आउन डराएका छन। त्यही अवस्थामा फेरि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुँदा त्यसको मार पर्यटन क्षेत्रमा पर्ने पक्का हो।’

विदेशी पर्यटक भित्रिने मुख्य सिजनमा नेपालमा पाइला टेक्ने एकमात्र मुख्य बिन्दु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनमा १० घण्टा बन्द हुँदा त्यसको प्रभाव अन्तर्राष्ट्रिय हवाई उडानदेखि आन्तरिक उडानसम्म प्रभाव पार्ने उनले बताए।

‘विदेशी पर्यटक र हवाई कम्पनिले त्यही अनुसार उडान तालिका बनाएका हुन्छन। उडान समय परिवर्तन गर्नुपरेको खण्डमा उडान संख्या कटौती गर्नुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘उडान संख्या कटौती भएको अवस्थामा गन्तव्य अहिलेभन्दा महंगो पर्न पनि सक्छ। त्यसले गर्दा पर्यटक अन्यत्र डाइभर्ट हुने जोखिम रहन्छ।’

सरकारले प्याकेज ल्याएर सहजीकरण गरेको भएपनि अहिलेसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिलेदेखि अन्तर्राष्ट्रिय उडान संचालन हुन्छन भन्ने यकिन छैन। वैकल्पिक विमानस्थलबाट उडान संचालन नभएसम्म यसको प्रभाव रहिरहने उनले बताए। ‘यतिसम्मकी आन्तरिक उडान पनि प्रभावित हुनेछन। बाह्य उडान त प्रभावित हुन्छन नै, विदेशी पाहुनाले यात्रा तालिका फेरिने हुँदा यात्रा नगर्न पनि सक्छन,’ उनले भने, ‘किनकी विदेशी पाहुनाले तालिका बनाएर यात्रामा निस्कने योजना बनाउँछन्। अन्तिम समयमा उडान तालिका फेरबदल हुँदा यात्रु नै यात्रा गर्न असहमत हुन सक्छन।’

उनका अनुसार विमानस्थल बन्द हुँदा कतिपय पर्यटक र हवाई कम्पनि नेपाल आउनबाट हच्किन सक्ने जोखिम पनि रहन्छ। ‘दिनमा १० घण्टा बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि घटनेछ। छोटो समयमा धेरै हवाई उडान गर्नुपर्दा नेपाली आकाशमा हवाई चाप बढने जोखिम हुन्छ। उडान र अवतरणका लागि लामो समय पर्खिनुपरेको अवस्थामा यात्रुलाई झन्झट हुनेछ,’ उनले भने, ‘तालिका परिवर्तन गर्दा हवाई कम्पनि पनि नेपाल आउन नमान्न सक्छन। त्यसको प्रभाव पर्यटनमा पर्नेछ।’  

विमानस्थलको अप्ठेरोको त्यो प्रभाव भारतीय पर्यटनमा पनि पर्ने उनले बताए। ‘भारतीय पर्यटकको साप्ताहिक यात्रा नै प्रभावित हुनसक्छ। भारतीय पर्यटक अन्तिम समयमा यात्रा गर्ने भनेर निस्कन खोज्दा लामो पर्खाइ वा झन्झटमा पर्न सक्ने भएकोले अन्यत्र डाइभर्ट हुनसक्छन,’ उनले भने, ‘भारतीय पर्यटकले अन्तिम समयमा मात्र निर्णय गर्छन। त्यसले गर्दा समस्या छ।’ त्यसबाहेक समय नमिलेको भन्दै कतिपय हवाई कम्पनिले नेपालसम्मको उडान कटौती गरेको अवस्थामा पाहुना आगमन प्रभावित हुने पक्का रहेको उनले बताए।  

प्रकाशित: २० भाद्र २०८१ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App