२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाँकेमा राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न पाइने

रात्रिकालीन/पूर्ण समयमा होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनका लागि पहिलो पटक बाँकेमा मापदण्ड निर्माण गरिएको छ। जिल्लामा सञ्चालित रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसायलाई व्यवस्थित तथा मर्यादित व्यवसायको रूपमा विकास गर्ने उद्देश्यले यो मापदण्ड निर्माण गरिएको हो।

मापदण्ड निर्माण भई कार्यान्वयनमा समेत आइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसभन्दा अघि राति ११ बजेसम्म मात्र होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन हुँदै आएका थिए। अब यसलाई बढाएर १२ सम्म पुर्‍याइएको छ।

सुरक्षाको दृष्टिले संवेदनशील मानिने बाँकेमा सुरक्षा समितिको निर्णयअनुसार समय निर्धारण गरिएको हो। राति १२ सम्म सञ्चालन गर्दा सुरक्षा चुनौतीमा जोखिम आए अर्को निर्णयसमेत हुन सक्ने जिल्ला सुरक्षा समितिले जनाएको छ।

व्यवसायसँग अन्तरसम्बन्धित क्रियाकलाप र संलग्न हुने सञ्चालक, श्रमजीवी, कर्मचारी तथा कामदार, सेवाग्राहीका साथै सरोकारवाला निकायको भूमिका एवम् कार्यलाई मापदण्ड निर्धारण गरी व्यवस्थित एवम् जिम्मेवार बनाउन व्यवसायको अनुगमन तथा नियमन गर्न वाञ्छनीय भएकाले गृह मन्त्रालयको पूर्ण समयमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि २०७९ को अधीनमा रही जिल्ला सुरक्षा समितिले मापदण्ड बनाएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

रात्रिकालीन/पूर्ण समयमा व्यवसाय सञ्चालन गर्दा समितिको सिफारिसमा स्थानीय प्रशासनले तोकेको समयमा मात्र सञ्चालन गर्नुपर्नेछ। ‘कुनै पनि व्यवसायीले प्रशासनले तोकेको रात्रिकालीन समयबाहेकको समयमा व्यवसाय सञ्चालन गर्नुपर्दा जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात संलग्न गरी निवेदन दिनुपर्दछ,’ उक्त मापदण्डमा भनिएको छ, ‘निवेदन प्राप्त भएपछि मापदण्ड पूरा भए/नभएको सन्दर्भमा अनुसूची २ मा उल्लिखित सूचकहरूको आधारमा स्थलगत रुपमा अनुगमन गरी कुनै व्यवसाय वा एकै प्रकृतिका व्यवसाय भएका कुनै क्षेत्रमा अनुगमन प्रतिवेदनका आधारमा स्थानीय प्रशासनले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिन सक्नेछ र सोको अभिलेख जिल्ला प्रशासन कार्यालयमा रहनेछ।’

रात्रिकालीन/पूर्ण समयमा मनोरञ्जनात्मक व्यवसाय सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य र मान्यता प्रतिकूल नहुने गरी सञ्चालन गर्नुपर्नेछ र त्यस्ता व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुनमा तोकिएको व्यवस्थाअनुसार गर्नुपर्ने मापदण्डमा जनाइएको छ।

‘सेवा प्रदायक र सेवाग्राहीले पालना गर्नुपर्ने जिम्मेवारी तथा दायित्व सबैले देख्न र पढ्न सक्ने गरी सूचना पाटीमा राख्नु पर्नेछ। कलाकारहरूले गायन तथा नृत्य प्रदर्शन गर्दा मौलिकता, संस्कृति झल्कने तथा सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्नेछ र डान्सबार तथा नृत्य मनोरञ्जन हुने स्थानमा अश्लीलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य प्रदर्शन गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ मापदण्डमा भनिएको छ, ‘सेवा लिए पश्चात् व्यवसायस्थलबाट घरसम्म पुर्‍याइदिन सेवाग्राहीले अनुरोध गरेमा व्यवसायीले सशुल्क सवारी साधनको व्यवस्था गरेको हुनुपर्नेछ।’

डान्स, रेस्टुरेन्ट एण्ड बार, दोहोरी, लाइभ ब्यान्ड, लाउन्ज बार, पब बार, क्लब र डिस्को जस्ता व्यवसायमा १८ वर्षमुनिका बालबालिकाहरूलाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन। १८ वर्ष नपुगेका ग्राहकलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न पाइने छैन र धूम्रपान तथा सुर्ती सेवन नगर्ने व्यक्तिलाई असर नपर्ने स्थानमा धूम्रपान तथा सुर्ती सेवन गर्ने प्रयोजनका लागि छुट्टै क्षेत्र तोक्नु पर्ने उल्लेख गरिएको छ।

व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि नियुक्त कर्मचारी तथा कामदारलाई काममा लगाउँदा प्रचलित कानुनमा तोकिएको व्यवस्था गर्नुपर्ने बताइएको छ।

‘आवश्यक पर्ने कर्मचारी तथा कामदारहरुलाई नियुक्ति पत्र दिएर मात्र काममा लगाउने। कानुनले निषेध गरेको बाल श्रमिकको प्रयोग नगर्ने सुनिश्चितता गर्ने। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नघट्ने गरी कर्मचारी तथा कामदारको योग्यता, क्षमता र पद अनुसार मासिक तलब तथा सेवा, सुविधाको व्यवस्था गर्ने साथै जोखिमपूर्ण काम भएमा जोखिम बिमाको समेत व्यवस्था मिलाउने,’ मापदण्डमा भनिएको छ, ‘अतिरिक्त समयमा काम लगाउनुपर्दा समयावधिका आधारमा अतिरिक्त सुविधा दिने। तलब, भत्ता तथा अन्य आर्थिक सुविधा बैंकिङ प्रणालीमार्फत् उपलब्ध गराउने। कर्मचारीलाई आलोपालो वा सिफ्टको व्यवस्था गरी काममा लगाउने। कर्मचारी तथा कामदारले पालना गर्नुपर्ने आचरण निर्धारण गरी सोको पालना गर्ने व्यवस्था मिलाउने।’

व्यवसायीले कार्यस्थलमा श्रमजीवी महिलामाथि यौन उत्पीडन, यौन शोषण र अमर्यादित व्यवहार हुन नदिन आचारसंहिताको पूर्ण पालना गर्नु/गराउनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सेवाग्राहीबाट श्रमजीवी महिलालाई यौन उत्पीडन, यौन शोषण र उनीहरुको मर्यादामा आँच पुग्ने काम कारबाही गरेमा वा गर्न लगाएमा त्यसबाट सुरक्षा प्रदान गर्ने/गराउने। श्रमजीवी महिलाको सुरक्षाको यथोचित प्रबन्ध गर्ने/गराउने। श्रमजीवी महिलाको लागि सुरक्षित कोठामा बच्चालाई स्तनपानको व्यवस्था गर्ने। श्रमजीवी महिलाको लागि सुरक्षित पोसाक परिवर्तन कक्षको व्यवस्था गर्ने मापदण्ड बनाइएको छ।’

श्रमजीवी महिला कर्मचारीले गरेको गुनासोको तत्काल समाधान गर्ने/गराउने, रेस्टुरेन्ट, मसाज पार्लर, डान्सबार वा दोहोरी आदिमा कुनै सेवाग्राहीले प्रचलित कानुनबमोजिम गर्न नहुने तथा सामाजिक मर्यादाविपरीत कार्य गरेमा त्यस्तो सेवाग्राहीबाट श्रमजीवी महिलालाई बचाउन वा निजलाई त्यस्तो स्थानबाट निकाल्न सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने, मसाज पार्लरको ढोकामा चुकुल वा लक गर्न नपाउने व्यवस्था गरिएको छ।

त्यस्तै व्यवसाय सञ्चालकले प्रचलित श्रमसम्बन्धी कानुन तथा अन्य कानुनको पालना गर्नु/गराउनु पर्नेछ र सेवाग्राहीको रूपमा संलग्न हुने व्यक्तिले श्रमजीवी कर्मचारी तथा कामदारहरुप्रति सम्मानजनक व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्न एवम् अभद्र व्यवहार नगर्ने, यौन उत्पीडन, यौन शोषण तथा अमर्यादित व्यवहार गर्न वा गर्न लगाउने वा सोको दुरुत्साहन गर्न नदिने र कानुनले निषेधित गरेको अन्य कार्य गर्नु/गराउनु नहुने कुरा मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ।

पश्चिमको प्रमुख व्यापारिक बाँके भारतीय प्रवेशद्वार हो। जिल्लामा क्यासिनो, मसाज सेन्टर र दोहोरी साँझले भारतीय ग्राहक तानिरहेका छन्। यो निर्णयले यहाँको व्यवसायलाई थप टेवा पुग्ने होटेल व्यवसायीहरुको भनाइ छ।

प्रकाशित: २७ श्रावण २०८१ १८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App