१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

हनुमानढोका क्षेत्रमा घुम्ने पर्यटकबाट १७ करोड बढी रकम संकलन

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८०/८१ सकिँदै गर्दा हनुमानढोका दरबार क्षेत्रबाट पर्यटन तथा अन्य सेवा शुल्क बापत १७ करोड ७३ लाख रूपैयाँ संकलन गरेको छ। हनुमानढोका दरबार क्षेत्र कार्यालयले आव २०८०/८१ मा पर्यटन र छायांंकन शुल्क तथा टेन्डर फारम बिक्री रकमसमेत गरी उल्लिखित रकम संकलन गरेको हो।

२०८०/८१ मा ३८ हजार चार सय ८० जना विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्र अवलोकन गरेकोमा सबैभन्दा धेरै रकम विदेशी पर्यटक घुम्न आएको शुल्क बापत संकलन भएको हो। कार्यालयको तथ्यांक अनुसार विदेशी पर्यटक घुम्न आएको शुल्क बापत १७ करोड ६९ लाख ६१ हजार रूपैयाँ, छायांकन शुल्क बापत तीन लाख ३५ हजार र टेन्डर फारम बिक्री रकम बापत १० हजार रूपैयाँ संकलन भएको छ।

‘कार्यालयले सबैभन्दा धेरै रकम पर्यटन शुल्क बापत संकलन गरेको छ। यसै क्रममा आव २०८०/८१ मा कार्यालयले पर्यटन सेवा शुल्कबापत १७ करोड ६९ लाख ६१ हजार रूपैयाँ संकलन गरेको छ।’ कार्यालयका कलेक्टर सर्वज्ञरत्न शाक्यले भने, ‘पछिल्लो समय हनुमानढोका दरबार क्षेत्रमा पर्यटकहरू आउने क्रम बढेसँगै सेवा शुल्क दस्तुरबापतको रकममा पनि व्यापक वृद्धि भएको छ।’

उनले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा शुल्क संकलनमा झन्डै दोब्बर वृद्धि भएको बताउँदै उनले थपे, ‘नेपाल आउने पर्यटक वृद्धि भएसँगै शुल्क संकलन पनि वृद्धि भएको हो। कार्यालयको तथ्यांक अनुसार आव २०७९/८० मा हनुमानढोका दरबार क्षेत्रबाट पर्यटन र छायांंकन शुल्क तथा टेन्डर फारम बिक्री रकम बापत नौ करोड ८५ लाख ८१ हजार रूपैयाँ रकम संकलन गरेको थियो भने यसपालि झन्डै १८ करोड रूपैयाँ हाराहरी पुगेको छ।’  

कार्यालयले गत कात्तिकमा मात्रै दुई करोड ४२ लाख ८८ हजार रूपैयाँ संकलन गरेको छ। यो रकम आव २०८०/८१ का सबै महिनाभन्दा धेरै हो। कात्तिकपछि गत चैतमा हनुमानढोका दरबार क्षेत्रमा धेरै रकम संकलन भएको थियो। चैत महिनामा दरबार क्षेत्रबाट दुई करोड ४२ लाख ४९ हजार रूपैयाँ संकलन भएको छ।

यस्तै चैत र जेठ महिनामा क्रमशः एक करोड ६५ लाख ८३ हजार, एक करोड २३ लाख २० हजार रूपैयाँ संकलन गरेको छ। कार्यालयले यी चार महिनामा मात्रै आठ करोड २७ लाख १५ हजार रूपैयाँ पर्यटन र छायांंकन शुल्क तथा टेन्डर फारम बिक्री बापत संकलन गरेको हो।  

चाडपर्व र जात्राको समयमा पर्यटकहरू धेरै आउने बताउँदै कार्यालयका कलेक्टर शाक्यले भने, ‘चाडपर्व र जात्राको समयमा अन्य महिनाभन्दा धेरै पर्यटक आउँछन्।’

उनले थपे, ‘असारमा पानी पर्ने भएकाले त्यत्तिधेरै आउँदैनन्, फेरि यो अफ सिजन पनि हो। अब साउन, भदौदेखि विस्तारै पर्यटकको संख्या बढ्दै जान्छ।’

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत कार्यालयले विदेशी पर्यटकका लागि निश्चित रकम लिँदै आएको छ। कार्यालयले सार्क मुलुकका लागि पाँच सय र अन्य मुलुकका पर्यटकका लागि हजार रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।

निश्चित शुल्क तिरेपछि विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्र परिसरमा पर्यटकहरू मजाले घुम्न पाउँछन्। एक पटक प्रवेश शुल्क तिरेपछि कुनै पनि पर्यटकले आफू नेपालमा रहुन्जेल सो क्षेत्रमा पटक पटक घुम्न पाउँछन्। यसका लागि कार्यालयले उनीहरूलाई कार्ड तयार गरिदिन्छ। यसैक्रममा छायांकन शुल्कबापत तीन लाख ४५ हजार र टेन्डर फारम बिक्री रकम १० हजार संकलन भएको छ।

यस्तै कार्यालयले ठूलो पर्दाको फिल्मको छायांकनको लागि महानगरपालिकाले २० हजार रूपैयाँ र म्युजिक भिडियोका लािग दश हजार रूपैयाँ शुल्क लिँदै आएको छ। विदेशी फिल्मको छायांकनका लागि ५५ हजार र म्युजिक भिडियोका लागि २५ हजार रूपैयाँ तिरेपछि सो क्षेत्रमा छायांकन गर्न दिइने गरेको कलेक्टर शाक्यले बताए।

हनुमानढोका दरबारक्षेत्र नेपालको मात्र नभई विश्वकै चर्चित पर्यटकीय गन्तव्यभित्र पर्छ। यो नेपालको ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। काठमाडौं उपत्यकामा रहेका तीनवटा दरबार स्क्वायरहरूमध्ये हनुमान ढोका दरबारक्षेत्र एक हो। जुन युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ।

यसको निमार्ण तेस्रो शताब्दीमा सुरू भएको मानिन्छ। समयक्रमसँगै यसका संरचनाहरू थपिँदै गए। यस्तै बाहिरी परिसरमा मल्ल राजाका पालमा बनेका १६ औ शताब्दीका ऐतिहासिक मन्दिरहरू पनि रहेका छन्।

प्रकाशित: २४ श्रावण २०८१ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App