१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखराका रेस्टुरेन्टदेखि तारे होटलसम्म ‘दर मेनु’

पोखराको मुस्ताङचोकस्थित ड्याडिज किचनमा दर खान गएका महिला समूह तीज गीतमा नाचगान गर्दै। तस्बिर सौजन्यः ड्याडिज किचन

पोखराको मुस्ताङचोकस्थित ड्याडिज किचनमा विगत १५ दिनदेखि तीजको दर खाने महिला समूहको भीडभाड छ। यो अवधिमा ड्याडिजले ४४ वटा महिला समूहलाई तीजको दर खुवाइसकेको छ। अझै केहीदिन ड्याडिजमा दर खानेको तालिका तयार छ।  

ड्याडिजका संचालक सन्दीप क्षेत्रीका अनुसार करिब २ हजार महिलालाई यो अवधिमा दर खुवाइएको छ। ‘प्रतिव्यक्ति ७ सयदेखि १५ सय रुपैयाँसम्मको दरको मेनु तयार छ। त्यही अनुसार खुवाउँछौ,’ क्षेत्रीले भने, ‘तीजले व्यावसाय पनि बढाएको छ।’ क्षेत्रीका अनुसार विभिन्न विद्यालय, बैंक तथा वित्तीय संंस्था, टोल सुधार, आमा समूह अहिले त्यहाँ दर खान आइरहेका छन्। संस्थाहरुले नै कार्यरत कर्मचारीलाई ड्याडिजमा लगेर दर खुवाईरहेका छन्।  

‘बाहिरी समूह मात्र नभई कतिपयले परिवारका सदस्यलाई र आफन्तलाई पनि यही ल्याएर दर खुवाउने गरेका छन्। घरमा पकाउन झन्झट हुने भन्दै आफन्तलाई निम्त्याएर दर खुवाउने समेत गरिएको छ,’ उनले भने, ‘कतिपयले घरमै मगाएर पनि खाएका छन्। यसले हाम्रो व्यापारलाई पनि सघाएको छ।’ उनका अनुसार महिला समूह वा निम्त्याइएका आफन्त आउने र खानपिन पछि गीतमा रमाउने गरेका छन्।

लेकसाइडस्थित मझेरी रिसोर्टले प्रतिव्यक्ति १२ सय देखि १८ सय रुपैयाँसम्मको तीजको दरको ‘मेनु’ बनाएको छ। यो मुल्यमा दर खान रिसोर्टमा पुग्ने महिलाको अहिले भीडभाड छ। व्यक्तिगत भन्दा संस्थागत रुपमा अहिले मझेरीमा दर खान महिला समूह पुगिरहेका छन्। तीजको दर मेनुले अफसिजनमा खुम्चिएको रिसोर्टको ब्यापारलाई केही उकासेको पनि छ।  

रिसोर्टका म्याजेनर गुप्त गिरीका अनुसार एकसातादेखि कुनै न कुनै समूह दर खान मझेरीमा पुगिरहेका छन् । यो क्रम अझै केहीदिन चलिरहनेछ। ‘बरु तीजकै आसपासका बेला दर खान आउने कोही छैनन्। तर, यो बेला भने रिसोर्टमा कुनै न कुनै समूह आएकै छन्। अग्रिम बुकिङ गरेका महिला समूह संस्थागत रुपमा सहभागि भएका छन,’ म्यानेजर गिरीले भने, ‘यसले अफसिजनको ब्यावसायमा केही भएपनि राहत मिलेको छ। आन्तरिक पर्यटनको हिस्सा बनेको छ।’

उनका अनुसार मूल्य अनुसार महिलाले दरको मेनुमा उल्लेख भएको खाना र खाजा खान पाउँछन्। ‘मध्यान्हतिर आउँछन्, त्यसपछि खाजा खान्छन्, केही समय नाचगान गर्छन। अनि बेलुकी ५ बजेतिर खाना खाएर फर्किन्छन,’ उनले भने, ‘मुल्य अनुसारको खानाको मेनु तयार हुन्छ। बढी मूल्य पर्दा खानाको परिकार पनि थपिन्छ। खानाका के खाने वा नखाने भन्ने मुल्यमा निर्भर रहन्छ।’

उनका अनुसार तीजकै नजिकिएका दिनमा बरु यस्तो समूह छैनन्। किनभने त्यो बेलासम्म माइती जाने वा आफन्तकहाँ गएर रमाउने गर्छन्। ‘तीजको केहीदिन अघिको समयमा रिसोर्टमा दिनहुँजसो दर खाने समूह आइरहेको छ। हामीले उनीहरुलाई उचित मुल्यमा सेवा दिईरहेका छौ,’ उनले भने। उनका अनुसार रिसोर्टमा पुग्नेमा व्यक्तिगत रुपमा भेला भएर जाने भन्दा संस्थागत समूह बढी छन्। संस्थागत रुपमा कार्यालयहरुले महिला कर्मचारीलाई होटलमा लगेर खाना खुवाउने र मनोरञ्जन दिलाउने गरिरहेको उनले बताए।  

‘यसले कर्मचारीबीच निकटता पनि ल्याउँछ। संस्थाको प्रगतिमा पनि इटा थप्न सघाउँछ,’ उनले भने, ‘संस्थामा कार्यरत महिला कर्मचारीलाई एकैठाउँमा भेला गराएर खाना खुवाउँदा र रमाउन दिँदा संस्था र कर्मचारीबीचको सम्बन्ध पनि बलियो हुन्छ।’ पोखराका विद्यालय, अस्पताल, सहकारी, बैक देखि निजी कम्पनिले अहिले कर्मचारीका लागि होटलमा दर खुवाउने गरेका छन्।  

बाराही होटल समूह अन्तर्गतको ‘बिच बार’मा पनि यो बेला तीजको दर खानेको रमझम छ। बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार प्रतिव्यक्ति १५ सय ५० रुपैयाँमा सुरु हुने गरि दरको मेनु बनाइएको छ। त्यही मेनु अनुसार खाना खुवाउने गरिएको महाप्रबन्धक केसीले बताए। ‘विभिन्न संस्थाले कार्यरत महिलालाई सामूहिक रुपमा ल्याएर दर खुवाउने गरेका छन्। त्यो बेला महिलाहरु नाचगान पनि गर्न पाएका छन। यसले पर्यटन क्षेत्रमा व्यावसाय पनि बिस्तार भएको छ,’ केसीले भने।  

उनका अनुसार महिलाहरु मध्यान्हतिर आउँछन, त्यसपछि खाजा खान्छन र नाचगान सुरु गर्छन। बेलुकी पाँचबजेतिर खाना खाएपछि उनीहरुको प्याकेज सकिन्छ। ‘मध्यान्हदेखि बेलुकी पाँचबजेसम्मको प्याकेज हुन्छ। महिलाहरु एकैठाउँमा हुन पाउँदा खुलेर मनोरञ्जन पनि गर्छन। यसले महिलाबीच सामिप्यता पनि ल्याउँछ,’ उनले भने। व्यावसायीका अनुसार यो बेला तीजको दरका लागि भनेर विशेष मेनु पनि बनाइएको छ। त्यही मेनुमा आधारित भएर महिला वा संस्थाले शुल्क तिर्नुपर्छ।

‘केहीवर्ष अघिसम्म महिलाहरु व्यक्तिगत रुपमा भेला भएर तीजमा दर खान हिड्ने चलन थियो। अहिले भने संस्थागत सहभागिता बढ्न थालेको छ। संस्थाले पनि महिला कर्मचारीका लागि एकदिनको जमघट बनाइदिएका छन,’ उनले भने।  

उनका अनुसार यो बेला पर्यटन क्षेत्रमा अफसिजन हो। यो बेला अफसिजनका कारण पर्यटन क्षेत्र केही सुस्ताएको पनि छ। तर, पर्यटन क्षेत्रलाई चलायमान बनाउनेगरि अहिले ठूला होटलमा दर खुवाउने कार्यक्रम चलिरहँदा त्यसले पर्यटन क्षेत्रमा थोरै भएपनि आम्दानी दिलाएको केसीको भनाई छ। ‘सुस्ताएको पर्यटन क्षेत्रमा चाँडबाँडले पनि केही राहत दिएको छ,’ उनले भने।  

केहीवर्ष अघि तीजको दर खाने कार्यक्रमले पोखराका पार्टी प्यालेस करिब महिनादिनसम्म व्यस्त रहन्थे। तर, अहिले ठुला होटल र रेस्टुरेन्टले भिन्दै मेनु बनाएर दर खुवाउन थालेपछि केही व्यवस्थित पनि बनेको व्यावसायीको भनाई छ। तीजको दर खुवाउनेगरि लेकसाइडकै होटल पोखरा भिलेजले पनि भिन्दै प्याकेज बनाएको छ। प्रतिव्यक्ति १८ सय रुपैयाँमा तीजको दरको प्याकेज बनाएर महिलालाई खुवाएको संचालक हरि शर्मा गैह्ेले बताए।  

‘तीजको नाममा उपद्रो मच्चाउनु पो राम्रो होइन। तर, तीजको रमाइलो मान्न कसैले रोकेको छैन। प्रशासनले पनि तडक भडक नगर भनेको हो,’ उनले भने, ‘तडकभडक बिना कुनै संस्थाले कार्यरत महिलालाई होटलमा लगेर दर खुवाउने र मनोरञ्जन दिलाउनुलाई नकारात्मक रुपमा लिन हुँदैन।’  

उनका अनुसार पछिल्लो केहीदिनमा होटल पोखरा भिलेजले महिला समूहका लागि दर खुवाएको छ। ‘विद्यालयदेखि बैंकसम्मले महिला कर्मचारीलाई होटलमा ल्याएर खुवाएका छन। यसले उनीहरुमा संस्था र कार्यरत महिला कर्मचारीबीच सम्बन्ध अझ बलियो हुने देखेका छौं,’ उनले भने। होटलले नै दररेट तोकेर महिलाका लागि तीजको दर प्याकेज बनाएको उनले बताए।  

अहिले पोखराका होटलमा मात्र नभई पार्टी प्यालेसमा पनि तीजको रमझम चलिरहेको छ। विभिन्न संस्थाहरुले महिलाका लागि दर खुवाउने गरि जमघट गराईरहेका छन। यसले व्यावसाय बढाएको व्यावसायीले बताएका छन। ‘केहीवर्ष अघिसम्म दर खान भनेर होटलमा पुग्ने चलन थिएन। होटलले प्याकेज बनाएका पनि थिएनन। तर, अहिले पोखराका चल्तीका होटलले पनि तीजको दरको मेनु बनाएका छन,’ होटल संघ गण्डकीका अध्यक्ष समेत रहेका शर्माले भने, ‘तडकभडक बिना तीजको दर खुवाउनुलाई नकारात्मक रुपमा लिनु हुँदैन। अहिले व्यक्तिगगत भन्दा संस्थागत सहभागिता बढ्दो छ।’

प्रकाशित: १६ भाद्र २०८१ १८:१८ आइतबार

तीजको दर पोखरा