रौतहट – शुक्रबार विहान परेको असिनाले रौतहटमा करोडौँको क्षति पुर्याएको छ। शुक्रबार विहान सवा आठ बजेदेखि हावाहुरीसंगै परेको असिनाले रौतहटका दर्जन गाउँमा निकै ठूलो क्षति र अन्य भागमा सामान्य क्षति पुर्याएको छ।
जिल्लाको मत्सरी, पचरुखी, गंगापिपरा र भलोहिया लगायतको गाउँमा परेको असिनाले अधिकांश खपडा र टायलले छाएको घरको छानो लगभग सखाप भएको छ । साढे दुई सय ग्रामसम्मको असिना पर्न थालेपछि घरका बालबालिकालाई लिएर ठूलाहरूसमेत खाटमुनि लुक्न बाध्य भएका थिए। करिब आधा घन्टासम्म परेको बाक्लो असिनाले जनजीवनलाई निकै प्रभावित पारेको छ । यसैगरी जिल्लाको दुई तिहाई आँप खेतीमा व्यापक क्षति पुगेको छ । असिनाले आँपको चिचिलालाई झारेपछि किसानलाई निकै घाटा भएको छ ।
‘बालबालिकाहरूसँग घरको महिला पुरुषहरूलाई जोगाउन खाट मुनि बसेर बचाएपनि घरको छाना र खेतवारीमा लगाएका बालीहरू सबै एकै छिनको प्राकृतिक ताण्डवबाट तहसनहस भए’ मत्सरीका पूर्णानन्द झाले बताए।
“विवेचना गरेर साध्य छैन् आफूसहित परिवारलाई जोगाउन सबै भन्दा चुनौती थिए, जेनतेन सवैलाई सुरक्षित राख्न सफल भए” झाको कथन छ। विनाशकारी बाढीको मार खेपेर राम्ररी बाहिर निस्कन नसकेको अवस्थामा पुनः प्राकृतिक विपदाको शिकार हुँदाको क्षति निकै भावविहल एवं कष्टकर भएको उनले भने।
पचरुखीका बासिन्दा रामबाबु यादवले अहिले सम्मकै ठूलो विपदको सामना यस भेगका बासिन्दाहरुले सहनु परेको बताउँदै विहानपख भएको हुँदा घर बाहिर निस्कने तरखरमा रहँदा नै असिना खस्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको जनाए।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीका वडाध्यक्ष धर्मेन्द्रकुमार झाले यो वडामा करिव ६ सय घर पूर्ण रुपमा प्रभावित भएको बताए। खपडा, फुस, टाली तथा पक्की घर भएपनि केहीमा खपडा रहँदा सबै बासिन्दाहरुको क्षति भएको उनले स्पष्ट पारे । बाढीको पीडाबाट छुटकारा पाउन नसक्दै असिनाको चपेटामा परेका यसभेगका बासिन्दाहरूमा घरको अवस्था हेर्दै रुवावासी चलेको छ।
असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आप, लिची, कटहर लगायतका करोडौंका बालिनाली क्षतिग्रस्त भएको बताए। असिना पीडित बासिन्दाहरूले तत्कालै प्रदेश सरकार, केन्द्र सरकार राहतको प्याकेज घोषणा गरेर छाना विहीन भएका बासिन्दाहरुलाई अविलम्ब समुचित रुपमा व्यवस्थापन गर्न जोडदार माग गरेका छन्।
असिनाले शिवनगर, गरुडा, महमदपुर, लक्ष्मिपुर, माधोपुर, मिठुअवा, जेठरहिया, सखुअवा, जयनगर, गढो, धरमपुर, बखरी, मलाही देवाही गोनाही लगायतको गाउँमा क्षति पुर्याएको छ।
जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले असिनाबाट दुर्गा भगवती बढी प्रभावित भएको तथा अन्य नपा र गापामा पनि असिना खसेको जानकारी आउना साथ कृषिका टोलीहरू परिचालन भइसकेको बताएका छन्। जिल्लामा करिब २ करोड भन्दा बढीको अन्नबाली, तरकारीबाली, आँप, लिची र कटहर क्षति भएको प्रमुख यादवले बताएका छन्।
यसैबीच रौतहटका प्रमुख जिला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापासहितको सुरक्षा निकायका टोलीले असिना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै असिना पीडितलाई क्षतिपूर्ति दिने प्रक्रियाको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: १६ चैत्र २०७४ १४:२० शुक्रबार