१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘नाडा अटो सो’मा विद्युतीय सवारीको वर्चस्व

फाइल तस्वीर

नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो सो’मा विद्युतीय सवारी सवारीको वर्चस्व देखिएको छ।

भृकुटीमण्डपमा जारी १६ औं संस्करणको नाडा अटो सोमा विभिन्न कम्पनीले नयाँ–नयाँ मोडलका सवारी साधन प्रदर्शनीमा राखेका छन्। अटो सोमा राखिएका सवारीमध्ये करिब ८० प्रतिशत विद्युतीय सवारी प्रदर्शनीमा रहेका छन्।

नाडा अटो सोमा इकोनोमीदेखि हाई क्लाससम्मका गाडीको प्रदर्शनी तथा बुकिङ चलिरहेको छ। अटो सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुई पांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी एक सय ३० वटा स्टल राखिएका छन्।

यस संस्करणमा २४ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुईपांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड राखिएका छन्। त्यसैगरी, ३३ वटा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायत कम्पनीले सहभागिता जनाएका छन्।

सेरेस मिनी इभीमा नगद छुट

 

उदित यादव, बिक्री प्रबन्धक, मोरङ अटो वर्क्स

सेरेस मिनी इभीलाई यस पटकको नाडा सोमा निरन्तरता दिएका छौं। यसमा नयाँ मोडल  आएको छैन। प्रदर्शनीलाई लक्ष्य गरेर कम्पनीले क्यास छुट अफर राखेको छ। ग्राहकसँग व्यक्तिगत डिल गरेर क्यास छुट दिने व्यवस्था गरिएको छ। नाडा प्रदर्शनीमा कम्पनीले प्रत्येक गाडीमा करिब चार लाख रूपैयाँ छुट दिएको छ।  

सेरेस थ्री एसयुभी र मिनी इभीमा भने कम्पनीले यस प्रदर्शनीमा छुट नदिएको उनले बताए। यादवले सानो भेरिएन्टको मिनी इभीको मूल्य १७ लाख ४९ हजार र टप भेरिएन्टको लागि १८ लाख ९९ हजार रूपैयाँ राखिएको बताए।

यस्तै प्रदर्शनीमा सेरेस थ्री कम्फर्टल्याड र प्रिमियम राखिएको छ। कम्फर्टल्याडको बिक्री मूल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार रूपैयाँ राखिएको यादवले बताए।

नाडा अटो सोमा विभिन्न ब्रान्डका गाडी र तिनीहरू सम्बद्ध सम्पूर्ण जानकारी पाइनुका साथै कम्पनीहरूले ग्राहकका लागि सामान्य अवस्थाभन्दा यसबेला धेरै अफर पनि ल्याएका हुन्छन्।

यस प्रदर्शनीमा कम्पनीले सेरेसको भेरिएन्टमा दिएको अफर नेपालीको क्रयशक्ति अनुरूप भएको जनाउँदै उनले सेरेसमा १.९० एमएम न्यूनतम ग्राउन्ड क्लियरेन्स भएकाले नेपालको बाटोको लागि उपयोगी भएको बताए।

उनले नेपालको सन्दर्भमा यसको मूल्य पनि कम्र्फट भएको हुनाले ग्राहकले सेरेस कम्पनीको गाडीहरू खरिद गर्न अन्य वर्षभन्दा बढी चासो राखेको बताए।

सिट्रोनका गाडीमा चार वर्षको इन्धन र मर्मत सेवा

राकेश श्रेष्ठ, बिक्री प्रबन्धक, सिट्रोन

 

सिट्रोनका बिक्री प्रबन्धक राकेश श्रेष्ठले प्रदर्शनीमा भाग लिनुको प्रमुख उद्देश्य कम्पनीमा भएका उत्पादनलाई धेरै भन्दा धेरै ग्राहकमाझ पुर्‍याउने रहेको बताए।

‘कम्पनीले अहिले दुबै इभी र पेट्रोल/डिजेलबाट कुद्ने गाडीहरू प्रदर्शनीमा राखेको छ’, श्रेष्ठले भने, ‘पेट्रोलबाट चल्नेमा सी थ्री १२ सय सिसी, सी फाइभ १६ सय सिसी टर्बो इन्जिनको छ।’

उनले थपे, ‘इलेक्ट्रिकमा इसिथ्री (२९ किलोवाट ब्याट्री, ४२ किलोवाटको मोटर, ३२० रेन्ज) छ, जसको मूल्य ३६ लाख रूपैयाँ हो।’ प्रदर्शनीमा गाडी बुक गरेका ग्राहकले कम्पनीले इलेक्ट्रिकमा बिमा, क्यास डिस्काउन्ट, अधिकतम क्षमताको गाडी प्रदान गर्ने जस्ता छुट प्रदान गरिरहेको छ।

यस्तै पेट्रोल/डिजेल गाडीमा भने चार वर्षसम्म लाग्ने इन्धन बराबरको क्यास दिने, चार वर्षसम्म मर्मत गरिदिने, बिमा गरिदने जस्ता योजना रहेको उनले बताए।

कम्पनीले प्रदर्शनीमा ३६ लाखदेखि एक करोड ३६ लाख रूपैयाँसम्मका गाडीहरू राखेको छ। इलेक्ट्रिकमा ३६ लाखको छ भने पेट्रोलमा ३६ लाख ४९ हजार र सि फाइभमा एक करोड ३५ लाख रूपैयाँसम्मका गाडीहरू यहाँ छन्।

‘सिट्रोन सि फाइभ एयरक्रस नेपालको सबैभन्दा महँगो सिट्रोन एसयुभी हो’, उनले भने, ‘उत्कृष्ट डिजाइन र आकर्षक सुविधाहरू भएको यस गाडीमा भेन्टिलेटेड सिट, विद्युतीय यात्रु सीट छन्।’

उनले यसमा स्वचालित टर्बोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित भएको बताउँदै अधिकतम पावर र १५ सय आरएमपीमा दुई सय ४० मिटरको अधिकतम टर्क उत्पन्न गर्ने र ५३ लिटरको इन्धन ट्यांकीको साथ ६ स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको जानकारी दिए।

यस वर्षको अटोसोमा आफ्नो स्टलमा पेट्रोलको भन्दा इभी गाडीको लागि ग्राहक बढी उत्सुक भएको उनले बताए। ‘यहाँ स्टलहरू पनि प्रायः इभिकै बढी छन् र यसपालि प्रदर्शनीमा आउने ग्राहकको आकर्षण पनि इभी गाडीमै रहेको देखिएको छ। उनले भने, ‘हामीमा आएको इन्क्वायरी प्रायः इभिकै छ।’

उनले आफ्नो कम्पनीले ग्राहकको आवश्यकता बुझेर, विश्लेषण गरेपछि कुन लाने त्यही अनुसार निर्णय गर्ने बताए।

नामीका तीन भेरिएन्ट नयाँ विकल्प

साहिल तामाङ, सहायक प्रबन्धक, नामी

 

प्रदर्शनीमा कम्पनी (नामी) ले ग्राहकका लागि तीन वटा भेरिएन्ट राखेको छ, इवान, इटु र इथ्री। इवान भेरिएन्टको मूल्य २९ लाख ९९ हजार, इटु भेरिएन्टको ३१ लाख ९९ हजार र इथ्रीको ३४ लाख ९९ हजार रूपैयाँ मूल्य रहेको उनले बताए।

तीन वटै भेरिएन्टमा किफायती र उच्चतम सुविधा संयोजन गर्नुका साथै मूल्य पनि सुलभ भएकाले विद्युतीय सवारी साधनतर्फ फड्को मार्न चाहनेका लागि राम्रो विकल्प भएको तामाङले बताए।

मोरङ अटो वक्र्स वृद्धिले इभी खरिद गर्न चाहनेका लागि आकर्षक र नयाँ विकल्प प्रस्तुत गरेको छ। प्रिमियम सुविधाहरू भएको, पूर्ण रूपमा इलेक्ट्रिक कम्प्याक्ट ह्याचब्याक हो। ७० किलोवाटको मोटरद्वारा सञ्चालित यसमा ३१.४ किलोआवर तथा ४२.३ किलोआवर लिथियम आइरन फस्फेट ब्याट्री राखिएको तामाङले बताए।

यस्तै फल्सडोर ह्यान्डल, फ्रेमलेस डोर, वेलकम सिट, सिट मेमोरी, अटोमेटिक पार्किङ, ड्रअर टेवल टप जस्ता विशेषता यी गाडीहरूमा मात्र पाइने उनले बताए।

नामीले यसको परिष्कृत डिजाइन र उन्नत सुविधाहरूको साथ नेपालमा ह्याचब्याकहरूको लागि नयाँ मानक स्थापित गरेको र भित्री भागमा छालाले बेरिएको स्टेयरिङ ह्विल र मेमोरी–सक्षम सिटहरू सहित प्रिमियम सामग्रीहरू राखिएको उनले बताए।

‘एउटा स्ट्यान्ड आउट विशेषता भनेको वायरलेस चार्जिङ प्याड र पाँच इन्चको जानकारी डिस्प्लेद्वारा पूरक १२.८ इन्चको एचडी टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली पनि जडान गरिएको छ’, उनले भने, ‘ड्राइभरले आफ्नो क्याबिन वातावरणलाई ३२ विभिन्न एम्बिएन्ट लाइटिङ रङहरूसँग पनि अनुकूलित गर्न सक्छन्।’

प्रदर्शनीलाई लक्ष्य गरेर कम्पनीले अहिले थप सात किलोवाट चार्जर प्रदान गरिरहेको उनले बताए। ‘हामीले प्रदर्शनीमा ग्राहक लक्षित बनाउन थप सुविधा दिइरहेका छौं।

उनले भने, ‘रेगुलर त भइहाल्यो थप सात किलोवाट चार्जर पनि प्रदान गरिरहेका छौं’, उनले थपे, ‘यसको मूल्य नै आफैंमा एउटा स्किम हो।’

अहिले प्रदर्शनीमा जुन मूल्य राखेका छौं त्यो नै ग्राहकका लागि छुट मूल्य भएको उनले बताए। यो प्रदर्शनीपछि अहिलेको मूल्य कायम रहन नसक्ने जानकारी पनि उनले दिए। प्रदर्शनीमा राखिएका सबै गाडीको मूल्य छुटसहितको भएको पनि उनले बताए।

उनले नामीको प्रमुख प्राथमिकता सुरक्षा भएको बताउँदै नामीले चिनियाँ एनक्यापबाट पाँच तारे मूल्यांकन प्राप्त गरेको बताए। ‘सबै ट्रिमहरूमा मानक सुरक्षा सुविधाहरूमा डुअल एयरब्यागहरू, वाहन स्थिरता सहायता, हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, र उन्नत चालक सहायता प्रणाली नामीमा छ’, उनले भने।

नामीका गाडीहरू विग ह्याचब्याक भएका कारण र ह्याचब्याक सेग्मेन्टमा भए तापनि गाडी ठूलो र आरामदायी भएको, इन्टेलिजेन्स एसी, एडास लेबल टु जस्ता कारणले पनि प्रदर्शनीमा ग्राहकको मन जितिरहेको दाबी उनले गरे।

पन्च इभीका  नयाँ दुई मोडल

अभिरूचि गिरी, मार्केटिङ म्यानेजर, सिप्रदी ट्रेडिङ

सिप्रदीले प्रदर्शनीमा दुई नयाँ मोडलका गाडी राखेकोमा पन्च इभी पहिलोपटक सर्वाजनिक गरिएको हो। पन्च इभी तीन वटा भेरिएन्टमा रहेकोमा पन्च इभी इम्पावर्ड प्लस एसएमआरको मूल्य ३३ लाख ९९ हजार, पन्च इभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार, र पन्च इभी इम्पावर्ड प्लस एस एल आरको मूल्य ३८ हजार ९९ लाख रूपैयाँ रहेको गिरीले बताइन्।

यस्तै उनले टियागो इभीमा २७ लाख ४९ हजारदेखि सुरु भएर २९ लाख ९९ हजार रूपैयाँसम्म भएको बताइन्।  

‘ग्राहकका लागि हामीले एकदमै कम मूल्य राखेका छौं। पञ्चको सवालमा भने इन्ट्रोडक्ट्री अफ नाडा भनेर बुकिङ गर्ने भनेर एसी र फुल फिचर गाडी नै कम मूल्यमा राखेका छौं।’ उनले भनिन्, ‘टियागो इभीमा राम्रो अफर दिइरहेका छौं र प्रदर्शनीमा बुकिङ गर्ने भाग्यशाली ग्राहकलाई विदेश भ्रमण, बिमाको सुविधा पनि छ।’  

उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त भएको बताउँदै गिरीले यसमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेको जानकारी गराइन्।

साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको बताउँदै उनले नेपालको विभिन्न भू–भागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने र पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी दिइएको उनले जनाइन्।

अहिले प्रदर्शनीमा पेट्रोलले चल्ने गाडीभन्दा इभी गाडीमा आकर्षण देखाएको उनले बताइन्। ‘हाम्रो स्टलमा आएका ग्राहकले इभी गाडीमा रूचि राखेको देखियो’, उनले भनिन्, ‘बैंकिङ र पोलिसीले सपोर्ट गरेकाले पनि होला।’

टाटाको पहिलो पन्च इभी गाडीले इन्डियामा एकदमै राम्रो व्यापार गरिरहेको हुँदा कम्पनीले ढुक्क भएर नेपालमा कम मूल्यमै ल्याएको उनले बताइन्।

हुन्डाईको स्टलमा पनि इभीकै आकर्षण

विनय प्रकाश श्रेष्ठ, डिलर सेल्स प्रमुख, हुन्डाई

हुन्डाईले आफूसँग भएका सबै मोडलका गाडीहरू प्रदर्शनीमा राखेको श्रेष्ठले बताए। ग्रान्ड मोडलमा ग्रान्ड आई टेन निओस् भेरिएन्ट, नेपालमा असेम्बल गरेको भेन्यु मोडलको गाडी, फेसलिफ्ट क्रेटा, र इलेक्ट्रिकमा आयोनिक फाइभ हुन्डाईले प्रदर्शनीमा राखेको छ।

प्रदर्शनीमा राखिएको ग्रान्ड आई टेन निओस् भेरिएन्टको मूल्य ३२ लाख ५६ हजार रूपैयाँदेखि लिएर स्पोर्टस् भेरिएन्टको ३९ लाख ९६ हजार रहेको छ। भेन्युको ४४ लाख ९६ हजारदेखि सुरु भएर ५८ लाख ९६ हजारसम्म रहेको छ। क्रेटामा रहेको फेसलिफ्ट मोडलमा ८५ लाख ९६ हजार, र आयोनिक फाइभ एक करोड तीन लाख ९६ हजारको रहेको श्रेष्ठले बताए।

अरू स्टलहरूमा जस्तै हुन्डाईको स्टलमा पनि इभी गाडीप्रति रूचि देखाउने ग्राहक बढी आइरहेको उनले बताए। ‘सबैजनालाई अहिले इभी गाडीमा चासो छ’, उनले भने, ‘पेट्रोल डिजेल गाडीमा पनि छ तर तुलानात्मक रूपमा इभीमा बढी छ।’

कम्पनीले प्रदर्शनीमा आउने ग्राहकका लागि भनेर विभिन्न आकर्षक योजना ल्याएको छ। हुन्डाई फेस्टिभ डिलाइट प्रदर्शनीमा गाडी किन्ने ग्राहकले पनि सहभागिता जनाउन पाउने, नेपालभरिको सोरूमबाट गाडी किनेमा ग्राहकले १० लाखसम्म क्यास छुट, स्क्रयाच कार्ड कुपनबाट छानिएका एकजनाले गाडी पाउने जस्ता सुविधाहरू कम्पनीले ग्राहकका लागि ल्याएको बताए।

प्रकाशित: १३ भाद्र २०८१ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App