१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

जलवायुजन्य बाढीले थामेको पर्यटन तहसनहस

सगरमाथा क्षेत्रमा लुकेको रत्न भनेर चिनिने थामे गाउँमा आएको बाढीले त्यस क्षेत्रलाई तहसनहस बनाइदिएको छ। क्षणभरको बाढीले प्राकृतिक छटाले भरिपूर्ण त्यो गाउँलार्ई भौतिक रूपमै क्षतविक्षत बनायो।

शेर्पा समुदायको बसोबास रहेको थामे उच्च हिमाली क्षेत्रको पदयात्राका लागि चर्चित गन्तव्यमा पर्छ। पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेका चर्चित तीनवटा पासहरू (रेन्जो ला, चो ला, कोङ्मा ला) पार गर्ने क्रममा होस् वा सगरमाथा आधार शिविर पदयात्राको क्रममा रोकिन होस् अथवा सांस्कृतिक अध्ययन अनुसन्धान गर्न थामे क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि सुन्दरताले भरिपूर्ण गन्तव्य हो।

थामे सगरमाथा आधार शिविरतर्फ जाने मूल बाटो होइन तर शेर्पा संस्कृतिको सुन्दर ठाउँ भएकाले त्यहाँ जान पर्यटक लालयित हुन्छन्। तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित थामे गाउँ नाम्चेबाट तीन/चार घण्टाको दूरीमा पुगिन्छ। यो गाउँ खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ।

थामेभन्दा उपल्लो क्षेत्रका पाँच हिमतालमध्ये दुईवटा फुटेपछिको बहाबले हिलोमाटो र ढुंगासहित (गेग्य्रान) बगाएर ल्याउने क्रममा २३ घर, पाँच वटा होटल, एक पुल, एक विद्यालय, एक होस्टेल, एक क्लिनिक र लघु जलविद्युत् आयोजनालगायत नष्ट भएको छ। यस्तै बाढीको बहावले सो क्षेत्रको अन्य भौतिक संरचनामा समेत व्यापक क्षति भएको गाउँपालिकाले बताएको छ।

गोक्यो पास गर्न थुप्रै पर्यटकहरू थामे हुँदै जाने भएकाले आउँदै गरेको पर्यटकीय सिजनको मुखैमा भएको प्राकृतिक विपत्तिले पर्यटकीय गतिविधिलाई कुनै न कुनै तवरले असर पारेको थामेका वडा सदस्य फूल माया कामीले बताइन्। ‘थामेपट्टीबाट गोक्यो पास गर्न थुप्रै पर्यटकहरू जाने गर्छन्।’ उनले भनिन्, ‘अस्वाभाविक रूपमा आएको यस बाढीले भौतिक पूर्वाधारहरूलाई असर पु¥याउँदा पर्यटकीय दृष्टिबाट कुनै न कुनै असर गर्छ।’ यस्तै पर्यटकलाई सेवा सुविधा दिने होटल तथा लजहरू बाढीले नष्ट गरिदिएकाले पर्यटकीय पक्षबाट पनि थामे क्षेत्रलाई निकै हानी भएको बताइन्। थामेमाथिको टसी लाप्चा ‘ट्रेल’ पर्यटकहरूका लागि मनोरमका साथै चुनौतीपूर्ण र पर्यटकीय गन्तव्य हो। जुन पाँच हजार सात सय ५५ मिटर उचाइमा पर्छ। साना–ठूला हिमताल/हिमपोखरी भएको थामेमा बर्सेनि हजारै पर्यटकहरू आवतजावत गर्छन्।

बर्खाको समयमा भत्किएका संरचनाहरू पुनः निमार्ण गर्न अन्य समयभन्दा बढी लाग्ने बताउँदै वडा सदस्य कामीले भनिन्, ‘अहिलेको समयमा बिग्रिएको संरचना बनिहाल्ने अवस्था नहुन सक्छ।’ उनले थपिन्, ‘यस विपत्तिले सिजनको मुखैमा थामे गाउँलाई पर्यटकीय दृष्टिले असर गर्‍यो।’ उनले माथिल्लो भेगमा रहेका अन्य हिमतालहरू पनि फुट्ने संघारमा रहेको भन्ने सुनेको अवस्थामा थामेमा यो सिजन पर्यटकीय गतिविधिहरू अघिल्लो सिजनभन्दा घट्ने उनको धारणा छ।

बाढी आएका कारण हाल थामे गाउँमा जाने बाटो अवरूद्ध भएको, बत्ती नभएको तथा फोन नलाग्ने समस्या देखिएको छ। पर्यटकीय गाउँ, भौतिक सम्पत्तिहरू बगाएर नष्ट भएको अवस्था छ। प्राकृतिक रूपमा सुन्दर गाउँ छिनभरमै बगरमा परिणत भएको छ। यस प्राकृतिक प्रकोपले गर्दा थामेमा पर्यटकीय सिजनको मुखैमा आएर विपत्ति परेको छ।

ट्रेकिङ एजेन्सीहरूले चाम्चेबाट थामेमा बस्ने गरी आइटिनेरी बनाउने भएकाले शुक्रबार आएको बाढीका कारण यस सिजनमा त्यस ठाउँको प्याकेज नबन्ने अवस्था आउन सक्ने ‘वन्डर लस्ट वल्र्ड गाइड’ अवार्ड जितेका फुर्वा शेर्पाले बताए। ‘एजेन्सीहरूले गोक्यो जाने रूटमा नाम्चेबाट प्रायः पर्यटकलाई थामेमा बसाउने गर्छन्।’ शेर्पाले भने, ‘अब त्यहाँ जाने रूटमा बाढीले समस्या आएपछि यस सिजनमा थामेको आइटीनेरी प्याकेज यसपाली राख्न नसक्ने सम्भावना बढी छ।’ उनले थामे सुन्दर शेर्पा गाउँ भएकाले प्रायः पर्यटकहरू एक दिनका लागि भनेर पनि थामेमा जाने गरेको बताए।

पर्यटकीय मौसम नभएकोे, गाउँको आधाभन्दा बढी जनसंख्या काठमाडौं बसोबास गरिरहेको र त्यहाँ बसेकाले पनि बाढी आइरहेको थाहा पाएकाले मानवीय क्षति हुन पाएन। बाढीले थामेको मितेरी पुल बगाएको र यसले आवतजावतमा समस्या भएको बताउँदै गाउँपालिका ४ का अध्यक्ष लक्ष्मण अधिकारीले तत्कालै सो पुल निमार्ण गरिने जानकारी दिए। ‘थामेको पुल बगाएको छ, पुल निमार्ण कार्य तत्कालै सुरू भइहाल्छ’, अधिकारीले भने, ‘पुल बन्न महिना बढी लाग्छ होला।’ उनले पर्यटक आगमनको लागि सकेसम्म सहज वातावरण बनाउन त्यहाँका प्रतिनिधिहरू सकेसम्म लागिपरेको जानकारी दिएका छन्।

सन् १९५१ मा प्रसिद्ध बेलायती आरोही एरिक सिप्टनले रोल्वालिङ उपत्यका, टसी लाप्चा ‘ट्रेल’ आसपास हिम मानव यतिको फोटो खिचेका थिए। यसपछि नै यति नेपालको हिमालयको यस क्षेत्रमा पाइन्छ भन्ने विश्वास संसारभर प्रचार भएको थियो। थामे रोल्वालिङ सर्किट ट्रेक र रेन्जो ला पास ट्रेकको प्रवेशद्वारको रूपमा चर्चित छ। साथै यस गाउँ चर्चित र सम्मानित पर्वतारोही आङरिता शेर्पा र कीर्तिमानी आरोही अप्पा शेर्पाको गाउँ समेत हो।

प्रकाशित: ४ भाद्र २०८१ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App