२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रको चिन्ता: हवाई दुर्घटनाले आगामी सिजन प्रभावित हुन सक्छ

पोखरेली पर्यटन व्यावसायीको एउटा टोली केहीदिन अघि भुटान भ्रमणमा थियो। भ्रमण दौरान भुटानका पर्यटन व्यावसायीसँगको छलफलमा भुटानी व्यावसायीले नेपालमा पछिल्लो समय भएका हवाई दुर्घटनाबारे चासो व्यक्त गरेका थिए। बारम्बारका हवाई दुर्घटनाले नेपालको हवाई उड्डयन क्षेत्र असुरक्षित भएको भन्ने भुटानी व्यावसायीको गुनासो थियो।  

दुईसाता अवधिमा समग्र मुलुकलाई नै स्तब्ध बनाउनेगरि दुईवटा हवाई दुर्घटना हुँदा त्यसको दीर्घकालिन असर पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको चिन्ता छ। दुइसाता अवधिमा भएका दुर्घटनामध्ये हेलिकप्टरमा चारजना चिनियाँ नागरिक परेका थिए। नेपाल घुम्न आएका पर्यटक नै हेलिकप्टर दुर्घटनामा परेको सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्र झनै मारमा परेको व्यावसायीको भनाई छ।  

व्यावसायीका अनुसार दुर्घटनापछि नेपालको समग्र हवाई उड्डयन क्षेत्रप्रति विदेशी पाहुनाले पनि चाँसो दिने गरेका छन्। ‘नेपालको हवाई क्षेत्रप्रति अन्तर्राष्ट्रिय बजारको समग्र चाँसो र चिन्ता छ । भुटानमा पनि हामीले त्यही चाँसो र चिन्ता सुन्नुप¥यो,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले भने, ‘हामीसँगको भेटमा भुटानी व्यावसायीले नेपालमा बारम्बार भईरहेका हवाई दुर्घटनाप्रति चिन्ता जनाए। नेपालमा दोहोरिरहने हवाई दुर्घटनाले नेपालको हवाई उड्डयन क्षेत्र नै असुरक्षित रहेको सन्देश उनीहरुले बुझेका छन्।’

भुटानका मात्र नभई अरु मुलुकका नागरिकले पनि नेपालको हवाई क्षेत्रबारे चिन्ता जनाएको व्यावसायीले बताउने गरेका छन्। ‘नेपालको हवाई उडान साच्चै असुरक्षित हो र भन्ने प्रश्न अन्तर्राष्ट्रिय बजारमा उब्जेको छ,’ आचार्यले भने, ‘अझ पर्यटक नै दुर्घटनामा परेपछिको चिन्ता स्वभाविक हो। पर्यटन क्षेत्रमा सुरक्षित पहुँच आवश्यक पर्ने भएपनि बारम्बारका दुर्घटनाले पर्यटकलाई नेपाल आउनमै झस्काउने अवस्था छ।’ 

पोखरामै भएको अघिल्लो हवाई दुर्घटनाको सन्देश सेलाउन नपाउँदै अरु दुर्घटना थपिँदा नेपालको पर्यटन क्षेत्रलाई नै भार थपिएको उनले बताए। बारम्बारका हवाई दुर्घटनाले नेपालको उड्डयन क्षेत्र नै असुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा त्यसको मार आगामि पर्यटकीय सिजनमा पर्न सक्ने जोखिम रहेको उनले बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै हवाई दुर्घटना भएको रहेछ भन्ने सन्देश फैलिएको छ। दुर्घटनापछि पाहुनाले यात्रा नै रोकेको नभई उनीहरु त्रसित बनेका छन्। नेपालको हवाई उड्डयन क्षेत्र असुरक्षित रहेको भन्ने सन्देशले पाहुना हच्किन सक्छन,’ आचार्यले भने।

अर्का एकजना व्यावसायीका अनुसार हेलिकप्टर दुर्घटनामा चिनियाँ पाहुना परेपछि नेपालप्रति चिनियाँको नजर फेरिएको छ। नेपाल घुम्ने क्रममा आफ्ना नागरिकले हवाई दुर्घटनामा ज्यान गुमाउनुपरेको भन्दै चिनियाँ पाहुना नेपालप्रति केही सतर्क बनेका छन्। ‘चिनियाँ पर्यटन बजार सानातिना घटनाबाट पनि प्रभावित हुन्छ। हेलिकप्टर दुर्घटनामा आफ्ना नागरिक गुमाउँदा चिनियाँ बजार अलि बढी नै डराएको छ,’ ती व्यावसायीले भने, ‘नेपालको हवाई क्षेत्र पुरै असुरक्षित भएको भन्ने सन्देश प्रवाह भएको छ। जसले गर्दा चिनियाँको आगमन आगामि दिनमा अझै प्रभावित हुनसक्छ।’

ती व्यावसायीका अनुसार चिनियाँ पाहुना अरुको तुलनामा बढी संवेदनशील हुन्छन्। चिनियाँसँगै कोरियन र जापानी पाहुना पनि बढी संवेदनशीन नै हुन्छन्। ‘चिनियाँ पाहुनाको भित्रि सञ्जाल यतिसम्मको बलियो हुन्छ की कुनै घटना परिस्थितिले सहजै प्रभावित पार्छ,’ उनले भने, ‘पोखरामा हवाई खेलकुद क्षेत्रमा भएका केही घटनाक्रमले यसअघि पनि बढी प्रभावित भएका थिए। साना घटनानाले पनि चिनियाँ बजार तर्सिन्छ।’

चिनियाँ पाहुना लामो दूरीको पदयात्रा रुचाउँदैनन्। तर, पोखराको आकाशमा प्याराग्लाइडिङ, अल्ट्रालाइट र हेलिकप्टरमा सयर गर्ने उनीहरुको चाहना हुन्छ।

 ‘चिनियाँ पाहुना हेलिकप्टरमा यात्रा गर्छन्। हेलिकप्टर दुर्घटनामा उनै चिनियाँ परेपछि नेपालको हवाई उड्डयन क्षेत्र नै असुरक्षित भएको चिन्ता उनीहरुमा छ,’ ती व्यावसायीले भने, ‘नेपालको हवाई उड्डयन नै असुरक्षित भएको भन्ने उनीहरुले बुझ्न थालेका छन्। दुर्घटनाको मारमा पर्यटन क्षेत्र परेको छ।’ 

पछिल्ला हवाई दुर्घटनापछि चिनियाँ पाहुना बढी हच्किएको उनले सुनाए। ‘मुग्लिन–नारायणगढ बस दुर्घटनाले भारतीय पाहुना हच्केका छन्। हवाई दुर्घटनाले चिनियाँ पाहुनालाई बढी प्रभाव पारेको छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि बारम्बारका हवाई दुर्घटनाप्रति अन्तर्राष्ट्रिय निकायको पनि चिन्ता रहेको बताउँछन्। ‘पर्यटन क्षेत्रमा पहुँच सुरक्षित हुनुपर्छ। तर, नेपालमा भईरहेका केही घटनाक्रमले पर्यटनमा प्रभाव पारेको छ,’ श्रेष्ठ भन्छन, ‘नेपालको हवाई आकाशप्रति नै अविश्वास सिर्जना हुने अवस्था आएको छ।’ श्रेष्ठका अनुसार विदेशी नागरिकसँगको अनौपचारिक छलफलमा यस्ता विषयले प्राथमिकता पाउँछन्।  

‘पर्यटकीय सिजनको मुखमा नेपालको हवाई उड्डयन क्षेत्रमा प्रश्न उठ्नेगरि घटना भए, यसले नेपालको सिंगो हवाई क्षेत्रप्रति अविश्वास फैलिन सक्ने त्रास छ,’ उनले भने, ‘यसलाई चिर्न सरकारले बेलैमा ध्यान दिनुपर्छ। आगामि दिनमा घटना हुन नदिन सरकारले उचित कदम चालेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्छ।’

प्रकाशित: २६ श्रावण २०८१ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App