नेपालको अटोमोबाइल उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा) ले यस वर्षको ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने तयारी गरेको छ।
आगामी अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने यस भव्य मेलाले अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधि र प्रवृत्तिहरूको व्यापक प्रदर्शन गर्नेछ।
यस वर्षको प्रदर्शनीको प्रमुख प्रायोजकको रूपमा टाटा.ईभी रहेका छ भने सह-प्रायोजकको रूपमा सर्भो लुब्रिकेन्ट्स र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साथ दिनेछन्।
आयोजकहरूले यस प्रदर्शनीले नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने र अटोमोबाइल क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास गरेका छन्।
प्रदर्शनी संयोजक अनुप कुमार बरालका अनुसार यस वर्षको शोमा २४ चार–पांग्रे, १९ दुई–पांग्रे, र १२ व्यावसायिक सवारी साधन ब्रान्डहरूको सहभागिता रहनेछ।
साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट्स, टायर, ब्याट्री र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शनी गर्नेछन्। वित्तीय क्षेत्रमा समेत ७ वटा प्रमुख संस्थाहरूले आफ्ना सेवा र वित्तीय समाधानहरू प्रस्तुत गर्नेछन्।
आयोजकहरूले हालको आर्थिक मन्दीको समयमा यस शोले अटोमोबाइल उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। प्रदर्शनीले आर्थिक गतिविधि बढाउने मात्र नभइ, उद्योगभित्रको आशावाद र लचीलापनलाई पनि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीलाई आगन्तुकहरूको सुविधाका लागि विभिन्न खण्डमा विभाजन गरिएको छ। टिकट अग्रिम रूपमा खल्ती एपमार्फत किन्न सकिनेछ, जहाँ २०% क्यासब्याकको सुविधा पनि उपलब्ध गराइएकाे छ। मिडिया कवरेजलाई सहज बनाउन विशेष मिडिया डेस्कको व्यवस्था गरिएको छ भने ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सूचना डेस्क पनि रहनेछ।
यस शोमा ७५ हजार भन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। आगन्तुकहरूले नयाँ मोडेल, प्रविधि र वित्तीय विकल्पहरूको अनुभव गर्ने मौका पाउनेछन्। साथै, भाग्यशाली सहभागीले सिजी मोटर्सद्वारा प्रायोजित हिरो जुम स्कूटर जित्ने अवसर पनि पाउनेछन्।
प्रकाशित: ३० श्रावण २०८१ १८:५३ बुधबार





