२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

आगलागीपछि कुलरिया विद्युत् गृहको उत्पादन ठप्प

ट्रान्सफरमा आगलागी भएपछि राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाई आयोजनाको विद्युत् गृह बन्द भएको छ। असार ३१ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाका सूचना अधिकारी नविन पौडेलले जानकारी दिएका छन्।

उनले ट्रान्सफर्मर मर्मत गर्नुपर्ने भएकोले विद्युत् उत्पादनमा केही समय लाग्न सक्ने बताए। आयोजनाले गत माघ १६ गतेबाट परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरेको थियो। सोही मितिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको सूचना अधिकारी पौडेलले बताए। 

आगजनीबाट जलेको ट्रान्सफर्मरको सामान नेपालमा नपाइने निर्माण कम्पनीले जानकारी दिएको छ। निर्माण कम्पनी टुण्डीका उदयराज पोखरेलले भारतमा समेत सो सामान बनाउन लगाउनुपर्ने बताए।

‘त्यो सामान नेपाल त के भारतमा समेत पाइँदैन’ उनले भने–‘जलेको सामानको पठाए पछि त्यसैका आधारमा भारतमा बनाउन लगाइएको छ।’

विद्युत् गृह निर्माणको समयावधि आगामी पुष मसान्त सम्म रहेको छ। निर्माण कम्पनीले त्यसपछिको थप एक वर्ष समेत विद्युत् गृहमा आउने समस्याको जिम्मेवारी लिनुपर्ने सम्झौतामा उल्लेख रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

४ दशमलव ७ मेगावाट क्षमता रहेको विद्युत् गृहले हाल ३ दशमलव १ मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो। तीन वटा युनिटबाट विद्युत् उत्पादन गर्ने भनिए पनि दुई वटाबाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो।

विभिन्न समयमा पाँच पटक म्याद थप गरेर निर्माण भएको विद्युत् गृहमा आयोजनाले १ अर्ब लगानी गरेको छ। उसले विद्युत् बेचेर वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोकेको आयोजना प्रमुख रबिन्द्रबहादुर थापाले जानकारी दिए।

विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारणमा जोडिए पनि विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार भएको छैन। अध्ययनका नाममा कार्यविधि विगत सात महिनादेखि मन्त्रालयमा थन्काइएको छ।

आयोजनाले पुष महिनामै कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो। कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ। सो समितिको सदस्यहरूमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ।

सिँचाइसँगै विद्युत् समेत उत्पादन थालेको यो आयोजना देशकै नमुना बहुउद्देश्यीय परियोजना हो। आयोजनाले सिँचाई, विद्युत्, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ। 

प्रकाशित: ६ भाद्र २०८१ १८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App